धनुषा कांग्रेस निर्वाचन: पजियारलाई सभापति बनाउन हात जोड्दै निधी – Nepal Press

धनुषा कांग्रेस निर्वाचन: पजियारलाई सभापति बनाउन हात जोड्दै निधी

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियारलाई जिताउन नेता विमलेन्द्र निधी र प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव मतदानस्थलमै भोट माग्न व्यस्त बनेका छन् ।

जनकपुरको तिरहुतिया गाछीमा विहान करिब १० बजेबाट मतदान सुरु भएको थियो । मतदान सुरु भएलगत्तै मतदाताहरुको भीड लाग्यो । उक्त भीडमा हात जोड्दै अगाडि निधी र पछाडि प्रदेशमन्त्री यादव देखिए । उनीहरु पजियारलाई मतदान गर्न मतदाता अगाडि हात जोड्दै अगाडी बढ्दै गरे ।

सभापतिका उम्मेदवार पजियार क्षिरेश्वरनाथ नगरपालिकाका मेयर हुन् । क्षेत्रिय सभापति समेत रहेका उनले पहिलो चरणको मतदानमा सर्वाधिक मत ल्याएका थिए । तर ५० प्रतिशत बढी पुगेन । सोही कारण आज दोस्रो चरणको मतदान भइरहेको छ ।

दोस्रो चरणमा पजियारसँग संस्थापन पक्षका उम्मेदवार सन्तोष यादव प्रतिस्पर्धामा उत्रेका छन् । पहिलो चरणमा सबभन्दा कम मत ल्याएर प्रतिस्पर्धाबाट बाहिरिएका दिनेश प्रसैला पजियारलाई समर्थन गरेपछि उनी जित्ने आकलन गरिएको छ ।

निधीले सर्वाधिक मल ल्याएका कारण पजियारलाई सर्वसम्मती सभापति बनाउन संस्थापन पक्षका नेताहरुसँग आग्रह र छलफल गरेका थिए । तर संस्थापन पक्षका नेता एवं पार्टीका सहमहामन्त्री महेन्द्र यादव र नेता आनन्द ढुंगाना नमानेपछि आज दोस्रो चरणको मतदान भइरहेको छ ।

सन्तोष यादवलाई मतदान गर्न सहमहामन्त्री यादव र नेता ढुंगाना समेत मतगणनास्थलमा मतदातालाई फकाउन व्यस्त देखिन्छन् । धनुषाको नेतृत्व चयन गर्न केन्द्रीय नेताहरुले प्रतिस्ठाको बाजी लगाएका छन् । उनीहरु आफ्ना पक्षका उम्मेदवार हारे प्रतिष्ठा डुब्ने ठान्छन् ।

धनुषामा कांग्रेसका कुल ३ हजार ५० निर्वाचन प्रतिनिधि अर्थात् मतदाता छन् । पहिलो चरणमा २ हजार ९१२ मत खसेको थियो । दोस्रो चरणमा अझ कम मत खस्ने नेताहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर