कालापत्थर पुगेर फर्किएका महिलाको समूहलाई मन्त्री रेग्मीले गरिन् स्वागत (भिडिओ) – Nepal Press

कालापत्थर पुगेर फर्किएका महिलाको समूहलाई मन्त्री रेग्मीले गरिन् स्वागत (भिडिओ)

काठमाडौं । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री उमा रेग्मीले जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन कालापत्थर पुगेर फर्किएका महिलाको समूहलाई स्वागत गरेकी छन् ।

शुक्रबार त्रिभुवन विमानस्थल पुगेर मन्त्री रेग्मीले काठमाडौँदेखि १३ दिने पदयात्रा सुरु गरी कालापत्थर पुगेर फर्किएका समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहलाई स्वागत गरेककी हुन् ।

सो क्रममा मन्त्री रेग्मीले जलवायु परिवर्तनले पारेको असरका बारेमा विश्वलाई सन्देश दिनु सकारात्मक बिषय भएको बताइन् । जलवायु परिवर्तनले महिलालाई पारेको असरबारे गराइएको ध्यानाकर्षणप्रति उनले आभार व्यक्त गरिन् । मन्त्री रेग्मीले जलवायु परिवर्तनले निकै असर पारेको भन्दै सबै सचेत हुनुपर्ने धारणा राखिन् ।

त्यस्तै ‘साथसाथै’का अध्यक्ष प्रतिजा कार्कीले बिभिन्न क्षेत्रका ४० जना महिलाको समूहले जलवायु परिवर्तनका असर बारे विश्वको ध्यानाकर्षण गराउन घोषणापत्र जारी गरेको र कालापत्थरमा नै महिला दिवस मनाउन सफल भएको जानकारी दिइन् ।

मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको आयोजना एवं वन तथा वातावरण मन्त्रालय र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोगमा महिलाहरुको समूहले कालापत्थरमा विशेष कार्यक्रम गर्दै जलवायु परिवर्तनका बिषयमा १० बुँदे घोषणा पत्र जारी गरेको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *