फाइजर खोपले बालबालिकामा ओमिक्रोन भाइरसको जोखिम घटायो
न्यूयोर्क । कोभिड–१९ विरुद्धको फाइजर खोपले बालबालिकामा ओमिक्रोन संक्रमणको जोखिम उल्लेखनीय रुपमा कम गराएको एक अध्ययनले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा भएको एक अध्ययनले फाइजरको दुई मात्रा खोपले यो संक्रमणमा उल्लेखनीय रुपमा कमी गराएको पाइएको बताइएको हो ।
अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रालले गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको बताइएको छ । यो खोप लगाएका ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा सो अनुसन्धान गरिएको थियो।
उक्त अनुसन्धान सन् २०२१ को जुलाईदेखि यस वर्षको फेब्रुअरी महिनासम्मको गरिएको थियो । सो अध्ययनबाट फाइजर खोपको दुई मात्रा खोप लगाएका ५ देखि १२ वर्षका बालबालिकामा ओमिक्रोनको संक्रमण ३१ प्रतिशतले कम भएको देखिएको थियो ।
त्यसैगरी १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा यो जोखिम ५९ प्रतिशत कम भएको देखिएको सिडीसीले जनाएको छ ।