सिन्धुपाल्चोकमा लोकतन्त्र आएन, मोहन बस्नेत प्रवृत्ति आयो: प्रेमध्वज लामा – Nepal Press

सिन्धुपाल्चोकमा लोकतन्त्र आएन, मोहन बस्नेत प्रवृत्ति आयो: प्रेमध्वज लामा

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता डा. प्रेमध्वज लामाले सिन्धुपाल्चोकमा मोहन बस्नेत प्रवृत्ति अन्त्यका लागि बंशलाल तामाङलाई सहयोग गर्ने बताएका छन् । कांग्रेस सिन्धुपाल्चोकका सभापति चयनका लागि दोस्रो चरणको मतदानमा लामाले बंशलाल तामाङलाई सहयोग गर्ने बताएका हुन् ।

उनले आइतबार कार्यकर्ताहरुसँग तामाङको लागि भोट माग्दै सिन्धुपाल्चोक अधिवेशन नेपाली कांग्रेसलाई संस्थागत गर्न, मूल्य र मान्यताको राजनीति गर्नका लागि बंशलाल तामाङलाई सहयोग गरेको बताए ।

उनले भने,‘मेरो प्रचार गर्न जुनकिसिमको निषेध गरेको थियो । विष्णु खत्रीमाथि योजना बनाएर हात हाल्नुभएको छ । यस्तो प्रवृतिको विरोधमा बंशलाल तामाङलाई जिताउन मैले भोट मागे । म २०४३ सालदेखि मोहन बस्नेतसँग बसेको हुँ । मैले  बस्नेतसँग बस्दै गर्दा अपमान खानुपर्‍याे । म नेपाली कांग्रेसको शिर ठाडो पार्न आज मैले बंशलाललाई सहयोग गरेको हुँ ।’

उनले सिन्धुपाल्चोकमा लोकतन्त्र नआइ मोहन बस्नेत प्रवृत्ति आएको टिप्पणी समेत गरेका छन् ।

लामाले भने,‘मोहन बस्नेतका लागि मैले के गरिन् । हिजो पशुपति शमशेरलाई खेद्न पनि धेरै गरेको थिए । यो लोकतन्त्रको लागि मैले धेरै ठूलो योगदान गरेको थिए । तर सिन्धुपाल्चोकमा त लोकतन्त्र आएनछ । मोहन बस्नेत प्रवृति  पाे आएछ । मोहन बस्नेत प्रवृति अन्त्यको लागि आग्रह गरे । म बस्नेत प्रवृत्ति विरोध गर्न चाहन्छु । आज साधारण तामाङको छोराले पीएचडी गरेको नपत्याउने निष्ठामाथि प्रहार गरिरहेका छन् मोहन बस्नेतले ।’

सिन्धुपाल्चोक कांग्रेस सभापतिका लागि लामाले उपप्रध्यापकबाट राजीनामा दिएका थिए ।  पहिलो चरणमा प्रतिस्पर्धामा रहेका ३ जना सभापतिका उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत नकटाएपछि पहिलो र दोस्रो हुनेबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको छ ।

पहिलो चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार जंगबहादुर तामाङले ७ सय ५ मत ल्याएका छन् भने दोस्रो भएका संस्थापनइतर पक्षका वंशलाल तामाङले ६ सय २९ मत ल्याएका छन् ।

त्यस्तै संस्थापन पक्षका असन्तुष्ट उम्मेदवार प्रेमध्वज लामाले ४ सय ९३ मत ल्याएका थिए । पहिलो चरणको निर्वाचनमा १ हजार ८ सय ६७ मत खसेको थियो । अब दोस्रो चरणमा जंगबहादुर र वंशलालबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया

One thought on “सिन्धुपाल्चोकमा लोकतन्त्र आएन, मोहन बस्नेत प्रवृत्ति आयो: प्रेमध्वज लामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर