प्रकाश सपुतको गीतलाई समर्थन गर्दा आएको ‘धम्की’ – Nepal Press

प्रकाश सपुतको गीतलाई समर्थन गर्दा आएको ‘धम्की’

म कुनै राजनीतिक कार्यकर्ताको सूचीभित्र समावेश छैन । म त आफूलाई साधारण नागरिक भन्न रुचाउने मान्छे । ‘यो काम गर्छु’ वा ‘त्यो काम गर्छु’ भन्दा मान्छेका भ्रमित झुटा आरोपले आफू सम्बद्ध संस्थालाई नै राजनीतिकरण गर्न पछि पर्दैनन् मान्छेहरु । केही धारणा राख्नसाथ कुन पार्टीको हो, कसको मान्छे हो भनेर कुण्डली खोज्न थालिन्छ ।

शनिबार साँझ ९ः३० तिर मेरो फेसबुकको म्यासेन्जरमा एक अपरिचित व्यक्तिको म्यासेज आयो ।

मलाई सीधै सोधियो, ‘तपाईं कुन पार्टीको ?’

‘म त स्वतन्त्र नागरिक हुँ, किन ?’ मैले रिप्लाइ दिएँ ।

‘तपाईं अलि बुझेर मात्रै बोल्नुस् है !’ अचानक धम्कीपूर्ण जवाफ आएपछि म आत्तिएँ । किन रहेछ भनेर जान्न मन लाग्यो । सोधेँ, ‘किन ?’

उताबाट जवाफ आयो, तपाईं प्रकाश सपूतको ‘पिर’ गीतको पक्षमा बोलिरहनुभएको छ । त्यस्तो गलत, भ्रम फैलाउने गीतको पक्षमा बोल्नुभएको छ । तपाईं कुनै पार्टीमा आबद्ध हुनुहुन्छ । त्यो गीत हामी बहिष्कार गर्छौं । देश परिवर्तनका लागि गरिएको हाम्रो जनयुद्धको अपमान गर्ने गीत युट्युबबाट हटाउन लगाउँछौं । यस्ता यावत् कुरा लेखिएको म्यासेज एकोहोरो आयो ।

पछि बुझेँ, सपूतको पीर गीतविरुद्ध लेखिएको उसको स्टाटसमा मैले गरेको कमेन्ट देखेर ऊ ममाथि खनिएको रहेछ । अनि मैले भनिदिएँ, ‘गीत त गलत होला, तर युद्धले क्षत्विक्षत् भएको लडाकुहरुको शरीर त पक्कै गलत होइन होला नि !’

यसपछि म बोल्न छाडेँ । लाग्यो, देश परिवर्तनका लागि भनेर बम र बन्दुकको छर्रा सहनेले मनोरञ्जनसँगै यथार्थलाई समेटिएको गीतलाई किन सहन सकिरहेका छैनन् होलान् ? त्यो लडाईं परिवर्तनका लागि नभएर आफ्नै रजाईका लागि त थिएन ?

मलाई त सिर्फ गीत मन परेको थियो । यो गीत सामान्य गीत नभएर राजनीतिक र वैचारिक रुपमा स्खलित भएको माओवादीलाई आफ्नो विगत र वर्तमानको यथार्थ सम्झाउने गीत हो ।

गीत सार्वजनिक भएपछि माओवादी जनयुद्धको लाभांस प्राप्त गरेका नेता, कार्यकर्ताहरु विरोधमा लागेका छन् । गीत नै हटाउने नभए कारबाही गर्ने चेतावनी दिइरहेका छन् । एउटा सर्जकको एउटा सृजनाले सिंगो आन्दोलनकै जरासम्म दख्खल दिन सक्दो रहेछ, आजका दिनमा सपूतले प्रमाणित गरिदिएका छन् ।

व्यवस्था फेरियो, तर भूइँमान्छेको अवस्था उस्तै छ । व्यवस्था मात्रै होइन, अन्य चिज पनि परिवर्तन भएको छ । हिजो परिवर्तनका लागि गरीब जनतालाई मुक्तिको नारा बोकेर बन्दुक पड्काउन निर्देशन दिनेको जीवन परिवर्तन भएको छ । हिजो युद्ध मैदानबाट कमाण्डरको छातीमा आएको गोली आफू थाप्नेहरु अहिले पनि छ्याप्छ्याप्ती भेटिन्छन् । जसको न्याय प्राप्तिको लडाइँ अझैं सकिएको छैन, निरन्तर रणमैदानमै छन् ।

परिवर्तनका लागि लालाबाला, बाआमालाई छाडेर क्रान्तिमा होमिएका त तमाम नारीहरु कहाँ छन् अहिले ? बाँच्नका लागि हिजोका लडाकु महिलाहरु अहिले खाडीतिर धकेलिन बाध्य छन् । एउटी महिलालाई बाँच्नकै लागि कति अवरोधको सामना गर्नुपर्छ, भोग्नेलाई मात्रै थाहा हुन्छ ।

तर, यी प्रश्नहरुभन्दा निकै पर आफूलाई चोख्याउन संजालमा धम्की दिने दस्ता तयार गरेर बसेका छन्, कम्रेडहरु । अचेल बन्दुक बोकेर युद्ध जिताएका लडाकुहरु होइन, संजालमा हामी जस्तालाई धम्की दिने आसेपासेहरु भए पुग्छ । यस्ताहरुका लागि एउटा प्रकाश सपूत होइन, सयौं प्रकाश सपूतहरु चाहिएको छ, जसले न्यायको पक्षमा बुलन्द सृजनाहरु गरुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *