श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतार भ्रमणमा जाँदै – Nepal Press

श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतार भ्रमणमा जाँदै

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली  आज युएई, सेसेल्स र कतारको भ्रमणका लागि प्रस्थान गर्दैछ । नेपाल-युएई संयुक्त समितिको वैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरव इमिरेट्स पुगी अलपत्र परेका नेपालीहरुको समस्या समाधानका लागि मन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई प्रस्थान गर्न लागेको हो ।

भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा.थानेश्वर भुषाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षक रोशन खड्का रहेका छन् ।

भिजिट भिसामा लैजाने व्यक्तिरसंस्थाहरूलाई कानुनी दायरामा ल्याउन केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षकलाई पनि टोलीमा समावेश गरिएको हो । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले संयुक्त अरव इमिरेट्सका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

मन्त्री श्रेष्ठले मंगलवार भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे युएईका मानव संशाधनमन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारसँग छलफल गर्नेछन् । मंगलबार नै नेपाल-युएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा मन्त्री श्रेष्ठले सम्बोधन गर्नेछन् ।

नेपाल-युएई संयुक्त समिति बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गर्नेछन् । नेपाल-युएई संयुक्त समितिको वैठकमा सन् २०१९ मा भएको श्रम-सम्झौता कार्यन्वयनमा देखा परेका समस्या समाधानबारे छलफल हुनेछ ।

बुधवार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्नुहुनेछ । मन्त्री श्रेष्ठ नेतृत्वको टोलीले बुधवार दुवईमा सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्थाहरु (तडवीर सेन्टर) मा भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन उनले दुवईमा रहेका नेपाली समुदाय तथा श्रमिकहरुसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ ।

मन्त्री श्रेष्ठ नेतृत्वको टोली बिहिबार साँझ अफ्रिकी मुलुक गणतन्त्र सिसेल्स प्रस्थान गर्नेछ । वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरु लैजान गणतन्त्र सेसेल्सबाट प्राप्त द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव र रोजगारीका थप अवसरहरुबारे त्यहाँका उच्च अधिकारीहरुसँग छलफल हुनेछ ।

भ्रमण टोली आइतवार कतार जाने र सोमबार कतारसँगको श्रम सम्झौता नविकरणबारे उच्चस्तरीय छलफल गर्ने कार्यक्रम छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली चैत ८ गते मंगलवार स्वदेश फर्कने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *