प्रचण्डको दाबी- आफ्नै तागतमा निर्वाचन लड्ने हाम्रो नीति हो – Nepal Press

प्रचण्डको दाबी- आफ्नै तागतमा निर्वाचन लड्ने हाम्रो नीति हो

गठबन्धनमा रहेका दलहरूसँगको तालमेललाई प्राथमिकता दिएर जान सक्छौँ

कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन आफ्नै तागतमा एक्लै होमिन पनि सक्ने बताएका छन् । पार्टी प्रशिक्षणका लागि सुदूरपश्चिम आएका उनले आज बिहान धनगढीमा पत्रकारहरूसँग पहिलो प्राथमिकता एक्लै निर्वाचनमा जाने रहेको बताए ।

‘आफ्नै खुट्टामा उभिएर आफ्नै तागतमा निर्वाचन लड्ने हाम्रो नीति हो । तालमेल हुने अवस्थामा गठबन्धनमा रहेका दलहरूसँगको तालमेललाई प्राथमिकता दिएर जान सक्छौँ ’ उनले भने, ‘तर पहिलो जोड आफ्नै तागतमा निर्वाचन जित्ने गरी लड्ने हो नभए सहायकरूपमा अन्य दलहरूसँग तालमेल गर्ने हो । ’

गठबन्धनका दलहरूबीच अहिले सुमधुर सम्बन्ध रहेको प्रचण्डको भनाइ छ । निर्वाचनभन्दा अघि कुनै पनि अवस्थामा पनि गठबन्धन नधरमराउने उनको भनाइ थियो ।

‘अहिले गठबन्धनलाई लिएर अघि लैजाने कुरामा द्विविधा छैन । मूल नेतृत्व यसलाई अगाडि बढाउने कुरामा एकमत छन् ’ उनले भने ‘प्रधानमन्त्रीले आफ्नै पार्टीका नेता कार्यकर्ताहरूलाई पनि गठबन्धनलाई असर पर्ने कुरा नबोल्न निर्देशन दिइसक्नु भएको छ । ’

माओवादी अध्यक्ष दाहालले संसदमा एमाले अवरोधको कुनै अर्थ रहेको टिप्पणी गरे । ‘त्यो विघटन सही थियो र फेरि पनि विघटन गर्नु पर्छ भन्ने बनाउन यस्तो गरिएको हो’ उनले भने ।

उनले एमालेले उठाएका १४ सांसदको कारबाहीको र सभामुखको भूमिकाको विषय अर्थहीन नरहेको बताए ।

‘१४ सांसदको विषय अदालतमा छ । अदालतमा रहेको विषयलाई लिएर संसद् अवरुद्ध गर्नु ठीक होइन । सभामुखले १५ दिनभित्र गर्न पाउने काम १३ दिनभित्र गर्नु भएको छ यी दुवै विषय अर्थहीन हुन्’, प्रचण्डको भनाइ थियो ।

संसद अवरुद्ध भइरहेको अवस्थामा निर्वाचन गौं भन्ने छलफल भएको प्रचण्डले स्वीकारे । अर्लिइलेक्सनको सम्भावना भने नरहेको उनको प्रष्टक्ति थियो ।

‘संसद सुचारु हुँदैन भने संघको चुनाव गरौँ भन्नेमा सैद्धान्तिक सहमति भएको हो तर चुनाव सार्ने भ्रम छर्न थालियो । हामी निर्वाचनबाट भाग्न खाजेका होइनौँ ’ उनले भने, ‘ अहिले अर्लिइलेक्सनको सम्भावना छैन । ’

एमसीसी पारित गरेर संकट टारेको भन्दै प्रचण्डले भने, ‘केही समय अगाडिसम्म एमसीसीको कारणले देशका राजनैतिक दल/समाज विभाजन हुने स्थिति थियो । त्यसलाई १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेपछि अहिले सबै राजनैतिक दलहरू निर्वाचनकेन्द्रित अभियान सुरु गर्न थालेका छन् ।’

एमसीसीको विषयमा पार्टीभित्र भएका विवादहरू पनि अहिले सकिएको उनको भनाइ थियो । ‘पार्टीभित्र भएका विवाद समाधान गरेर चुनावमा एक भएर जाने कुरामा हामी एक छौँ । एमसीसीका विषयमा मतभेद कायमै छ । तर, पार्टीले गरेको निर्णय कार्यान्वयन हुन्छ । मतभेदलाई निर्वाचनपछि बहस गर्ने भनेका छौँ ’, प्रचण्डले भने ।

सुदूरपश्चिम सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउनु पर्ने बताएका प्रचण्डले सरकारको नेतृत्व भने माओवादी केन्द्रले नै गर्ने दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर