प्रकाश सपुतले देखाएको यथार्थ चित्र र नेतागणका चरित्र – Nepal Press

प्रकाश सपुतले देखाएको यथार्थ चित्र र नेतागणका चरित्र

युद्ध शब्द आफैँमा भयानक लाग्छ । साह्रै अप्रिय र कर्णकटु लाग्छ । तर बिडम्बना, मानव सभ्यताको अधिकांश इतिहास युद्धले भरिएको छ । नेपालको इतिहास पनि त्यसको अपवाद छैन । पृथ्वीनारायण शाहको नेतृत्वमा भएको नेपाल एकीकरणको अभियान भनौं वा राणा शासनविरूद्ध नेपाली कांग्रेसको लडाईं वा पञ्चायतविरूद्ध अहिलेका नेताहरूको संघर्ष वा पछिल्लोचोटि माओवादीको नेतृत्वमा भएको जनयुद्ध । ती सबै विभिन्न रुपका युद्ध थिए ।

प्रचण्ड÷बाबुरामको नेतृत्वमा भएको जनयुद्ध नेपालका लागि ऐतिहासिक आवश्यकता थियो कि जबर्जस्ति थोपरिएको प्रताडना ? यसको फैसला समयले गर्दै जाला । स्वार्थअनुसार गणितको सूत्रलाई नबंग्याई भन्ने हो भने यो देशमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनामा उहाँहरुको भूमिका अकाट्य छ । संघीयता, धर्मनिरपेक्षता र समावेशी÷समानुपातिकता संविधानमा लेखिनुमा पनि मुख्य योगदान उहाँहरुको छ ।

पछिल्लोचोटि माओवादीको नेतृत्वमा भएको जनयुद्ध र विभिन्न आन्दोलनहरूमा हजारौं हजार मानिसहरूको ज्यान गयो । लाखौं लाखको अंगभंग भए । नानीहरू टुहुरा भए । आमाहरूको काख रित्तियो । चेलीहरूको सिन्दुर पुछियो । घरबारबिहीन भई बिस्थापित हुनेहरूको त कुरै नगरौं । तर पनि समयसँगै सबैले आफूलाई सम्हाल्दै आएका छन् । यी सबै देशको लागि, परिवर्तनका लागि भनेर स्वीकारिएको थियो । तर, के देशले खोजेको, जनताले चाहेको परिवर्तन आयो त भन्ने प्रश्न ज्वलन्त छ ।

पछिल्लो समय १० बर्षे जनयुद्धलाई आधार बनाई गायक प्रकाश सपुतले ल्याएको संगीतरुपी सिर्जना अहिले चर्चामा छ । बैदेशिक रोजगारी, बेरोजगारी, राजनितिज्ञको उपेक्षा र देशप्रतिको मायालाई एउटा सर्जकले १६ मिनेटको गीतमार्फत चित्रण गर्दै ऐना जसरी देखाइदिएका छन् । मेरो बुझाइमा त्यस गीतको उद्देश्य कसैलाई पनि चोट थप्नु नभएर पिडितहरुलाई थोरै भए पनि सान्त्वना दिनु हो । यस गीतको रुप र सारसँग म सतप्रतिशत सहमत छु । गीतको माध्यमद्धारा लाखौं यौद्धाहरुको भावना पोख्ने प्रयास गरिएको छ ।

व्यक्तिगतरूपमा म यस गीतलाई लिएर आक्रोशित र आलोचनात्मक विचारसँग म सहमत हुन सक्दिनँ । म कुनै पार्टीको कार्यकर्ता पनि होइन । पार्टीगत रूपमा म आफूलाई स्वतन्त्र राख्न चाहन्छु । यसको अर्थ म विचारबिहीन मान्छे पनि होइन । म अग्रगामी हूँ, लोकतन्त्रवादी हूँ । म परिबर्तनमा बिश्वास राख्छु, प्रतिस्पर्धामा विश्वास गर्छु । कुनै पनि प्रकारको अधिनायकवाद मेरो लागि स्वीकार्य छैन । र, आजको विश्वमा त्यो सम्भव पनि हुँदैन ।

प्रकाश सरको सिर्जना त प्रतिबिम्बन मात्रै हो । आजकल वैदेशिक रोजगारीमा गएका महिलाहरू अपमानित भएको, लुटिएको, बलात्कृत भएको, मारिएको खबरहरू सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमहरूमा दिनहुँजसो आइरहन्छ । हुन त आफ्नै देशमा पनि हामी महिलाहरू कहाँ सुरक्षित छौं र ? लैंगिक विभेद र त्यसले निम्त्याउने विविध असुरक्षाहरू कदमैपिच्छे भोगि त रहेका छौं ।

नेता गतिला भएका भए देश गतिलो हुन्थ्यो, देश गतिलो भएको भए न त यस्ता ‘पिर’ गीत बन्थें न त लाखौ युवाहरू बिदेशिनु पथ्र्यो । दल र नेताहरूको ताल देखेर जनतामा भित्रैदेखि ‘फ्रस्टेसन’ सुरू भएको छ । दलहरूको चुनावी घोषणापत्र पढ्दा सपनाको पुलिन्दा जस्तो लाग्थो । तर, बिडम्बना ५० लाख युवाहरू आज पनि विदेशमा रगत–पसिना बगाइरहेका छन् । प्रत्येक दिन ५–७ वटा शव कफिन बक्समा पोको पारेर नेपाल भित्रिरहेको छ । कहिले रोकिन्छ नेतागण, नेपाली नारीको सिउँदो पखालिने यो क्रम ? अनि कहिले तोडिन्छ बिदेशमा युवाहरू बेचेर प्राप्त विप्रेषणबाट धनी भएको भ्रम ?

अहिले ५० लाख युवा मतदातालाई बिदेशमा बेचेर प्राप्त बिप्रेषणबाट देश चलिरहेको छ । ती ५० लाख मतदाताको बिप्रेषण आउन बन्द भएको भोलिपल्ट देशको हालत के होला ? सोचेका छन् नेताहरूले ?

नेताहरुको कुन आदेश मानेनौं र हामीले ? राणाविरूद्ध लड्न बोलाउनुभयो । राणाशाही अन्त्य नहुञ्जेल लड्यौं । पञ्चायतविरूद्ध लड्न बोलाउनु भयो । पञ्चायत नढलुन्जेल लड्यौं । जनयुद्ध लड्ने आदेश दिनुभयो । जनयुद्ध पनि लड्यौं । कृपया भनिदिनुस् नेतागण, हामीले तपाईंहरूको कुन आदेश मानेनौं ? हामीले तपाईहरूमाथि के अन्याय गर्यौं ? के अपराध गर्यौं ? के पाप गर्यौं ? जसको सजाय हामी जनतालाई यति निर्ममतापूर्वक दिइरहनुभएको छ ?

कर्णालीको नागरिकले सुन मागेको छैन नेतागण ! अहिले पनि केवल नुन मागिरहेको छ । मधेसका मुसहर, चमारहरूले दरबार मागेका छैनन् सरकार ! अहिले पनि केवल घरबार मागिरहेका छन् । दलितहरूले मान्छे हुनुको अधिकार मागिरहेका छन् । युवाहरूले आफ्नै देशमा स्वरोजगार÷रोजगार मागिरहेका छन् । महिलाले समानता र सुरक्षा खोजिरहेका छन् । हो नेतागण ! हो सरकार ! हामी नागरिकले न्याय, सुरक्षा, शान्ति र समृद्धि खोजिरहेका छौं । के यो हाम्रो अपराध हो ?

नेतागण ! तपाईहरूको भ¥याङ अब कति वर्ष बन्नुपर्छ हामीले ? अनि तपाईहरूको दासत्वबाट कहिले मुक्त हुन्छौं हामी ? चुनावको कुरा गर्दै हुनुहुन्छ । चुनाव त पक्कै गराउनुहुन्छ होला । लोकतन्त्र भन्नुहुन्छ हगि तपाईहरू चुनावलाई ? मेरो जिज्ञासा छ तपाईंहरूलाई– ‘लोकतन्त्र भनेको दिनु मात्र हो कि लिनु पनि हो ? कि नागरिकले सँधै दिइरहने तन्त्रको नाम नै लोकतन्त्र हो ?

कि नागरिकले भोट दिएवापत नेताले दिने चोट नागरिकले सही रहनुपर्ने तन्त्रको नाम नै लोकतन्त्र हो ? के हो नेतागण लोकतन्त्र भनेको ?’

तपाईंहरूको व्यक्तिगत अहम् तुष्टीका लागि हामी नागरिक तपाईहरूका विचारको शिकार कति दिन भइरहने ? अनि कति समय तपाईहरूको वादको बन्दी बनिरहने ? तपाईहरू आफूलाई भगवान पनि घोषणा गर्न सक्नुहुन्छ । तर, यथार्थमा तपाईंहरू रंग फेरिरहने रंगीन छेपारो हो । तपाईंहरूको कुरा पत्याइसाध्ये छैन ।

धरोधर्म नेतागण ! हजुरहरू हजार जिब्रो भएको शेष नागभन्दा कम हुनुहुन्न । रिसानी माफ होस्, तपाईहरू साह्रै साँढे बन्नुभयो । सधैं कुकुर–बिरालाको खेल खेलिरहन तपाईंहरूलाई भोट दिएका होइनौं हामीले ।

नेतागण ! अब हामीलाई सस्तो सपना होइन, वास्तविक विपना चाहियो । कृपया ! राष्ट्रवाद, राष्ट्रघात, पुँजिवाद, समाजवाद, साम्यवाद विभिन्न वादका नाममा आरोप–प्रत्यारोप र झगडा गर्न बन्द गर्नुस् । पार्टीका नाममा जन्मजात कांग्रेस र कम्युनिस्टमा नागरिकलाई कित्ताबन्दी गर्न छाडिदिनुस् । कम्तिमा नागरिकको व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्न सिक्नुस् । देश र जनताको पक्षमा काम गर्नुस् । हामी तपाईहरूकै साथमा हुनेछौं ।

अन्त्यमा,

आदरणीय नेतागण ! हरेक वस्तुको आफ्नो सहने सीमा हुन्छ । हामी नागरिक अहिले निशब्द सीमामा उभिएका छौं । निशब्द उभिनुको अर्थ हामी निम्छरो होइनौं । आजसम्मको इतिहास अत्याचारी शासकहरूका बिरूद्ध जनताले बिद्रोह गरेको इतिहास छ । तर, अब भ्रष्ट र अयोग्य नेताहरूका विरूद्ध प्रकाश सपुतले जस्तै गरी आ–आफ्नो ठाउँबाट नेपाली नागरिकले विद्रोह गरे भने अनौठो मान्नु पर्दैन ।


प्रतिक्रिया

One thought on “प्रकाश सपुतले देखाएको यथार्थ चित्र र नेतागणका चरित्र

  1. राधा जि तपाईंको पूरा आलेख पढिन,तर शिर्षकबाट नै आत्मसात गरे।परन्तु,नेतागण भन्ने शब्द उचित लागेन।गण समूह वा जत्था हो।सपूतले नेपाली राजनितीको बिसङ्गती मध्ये पिडादायी हुनु सोको उत्सर्गलाई निर्क्यौल गरेका हुन। यस्ता मुद्दा हाम्रा दैनिकी छ्न।तर भाइ प्रकाश सपूतलाई मैले बल्ल चिन्न पाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *