यी हुन् युक्रेनमा भ्लादिमिर पुटिनका दुई हात !
काठमाडौं । अमेरिकाले अफगानिस्तान र इराक हमला गरेजस्तो होइन, रुसको युक्रेन हमला । अफगानिस्तान र इराकमा अमेरिकी सैन्य मोर्चाको स्वागत ती देशका कसैले गरेका थिएनन् । अमेरिकाले अनेक तर्क दिएर आफै पेलपाल पारेर घुसेको थियो ।
रुसी सैनिक युक्रेनमा घुस्नुको कारण युक्रेनी आफैं पनि हुन् । खासगरी रुसीभाषी भएका युक्रेनको पूर्वी डोनबास क्षेत्रको नेतृत्वले ग्रिन सिग्नल दिएपछि रुस युक्रेनमा आएको हो ।
रुसी भाषीलाई दमन भएको आन्तरिक कारणले भ्लादिमिर पुटिनलाई युक्रेन हमला केही सजिलो भयो । यस्तो सजिलो बनाउने दुई नेताहरु छन् । ती हुन् सन् २०१४ बाट पूर्वी युक्रेनमा अलगरुपमा राज्य चलाइइरहेका डोनबास क्षेत्रका नेता लियोनिड पासेच्निक र डेनिस पुसिलिन ।
लियोनिड पोसेच्निक
पोसेच्निक पूर्वी युक्रेनको स्वघोषित लुगान्स जनगणतन्त्रका नेता हुन् । गत फागुन ९ (फेब्रअरी २१) मा रुसी टेलिभिजन च्यानल रुसिया–२४ मा बोल्दै उनले आफ्नो गणतन्त्रलाई मान्यता दिनुपर्ने सार्वजनिक प्रस्ताव गरे । उनले लुगान्सको मान्यता दिएर रुससँग सुरक्षा साझेदारीको कुरा गरेका थिए । सुरक्षा साझेदारको सोझो अर्थ रुसी सैनिकको उपस्थिति थियो ।
लुगान्स क्षेत्रका तीन लाख रुसी भाषीको सुरक्षाको कारण देखाउँदै उनले यस्तो प्रस्ताव गरेका थिए । सोही साँझ पुटिनले एक टेलिभिजन सम्वोधन गरेर ‘धेरै अगाडि मान्यता दिनुपर्ने’ डोनबास क्षेत्रका दुई गणतन्त्रलाई मान्यता दिएको घोषणा गरे । उनको घोषणाको तेश्रो दिन (फागुन १२÷फेब्रअरी २४) मा त रुसी सैनिकले युक्रेनमा हमला सुरु गरे । हमला अहिलेसम्म जारी छ ।
उसो त त्यो प्रस्ताव पहिलोपटक उनको मुखबाट सार्वजनिक भएको मात्रै हो । उनको रुसप्रेम धेरै अगाडिबाट थियो । रुसकै समर्थनमा भएको युद्धबाट सन् २०१४ देखि अलग भएको लुगान्सका नेता भएकोले उनको प्रस्ताव अस्वभाविक थिएन ।
उनले त्यस्तो प्रस्ताव गर्नु अगाडि नै मध्य जनवरीमा रुसका कम्युनिस्ट सांसदहरुले डोनबास क्षेत्रका दुई गणतन्त्रलाई रुसले मान्यता दिनुपर्ने संसदमा प्रस्ताव दर्ता गरेका थिए । रुसी संसदले फागुन ३ (फेब्रअरी १५) मै डोनबास क्षेत्रका दुई गणतन्त्रलाई मान्यता दिनुपर्ने प्रस्ताव गरेको थियो । प्रस्तावको पक्षमा ३५१ सांसद भएको, १६ ले बिरोध गरेको र एक अनुपस्थित भएको रुसी मिडिया आरटीले उल्लेख गरेको छ ।
पोसेच्निक युक्रेनी सेनाको उच्च नेतृत्व छाडेर पृथकतावादी आन्दोलनमा लागेका थिए । उनी युक्रेनी सेनाको लेफ्टिनेस्ट कर्नेलसम्म भएका थिए । सन् २००६ मा रुसी युक्रेन सिमामा तस्करी हुन लागेको ७२ लाख बढी रुसी मुद्रा पक्राउ गरेपछि उनी चर्चामा आएका थिए । पोसेच्निकले घुस खान नमानेपछि चर्चामा आएको बेलायती अखबार द गार्जियनले उल्लेख गरेको छ । त्यसबापत उनले तत्कालीन राष्ट्रपति भिक्टर यानुकोभिचले पदक दिएका थिए ।
सन् २०१४ मा युक्रेनमा तनाव बढेसँगै उनी आफ्ना रुसीभाषीको आन्दोलनमा लागेका थिए । उनी सन् २०१७ बाट लुगान्सका नेताको रुपमा उदाएका छन् । ५१ वर्षका उनी रुसी मिडियामा छाइरहने नाम हो । बेलायती अखबार द सन्डे टाइम्सका अनुसार उनले गत वर्ष पुटिनको पार्टी रसियन युनाइटेड पार्टीको सदस्यता लिएका थिए ।
डेनिस पुसिलिन
पुसिलिनको सार्वजनिक बृत्तमा चर्चा सन् २०११ बाट भएको हो । एमएमएम भन्ने कुख्यात रुसी पोन्जी स्किमको कामदार भएको भन्दै उनी चर्चामा आएको गार्जियनले लेखेको छ । गार्जियनका अनुसार पुसिलिन सन् २०१४ मै पृथकतावादी आन्दोलनमा सहभागी भए । उनी सँधै सुटबुटमा सजिने युवा भएकोले अरु डोनेस्क जनगणतन्त्रका विद्रोहीहरुले खिसी गर्ने गरेको गार्जियनले लेखेको छ । पुसिलिनले नवगठित रुसी सम्राज्यको पक्षमा धेरै विचारहरु दिएका थिए ।
‘डोनबास क्षेत्र रुसको साम्राज्य अन्तरगत हुनुपर्छ । यसमा म कुनै साम्राज्यवाद देख्दिन’, एकपटक पुसिलिनले भनेका थिए । ४० वर्षका पुसिलिनको सैन्य पृष्ठभूमि नभएकोले उनलाई सन् २०१४ देखि युक्रेनबाट अलग भएको डोनेस्क जनगणतन्त्रमा लडाकु नेता नभएको भन्दै आलोचना समेत हुनेगर्छ । सन् २०१८ मा शिर्ष नेता अलेक्जान्डर जाखारचेन्को मारिएपछि उनी नेतृत्वमा उदाएका थिए ।
फेब्रअरी २१ मा रुसी टेलिभिजन च्यानल रुसिया–२४ मा बोल्दा उनले डोनेस्क क्षेत्रका नागकिरलाई रुसी कागजात दिएर क्रमशः रुसी नागरिक हुने वातावरण बनाउने कुरामा आशावादी भएको बताएका थिए । सोही दिन पुटिनले डोनबास क्षेत्रका लुगान्स र डोनेस्कका जनगणतन्त्रलाई मान्यता दिएका थिए । उनले गत वर्षको रुसको सत्ताधारी पार्टी युनाइटेड रसिया पार्टीको सदस्यता लिएका थिए ।