एक्काइशौं शताब्दीमा पनि महिला, बालबालिकाले शोषण र हिंसा हुनु दुःखद : उपराष्ट्रपति पुन (भिडिओ) – Nepal Press

एक्काइशौं शताब्दीमा पनि महिला, बालबालिकाले शोषण र हिंसा हुनु दुःखद : उपराष्ट्रपति पुन (भिडिओ)

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले अहिलेको समयमा पनि महिला, बालबालिकाको शोषण र हिंसा भोग्नुपर्ने अवस्था आउनु दुःखद भएको बताएका छन् ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एसियाली महिला सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले घरेलु हिंसाबाट पीडितमध्ये ७० प्रतिशत महिला आफन्तबाटै हिंसाको शिकार हुनुपरेको बताए ।

अशिक्षा, अज्ञानता, वेरोजगारी, गरिबी र विभिन्न प्रकारका द्धन्द्ध, जलवायु परिवर्तन, कोरोना महामारीका कारण विश्वमा महिलामाथि विभिन्न प्रकारका हिंसा बढेको उनको भनाई छ ।

उपराष्ट्रपति पुनले विभिन्न मुलुकबीचको अन्तर्राष्टिय रुपकै सहकार्यबाट मात्रै विश्वबाट महिला हिंसाका घटना न्यूनीकरण गर्न सकिने बताए ।

नेपालको संविधानले सुनिश्चित गरेको महिला तथा बालबालिकाको हक कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउदैँ उपराष्ट्रपति पुनले सम्मेलनले महिला शसत्तिकरण र महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि दक्षिण एसियाबाट पहलकदमी सुरु हुने बताए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर थापा मगरले महिला र बालबलिकामाथिको हिंसा अन्तराष्ट्रिय रुपमै ब्याप्त भएकाले यसको न्यूनिकरणमा अन्ताराष्ट्रिय रुपमै पहल जरुरी रहेको औल्याए ।

महिला र बालबालिकामाथि हुने हिंसा विरुद्ध विभिन्न कानुन बने पनि तीनको प्रभावकारी कार्यान्वयनका लागि सरकारी निकायले आ–आफ्नो भूमिकालाई अझै बढाउनुपर्ने बताए ।

नेपालको राजनीतिक, सामाजिक, आर्थिकलगायतका क्षेत्रमा महिला सहभागिता बढे पनि महिलामाथिको हिंसा पनि बढेको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताइन् ।

महिला तथा बालबालिकामाथिको हिंसामा पनि पछिल्लो समय यौनजन्य हिंसा बढेको बताउँदै राज्यले बनाएको नीति नियमको प्रभावकारी कार्यान्वयन गर्नु चुनौतीका रुपमा देखा परेको बताईन ।

कार्यक्रमको मुख्य बक्ताकी रुपमा रहेकी भारतीय मानवअधिकारकर्मी एवं वातावरणविद् डा।बन्दना शिवाले महिला आर्थिक रुपमा शसक्त हुन सके कुनै पनि हिंसा सहेर बस्न नपर्ने बताइन् ।

कुनै पनि महिला र बालबालिकामाथिको हिंसा भनेको समाजमाथिकै हिंसा रहेको जनाउँदै अधिकारकर्मी शिवाले यसको अन्त्यका लागि एक विश्वब्यापी नीति नियमको आवश्यकता रहेको उल्लेख गरिन् ।

कार्यक्रममा सार्कका महासचिव इसाला रुवान विराकुनले विभिन्न किसिमका विभेदले नै महिलामाथिको हिंसा निम्त्याएको बताउँदै सार्कले महिला तथा बालबालिका हिंसा अन्त्य र लैंगिक समानतालाई प्राथमिकतामा राख्ने जनाए ।

बुधबारसम्म चल्ने दुई दिने सम्मेलनमा दक्षिण एसिया, अमेरिकालगायतका महिला अधिकारकर्मी, लेखक, मानव अधिकारकर्मीले विभिन्न विषयमा प्रस्तुति दिने कार्यक्रम रहेको दक्षिण एसियाली महिला पत्रकार सञ्जाल नेपालका अध्यक्ष निर्मला शर्माले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर