सिन्धु कांग्रेसमा मोहन बस्नेतको बर्चश्व, क्लिन स्वीप हुनबाट जोगियो शेखर कोइराला पक्ष – Nepal Press

सिन्धु कांग्रेसमा मोहन बस्नेतको बर्चश्व, क्लिन स्वीप हुनबाट जोगियो शेखर कोइराला पक्ष

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको १४ औं जिल्ला अधिवेशनमा पदाधिकारी सहित कार्यसमितिमा संस्थापन पक्षको एकल वर्चस्व देखिएको छ ।

१३ औं जिल्ला अधिवेशनमा संस्थापन इतर समूहले सभापति सहित अधिकांश सदस्यमा जित हाँसिल गरेको भएपनि १४ औं अधिवेशनमा भने संस्थापन इतर समूह क्लीन स्वीप हुनबाट मात्रै जोगिएको छ ।

पदाधिकारी सहित ५५ सदस्यीय जिल्ला समितिमा संस्थापन पक्ष (देउवा समूह) का अधिकांशले जित हाँसिल गरेका छन् । सिन्धुपाल्चोकमा संस्थापन पक्षको नेतृत्व केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले गरिरहेका छन् भने कोइराला समूहको नेतृत्व निर्वच्नमान जिल्ला सभापति विकास लामा, नेता भुपेन्द्रबहादुर थापा लगायतले गरेका छन् ।

५५ सदस्य मध्ये कोइराला समूहले दुई पदाधिकारी र एक जिल्ला सदस्य मात्रै पाएको छ । सो समूहबाट एक उपभापति र एक कोषाध्यक्ष विजयी भएका छन् । देउवा पक्षले सात पदाधिकारीमध्ये सभापतिसहित पाँच पदमा जित हासिँल गरेको छ ।

४८ सदस्यमध्ये ४७ जना संस्थापन पक्षबाट निर्वाचित भएको नेपाली कांग्रेस वागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठले जानकारी दिए ।

दोस्रो चरणको मतदानबाट संस्थापन पक्षका जंगबहादुर तामाङ सभापतिमा निर्वाचित भए । उनले संस्थापनइतरका उम्मेदवार बंशलाल तामाङलाई ६४ मतान्तरले पराजित गरेका थिए । सभापतिमा निर्वाचित जंगबहादुरले ९ सय १२ मत ल्याउँदा प्रत्यासी बंशलालले ८ सय ४८ भोट मात्र ल्याए । दुई उपसभापतिमा संस्थापन र इतर समूहले एक÷एक जितेका छन् । संस्थापनबाट टंक कार्की उपसभापतिमा निर्वाचित भएका छन्, भने कोराला समूहबाट दोर्जे लामाले जितेका छन् ।

दुई सचिवमा संस्थापन पक्षकै भक्तध्वज बोहरा र रमेशराज भण्डारी सचिवमा निर्वाचित भएका छन् । दुई सहसचिवमा संस्थापनबाट कृष्णभक्त नेपाल र इतर समूहका नरेश कार्की विजयी भए । कार्यसमितिका ४८ सदस्यमध्ये ३३ जना मतदान प्रक्रियाबाट निर्वाचित भएका हुन् । १५ सदस्य निर्विरोध निर्वाचित भएका थिए ।

महासमिति सदस्य भने संस्थापन र इतरसमूहले बराबर जितेका छन् । २२ सदस्यीय महासमिति सदस्यमा दुबै समूहका ११/११ जना निर्वाचित भएका छन् ।

गुटउपगुट छिन्नभिन्न

नेपाली कांग्रेसको १४ औ महाधिवेशन सुरु हुँदै गर्दा सिन्धुपाल्चोकमा गुट परिवर्तन गाउँ स्तरबाट नै सुरु भइसकेको थियो । केन्द्रमा कृष्ण सिटौला र जिल्लामा संस्थापन इतर का रुपमा चिनिएका कांग्रेस नेता सुर्दशन आचार्य गाउँ अधिवेशन सुरू हुँदै गर्दा देउवा समूहमा गए ।

लामो समय देखि सिन्धुपाल्चोकमा कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत निकट रहेका र १३ औँ जिल्ला अधिवेशनमा सभापतिका बलियो दाबेदारका रुपमा हेरिएका डाक्टर प्रेमध्वज लामालाई अन्तिम समयमा आएर ‘बस्नेत समूहले’ धोका दिएपछि उनी इतर पक्षका उमेवदारलाई सहयोग गर्न पुगे ।

जिल्ला सभापतिमा उमेदवार हुनका लागि त्रिभुवन विश्वविद्यालयको प्राध्यपाक पदबाट राजीनाम दिएका लामालाई अन्तिम समयमा आएर सभापतिको आधिकारीक उम्मेदवार नबनाएपछि उनी ‘बागी’ उमेद्वार भएर सभापतिमा तेस्रो मत ल्याएका थिए ।

जिल्लामा बस्नेत निकट रहेका सुनकोशी गाउँपालिका–७ का नरेश कार्की इतर पक्षबाट निर्वाचनमा सहभागी भएर सह–सचिवमा जित हाँसिल गरेका छन् । अघिल्लो अधिवेशनमा बस्नेत पक्षबाट जिल्ला सचिवमा निर्वाचीत भएका झलक नेपाल १४ औं अधिवेशनमा बंशलाल तामाङ को पक्षमा खुलेर लागे ।

त्यस्तै प्रदेश सभा निर्वाचनमा उमेदवार भएका विष्णु खत्री पनि बंशलाल तामाङकै पक्षमा उभिएका थिए । सुनकोशी गाउँपालिकाका इकाइ सभापति रुपकाजी लामा पनि बंशलाल तामाङको पक्षमा नै उभिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर