दही चोरेको निहुँमा दलित बालिकालाई बाँधेर यातना, पीडकद्वारा उल्टै रुद्री लाउने खर्च माग
रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरमा एक दलित बालिकालाई २१ घण्टासम्म बाँधेर यातना दिइएको छ । स्थानीय देवीस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत १३ वर्षीया सरिता नेपालीले घरभित्र पसेर दही चोरेर खाएको निहुँ यातना दिइएको हो ।
यातना दिने स्थानीय ६३ वर्षका शेरबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार श्रेष्ठले दलित भएर घरभित्र छिरेको भन्दै बालिकालाई हात र कम्मरमा डोरीले बाँधेर कुटपिट गरेका थिए । बालिकालाई सोमबार अपराह्न चार बजेदेखि मंगलबार मध्यान्न १२ बजेसम्म यसरी बाँधेर राखिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक डीएसपी राजकुमार थिङले जानकारी दिए ।
पिडक शेरबहादुर श्रेष्ठले आरोप स्वीकारेका छन् । प्रहरीका अनुसार उनले उल्टै पीडित बालिकाको परिवारले आफ्नो घरमा चोखोनितोका लागि रुद्री लगाउने खर्च व्यहोर्नुपर्नेसमेत मागसमेत गरेका छन् ।
बालिकालाई बाँधेर राखेको थाहा पाएपछि तत्काल मुक्त गर्न आग्रह गर्दा नमानेको वडा नम्बर ६ का वडा अध्यक्ष गोपालबहादुर माझीले नेपाल प्रेसलाई जानकारी दिए । उनले भने, ‘मैले खबर पाएपछि स्थानीय जनप्रतिनिधिलाई बालिकालाई उद्धार गर्न आग्रह गरेँ । तर, उनीहरुले शेरबहादुरका दम्पतीले नमानेको सुनाए । त्यसपछि जिल्ला प्रहरी कार्यालयका डीएसपी सापलाई फोन गरेर उद्धार गर्न भनेको हुँ ।’
मंगलबार मध्यान्ह १२ बजे प्रहरी पुगेर पीडित बालिकाको उद्दार गरेको नगर कार्यपालिका सदस्य उद्धव रम्तेलले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्दा सामान्य अवस्था रहेको र पीडकले दलित भएकै कारण बाँधेर यातना दिएको भन्ने जानकारी पाइएकाले उनीमाथि जातीय छुवाछुत विरुद्धको कारबाही प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी प्रमुख डीएसपी थिङ्ले बताए । बालिकाका आफ्न्तले उजुरी दिने तयारी गरिरहेको उनको भनाइ छ ।
आजिवन कारावासकाे सजाय हाेस् ।
यो मानिसलाइ कानुम बमोजिम कारबाही हुनुपर्छ
यो मानिसलाइ कानुम बमोजिम कारबाही हुनुपर्छ