२८ वर्षदेखि जहाजको पर्खाइमा बलेवा विमानस्थल – Nepal Press

२८ वर्षदेखि जहाजको पर्खाइमा बलेवा विमानस्थल

गलकोट । नियमित उडान हुन नसकेको बागलुङको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रसँगै जहाजको पर्खाइमा रहेकामे छ । लामो समयदेखि बन्द रहेको विमानस्थल कालो पत्रे ससँगै सञ्चालनमा आउने आश पलाएको छ ।

विसं २०७७ फागुनमै कालोपत्र सक्ने गरी नागरिक उडड्यन प्राधिकरणले ठेक्का सम्झौता गरे पनि एक वर्षपछि मात्रै विमानस्थलको धावनमार्ग कालोपत्र सम्पन्न भएको भए पछि अब विमानस्थलमा कहिले जहाज उड्ला भन्ने आशामा छन् यहाँका स्थानीय । कच्ची धावनमार्गका कारण बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा विमानस्थल नियमितरूपमा सञ्चालनमा आउन सकेको थिएन । कालोपत्र सम्पन्न भएको विमानस्थल हस्तान्तरणको प्रक्रियामा रहेको प्रधिकरणले जनाएको छ ।

विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रको काम सम्पन्न भएर हस्तान्तरणको प्रक्रियामा पुगेको निर्माणको जिम्मा पाएको काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुका प्रतिनिधि वासु थापाले जानकारी दिए । धावनमार्गमा मार्किङबाहेक अन्य काम सम्पन्न भइसकेकाले हस्तान्तरणका लागि प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ ।

हवाई सेवाका लागि यात्रुको सुनिश्चितता हुँनासाथ विमानस्थलमा नियमित उडान गर्न सकिन्छ । विमानस्थलको अबको समस्या भनेको यात्रु सुनिश्चितता र स्थानीयको पहलकदमी हो । स्थानीय र प्रदेश सरकारले चासो देखाएमा तत्कालै विमानस्थलमा जहाज चलाउन सकिने छ । विमानस्थलमा जहाज सञ्चालनका लागि नागरिक उडड्यन प्राधिकरणसँग नभएर एयरलाइन्ससँग आवश्यक समन्वय र सहजीकरण गर्न आवश्यक देखिन्छ ।

प्राधिकरणले निर्माण, जनशक्ति तथा प्राविधिक व्यवस्थापना गर्ने काम भएको र स्थानीय पालिका र प्रदेशले सहजीकरण गरे जहाज सञ्चालनका लागि कुनै समस्या नभएको प्राधिकरणका इञ्जीनियर मीनराज ओझाले बताए । लामो समय बलेवा विमानस्थल निर्माणमा खटिँदा जहाज चल्नेमा आफू विश्वस्त रहेको र खासगरी स्थानीय तह र प्रदेशले एयरलाइन्ससँग समन्वय र सम्झौता गर्न सके प्राधिकरणले आफ्नोतर्फबाट सबै काम गर्ने उनले बताए ।

विसं २०७४ मा केही समय सञ्चालनमा आएको विमानस्थल कालोपत्र भएसँगै सञ्चालनका लागि समन्वयमा लागिरहेको छ । अहिले विभिन्न एयरलाइन्ससँग विमान उडाउनका लागि अनौपचारिकरूपमा छलफल भइरहेको बागलुङ नगरप्रमुख जनकराज पौडेलले बताए । एयरलाइन्स सञ्चालक बलेवामा विमान सञ्चालनका लागि इच्छुक देखिएको उनको भनाइ छ ।

२८ वर्षदेखि बन्द रहेको सो विमानस्थल नगरपालिकाको संयोजनमा विसं २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडानसमेत भरेका थिए ।  कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारबाट जम्मा १२ किलोमिटर सडक कच्ची छ । कालीगण्डकी करिडोरको मालढुङ्गाबाट बलेवासम्मको सडक कालोपत्रका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चितता गरेसँगै सडकसमेत कालोपत्र हुने भए पनि विमानस्थल सञ्चालनका लागि सहज हुने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *