एमसीसीलाई चुनावी एजेण्डा बनाउँदै कांग्रेस, लाखौं पुस्तिका छापेर घरघर पठाउँदै (पुस्तकसहित) – Nepal Press

एमसीसीलाई चुनावी एजेण्डा बनाउँदै कांग्रेस, लाखौं पुस्तिका छापेर घरघर पठाउँदै (पुस्तकसहित)

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले संसदबाट एमसीसी अनुमोदन भएको सन्दर्भलाई स्थानीय निर्वाचनको एजेण्डा बनाएको छ ।

एमसीसीबारे जनस्तरबाट प्राप्त प्रतिक्रियाले जनमतमा प्रभाव पार्नसक्ने आँकलन गर्दै कांग्रेसले विपक्षीभन्दा पहिले नै एमसीसीको एजेण्डालाई देशैभरी पर्याएको हो ।

अहिले जारी कांग्रेसको १ महिने अभियानका दौरान एमसीसीबारे पुस्तिका नै बाँडेर कांग्रेसले एमसीसीबारे आफ्नो धारणा जनतामा पुर्याएको हो । कांग्रेसले अहिले देशैभरी ‘एमसीसी अनुदान सहायता सम्झातौ : भ्रम र यथार्थ’ नामक पुस्तिका पार्टी संयन्त्रमार्फत वितरण गरिरहेको छ । जसमा एमसीसी एक अनुदान सहायता मात्रै भएको र नेपालका कम्युनिष्ट पार्टीहरुले राजनीतिकरण गरेको आरोप लगाइएको छ ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी एमसीसीबारे जनतामा गलत प्रचार भइसकेका कारण विपक्षी दलले एजेण्डा नबनाएपनि कांग्रेसले यथार्थ विवरण बोकेर जनतामा जाने निर्णय गरेको बताउँछन् ।

‘जनस्तरमा एमसीसीबारे उठेको प्रश्नको उत्तर दिनु कांग्रेसको दायित्व हो । एमसीसी अनुमोदनका लागि निर्णायक अग्रसरता लिएको पार्टी भएकाले हामीले नै जनतालाई बुझाउनुपर्छ भन्ने निष्कर्षका साथ पुस्तिका प्रकाशित गरेका हौं’, शिवाकोटीले नेपाल प्रेससँग भने । उनका अनुसार पुस्तिकाले एमसीसीबारे फैलाइएको अफवाह चिर्नुको साथै कम्युनिष्ट पार्टीहरुको दोहोरो चरित्रको पनि भण्डाफोर गर्नेछ ।

कांग्रेसले एमसीसीको सुरुआतदेखि संसदीय अनुमोदनसम्म राष्ट्रिय दल र नेताहरले गरेको भूमिकालाई पुस्तकमा लिपिवद्ध गर्दै एमसीसीको विरोध जनतामा भ्रम फैलाउने उद्देश्यले भएको दावीसमेत गरेको छ । कांग्रेसले भ्रमका रुपमा ३० वटा विषय समेटेर प्रत्येकमा स्पष्टीकरण दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार १ लाखभन्दा बढी प्रति पुस्तिका छापेर जिल्ला–जिल्लामा पठाइएको छ । आवश्यकता र जिल्लाबाट हुने मागका आधारमा थप पुस्तिका छापेर वितरण गर्ने कांग्रेसको तयारी छ । चुनावसम्म हरेक घरमा एमसीसीबारे पुस्तिका पुर्‍याउनुपर्ने कांग्रेस नेताहरुको भनाई छ ।

यस्तो छ एमसीसीबारे कांग्रेसको पुस्तिका–


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर