होलीमा ट्राफिक जाँचमा कडाइ, १३ सय परिचालन गरिने
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा १३ सयबढी ट्राफिक प्रहरी परिचालन गर्ने भएको छ ।
होली मनाउँदा ट्राफिक नियम उलंघन हुने र दुर्घटना नियन्त्रणका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिने भएको हो ।
दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरेको महाशाखा प्रमुख उमेशराज जोशीले जानकारी दिए ।
होलीको पूर्व सन्ध्यामा होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन एसएसपी जोशीले सबै ट्राफिक ईकाई तथा ईञ्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिएका छन् ।
‘फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौतिहरू तथा खतराहरूलाई यथार्थपरक विश्लेषण र मूल्याङ्कन गरेर प्रविधि उपकरणहरुको समुचित उपयोग गर्ने गरी विशिष्टीकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौँ’, मातहतलाई ब्रिफिङ गर्दै जोशीले भने, ‘बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २ वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने छ।’
अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि मोटरसाईकल हुईक्याउने, मोटरसाईकलमा हेल्मेट नलगाउने, मोटरसाईकलमा तीनजना भन्दा बढी सवार गरी चलाउने, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठुलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउने माथि विशेष निगरानी गर्ने गरी महाशाखाले सुरक्षा योजना तयार गरेको जनाइएको छ ।
महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाईका साथ सुरू गर्ने भएको छ ।