भारतले पेट्रोलियम पदार्थको मूल्य फेरि बढायो, निगमद्वारा मासिक १० अर्ब ६१ करोड घाटा प्रक्षेपण – Nepal Press

भारतले पेट्रोलियम पदार्थको मूल्य फेरि बढायो, निगमद्वारा मासिक १० अर्ब ६१ करोड घाटा प्रक्षेपण

काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ ।

आईओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर दुई हजार २४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै १० अर्ब ६१ करोड नोक्सानी हुने निगमको प्रक्षेपण छ । निमगलाई मार्च १६ देखि ३१ सम्म पेट्रोलियम बिक्रीबाट ५ अर्ब ३० करोड ९८ लाख घाटा हुने बताइएको छ । सो अवधिमा पेट्रोलको बिक्रीबाट एक अर्ब सात करोड ९८ लाख, डिजेलको बिक्रीबाट तीन अर्ब १६ करोड ७२ लाख र एलपी ग्यासको बिक्रीबाट रु एक अर्ब २६ करोड ३७ लाख नोक्सानी हुने अनुमान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

सरकारले भन्सारमा नै पेट्रोलियम पदार्थको आयातमा विभिन्न शीर्षकको कर उठाउने गरेको छ । सरकारले पेट्रोलमा प्रतिलिटर ५९ रुपैयाँ ४८ पैसा, डिजेलमा प्रतिलिटर ४२ रुपैयाँ १६ पैसा, मट्टितेलमा प्रतिलिटर १३ रुपैयाँ ३६ पैसा, हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १९ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) मा दुई रूपैयाँ आठ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २८० रुपैयाँ ३० पैसा कर उठाउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर