ओलीले भने- स्थानीय तहमा राम्रो काम गरेका जनप्रतिनिधिलाई टिकटमा प्राथमिकता – Nepal Press

ओलीले भने- स्थानीय तहमा राम्रो काम गरेका जनप्रतिनिधिलाई टिकटमा प्राथमिकता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको टिकट वितरणमा अन्याय हुन नदिने र चुनाव जित्नेबाहेक अरु उद्देश्य राख्न नुहने प्रष्ट पारेका छन् ।

संसदीय दलको बैठकमा सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहका वडा सदस्यदेखि महानगरपालिकाका मेयरसम्म जो-जो अहिले जितेका छन्, राम्रो काम गरेकाहरूलाई टिकटमा पहिलो प्राथमिकता दिइने बताए ।

ओलीले भने, ‘जसले अहिले जितेर राम्रो काम गरिरहेका छन् उनीहरूलाई नै पहिलो प्राथमिकता दिने । कतै नराम्रो गरेकालाई बदमासी गरेकालाई परेछ भने गल्ती सच्याइँन्छ, कसैमाथि अन्याय हुन दिइन्नँ । यो चुनाव पार्टीले जित्नका लागि हो ।’

ओलीले आउने स्थानीय चुनावमा ६० देखि ७० प्रतिशत जनप्रतिनिधि एमालेले जित्ने दाबीसमेत गरे । सरकारले संसदको अधिवेशन हठात अन्त्य गर्नुले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लम्ब्याउने र अदालत प्रयोग गरेर आफू अनुकूल काम गर्ने उद्देश्य लुकेको हुनसक्ने उनले बताए ।

बैठकमा अध्यक्ष ओलीले स्थानीय चुनावमा एमाले एक्लै लड्ने बताएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ओलीले सकेसम्म सर्वसम्मतिका साथ उम्मेदवार छान्ने प्रक्रियामा सहजीकरण गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर