प्रदेश समृद्ध बनाउने अभियानमा प्रतिवद्ध छु : मुख्यमन्त्री केसी – Nepal Press

प्रदेश समृद्ध बनाउने अभियानमा प्रतिवद्ध छु : मुख्यमन्त्री केसी

रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशलाई समृद्ध र आत्मनिर्भर प्रदेश निर्माण गर्नका लागि सरकारको अभियान निरन्तर रुपमा अगाडि बढेको बताएका छन् ।

कपिलवस्तुमा आयोजित प्रदेश समन्वय परिषद्को पाँचौं बैठकमा उनले प्रदेश सरकारबाट सञ्चालन भएका आयोजनाहरु तीव्ररुपमा कार्यान्वयनका लागि सबै सरोकारवाला निकायलाई सचेचतापूर्वक लाग्नका लागि निर्देशन पनि दिए ।

नेपालको संविधान प्रदान गरेको संघीय, प्रदेश र स्थानीयतहको समन्वयमा ठीक ढंगले अगाडि बढाउन नसकेमा कार्यान्वयन गर्ने निकाय र संघीयततालाई बलियो बनाउनका लागि कठीनता उत्पन्न हुने भएको उनको तर्क थियो ।

उनले कानून निर्माणका लागि अब १०९ स्थानीय तहमै कानूनी अधिकृतहरुको आवश्यता भएकाले गर्दा त्यसलाई अगाडि बढाउन गरी लोकसेवामार्फत नै अगाडि बढाइने बताए ।

मुख्यमन्त्री केसीले प्रदेशले नेपालको संघीयताको कार्यान्वयनका लागि सबैभन्दा बढी र प्रदेशवासीको लागि नयाँ र भर्जिन ल्याण्डमा छानेको दावी गरे ।

उनले प्रदेश सरकारले जनताको आधारभूत आवश्यकतालाई पूरा गर्नका लागि शिक्षा, स्वास्थ्य, विकास निर्माण, भौतिक पूर्वाधार, खानेपानी, विद्युत, यातायातको सेवा, सञ्चारलगायतको क्षेत्रमा स्थानीयतहसँग समन्वय गरी अगाडि बढेको बताए ।

केसीले लुम्बिनी प्रदेश सरकारको १०९ स्थानीयतहलाई विकास निर्माणको एउटै सर्किटमा जोड्नका लागि सबै समन्वय परिषदका सदस्यहरुलाई जिम्मेवारी ढंगले लाग्नका लागि अनुरोध गरे ।

प्रदेश समन्वय परिषद् नीति निर्माणको तह भएकोले गर्दा जनप्रतिनिधि कार्य क्षमताको विकासका लागि र कर्मचारीहरुको इच्छाशक्तिमा परिवर्तन गरेर जनमुखी विकास कार्य गर्नुपर्ने बताउँदै उनले त्यसका लागि अगाडि स्थानीय तह र प्रदेश सरकारको समन्वयका लागि अगाडि बढाउनुपर्ने बताए ।

बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेश सरकाले जनमुखी बजेट निर्माण गरेकोले त्यसलाई कार्यान्वयनका लागि सम्पूर्ण जिल्लाका समन्वय परिषद्का सदस्यहरुले अनुगमन गरिदिनुपर्ने बताए ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले आम जनतालाई सूचनाको हक र शान्ति सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताउँदै प्रदेशवासीको जीवन सुरक्षा र विकासमा अझै निरन्तर रुपमा लाग्ने बताए ।

बैठकमा प्रदेशका निमित्त सचिव राजेन्द्र थापाले प्रदेश सरकारलाई सफल बनाउनको लागि कर्मचारी संयन्त्र लागेको बताउँदै त्यसका लागि कर्मचारीहरुको क्षमता विकास, दक्षता प्रदानका लागि निरन्तर रुपमा लागेर अगाडि बढाउनुपर्ने र कर्मचारीको क्षमता विकासका लागि समेत योजना बनाउने प्रतिवद्धता व्यक्त गरे ।

मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव नरेन्द्र रानाले लुम्बिनी प्रदेशको राजधानी पूर्वाधार निर्माणका लागि सरकारबाट गरिएका काम कार्यबारेमा जानकारी गराएका थिए ।

बैठकमा समन्वय परिषद्का सदस्यहरुले आफ्ना क्षेत्रमा भएका गरेका सम्पूर्ण कार्य प्रगति, अनुभूतिलगायतको कार्यको समीक्षालगायतको विषयमा रिपोर्टिङ गरेका थिए ।

बैठकमा भएका छलफललाई निर्णय गर्ने गरी यसलाई प्रदेश सरकारको नीति बनाएर अगाडि बढ्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव कमानसिंह थापाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर