तारागाँउ रिजेन्सीमाथि छानबिन गर्न उच्चस्तरीय छानविन समिति गठन – Nepal Press

तारागाँउ रिजेन्सीमाथि छानबिन गर्न उच्चस्तरीय छानविन समिति गठन

काठमाडौं । सरकारले तारागाँउ रिजेन्सी होटल्स लिमिटेडमा भएको शंकास्पद लगानी र बैङ्किङ कारोबारबारे अध्ययन गर्न उच्च स्तरीय छानविन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयका सहसचिव होम लुइँटेलको संयोजकत्वमा छानविन समिति गठन गरेको हो ।

समितिको सदस्यमा चार्टर्ड एकाउन्टेन्ट पियुस आनन्द, अधिवक्ता वसन्त बस्नेत, महेन्द्र थापा सदस्य रहेका छन् भने मन्त्रालयकै उपसचिव टेकनारायण पौडेल सदस्य–सचिव रहेका छन् । समितिलाई प्रतिवेदन बुझाउन एक साताको समयावधि दिइएको मन्त्रालयले जनाएको छ ।

नेपालको पर्यटन विकासका लागि भन्दै २०४९ सालमा सरकारले तारागाँउ विकास समितिको लगानीमा तारागाँउ रिजेन्सी होटल्स लिमिटेड स्थापना गरेको थियो । निजी क्षेत्रबाट राधेश्याम सर्राफ र दिनेशलाल श्रेष्ठ समूहको लगानीमा तारागाँउले करिब ३० प्रतिशत लगानी गरेको थियो ।

सर्राफ–श्रेष्ठ समूहले बिचमा होटेलमा धेरै खर्च देखाएर तारागाँउको हिस्सा करिब ९ प्रतिशतमा सीमित गरेका थिए । त्यसैबारे अध्ययन गर्न समिति गठन भएको हो । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले अहिले बौद्धमा हायात ब्रान्डमा होटेल सञ्चालन गरिरहेको छ ।

अध्ययन समितिले तारागाँउ विकास समितिमा भएको अनियमितता, हायात होटेल सञ्चालनका क्रममा भएको कामकारबाहीको अध्ययन गर्नुका साथै बौद्धस्थित करिब डेढ सय रोपनी जग्गा कम्पनीको नाममा गएको विषयमा समेत अध्ययन गरी प्रतिवेदन बुझाउने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर