मिथिला परिक्रमा जनकपुधराम आइपुग्यो, भोलि अन्तरगृह परिक्रमा – Nepal Press

मिथिला परिक्रमा जनकपुधराम आइपुग्यो, भोलि अन्तरगृह परिक्रमा

जनकपुरधाम । भगवान राम र सीताको डोलासहित निस्केको मिथिला माध्यमिकी परिक्रमा आज १४औं दिन जनकपुरधाम आइपुगेको छ ।

नेपाल र भारतका १४ पडावस्थल अर्थात् १३३ किलोमिटरको यात्रा तय गरेर परिक्रमा टोली आज जनकपुरधाम आइपुगेको हो । परिक्रममा नेपाल र भारतका हजारौं साधुसन्त, महन्थ र श्रद्धालु सहभागी छन् ।

भगवान राम र सीताको डोला बाजागाजा तथा झाँकीसहित आइपुगेका परिक्रमाका यात्रीहरु आज जनकपुरधामस्थित बाह्रविघा मैदानमा विश्राम गर्नेछन् । उनीहरु भोलि बिहान पञ्चकोशी अर्थात् अन्तर गृहपरिक्रमा गरेपछि विधिवत् रुपमा परिक्रमा समापन हुनेछ ।

त्रेता युगमा माता सीतासँग अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र भगवान् रामको विवाह भएपछि परिक्रमा मार्ग भएर भ्रमण गरेको स्मरणमा हरेक वर्ष मिथिला माध्यमिकी परिक्रमा गर्ने चलन छ ।

परिक्रममा खाली खुट्टा हिड्नुपर्ने हुन्छ, त्यसैले यसलाई कठोर यात्रा पनि भनिन्छ । यसवर्ष परिक्रममा सहभागी एक भारती महिलाको ज्यान समेत गएको छ । परिक्रममा सहभागी हुनेलाई सुख, शान्ति, ऐश्वर्य र मोक्ष प्राप्ति हुने गरेको साधुसन्तहरु बताउँछन् ।

मिथिला माध्यमिकी परिक्रमा समापन भएको बिहान जनकपुरधाम क्षेत्रमा होली मनाउने चलन छ । सोअनुसार यसवर्ष जनकपुरधाम क्षेत्रमा शनिबार होली मनाइन्छ । तर तराई मधेसवासीले भने भोलि शुक्रबार नै होली मनाउने छन् ।

हिमाली तथा पहाडी भेगमा आज होली मनाइँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर