नवनिर्मित कमलपोखरीकाे उद्घाटन – Nepal Press

नवनिर्मित कमलपोखरीकाे उद्घाटन

काठमाडौं । बुधबार साँझ कमलपोखरी वरीपरी अरु दिन भन्दा अलिक बढी नै चहलपहल थियो भने झिलिमिली पनि अन्य दिन भन्दा बढी । लामो समयदेखि बेवारिस बनेको कमलपोखरी उद्घाटन कार्यक्रमका कारण बुधबार साँझ त्यहाँको चहलपहल बढेको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य पनि आफ्नो ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको कमलपोखरी पुनर्निर्माणको काम सम्पन्न भएकामा निकै खुशी देखिन्थे। नभन्दै आफ्नो ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको कमलपोखरी पुनर्निर्माणको काम सम्पन्न भएको भन्दै उनले कमलपोखरी उद्घाटन क्रममा पनि खुशी व्यक्त गरे ।

बुधबार साँझ भिलिमिली उज्यालोकाबीच कमलपोखरीको उद्घाटन गर्दै उनले अवरोधका बीच पनि सुन्दर पोखरी निर्माण गरी उद्घाटनको चरणमा पुग्दा खुशी लागेको बताए ।

‘ऐतिहासिक ठाउँलाई राम्रो देखाउनुपर्छ, संरक्षण गर्नुपर्छ, प्रवद्र्धन गर्नुपर्छ र पर्यटनसँग जोड्नुपर्छ भन्ने हाम्रो नीति नै हो,’ प्रमुख शाक्यले भने, ‘सार्वजनिक जग्गामा पार्क निर्माण गर्ने, हरियाली प्रवद्र्धन गर्ने उदेश्य अनुसार लामो समयदेखि बेवारिस र फोहोर जमेको पाखेरीलाई पुनर्जीवन दिने काम सम्पन्न गर्दा आज खुशी लागेको छ ।’

उनले परम्परागत, सांस्कृतिक र पर्यकटीय रुपमा विकास गर्ने अभियान अन्तर्रगत कमलपोखरीलाई गुरुयोजना बनाएर पुनर्निर्माण गरेको पनि जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रुपमा विकास गरेको भन्दै प्रमुख शाक्यले पोखरी उद्घाटनसँगै बिहान र साँझपख स्वस्थ्य हावा र हरियालीको मनोरञ्जन लिदैँ घुमफिर गर्ने उपयुक्त स्थानका रुपमा कमलपोखरी रहने बताए ।

उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग समेत पटक–पटक छलफल गरेर कमलपोखरी पुनर्निर्माणको काम अघि बढाएको भए पनि बिचमा पुनर्निर्माणको काममा अवरोध भएको भन्दै दुःख व्यक्त गरे ।

‘हामीले यो क्षेत्रका जनप्रतिनिधिसँगै माननीय गगनकुमार थापासँग पनि धेरै पटक छलफल गरेर समवन्य गर्दै काम अघि बढाएका थियौँ,’ शाक्यले भने, ‘बिचमा उहाँहरु दिग्भ्रमित हुुनुभयो । केही युवाले यो कमलपोखरी होइन कंक्रिटको पोखरी हो भन्दै भ्रममा पनि पार्ने काम गरे ।’ पछि महानगरपालिकाले सम्झाएपछि काम अघि बढेको उनले बताए।

‘कहिलेकाँही भ्रम फैलाउँदा पनि गलत सन्देश जान सक्छ,’ उनले भने, ‘हामीले मौलिकता नमर्ने गरी अलिकती आधुनिकता पनि झल्किने गरी पोखरी पुननिर्माण गरेका छौँ । अहिले यो पोखरी कस्तो बनेको छ । तपाईँहरु आफैँ हेर्नुहोस् र सुझाव दिनुहोस् । यो सबैको साझा पार्क हो ।’ उनले पोखरी घुम्न आउँनेहरुका लागि मनोरञ्जन दिने उदेश्यले मण्डप, चैत्य र फाउण्टेनसमेत निर्माण गरेको जानकारी दिए ।

केही हप्ता अघि सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको मेयर शाक्यले नै विधिवतरुपमा प्रतिस्थापन गरेको थियो । नेकपा एमालेका युवा नेता डाक्टर राजन भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा सुन्दर कमलपोखरी बनेको भन्दै खुशी व्यक्त गरे।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले स्वच्छ वातावरणसहितको फराकिलो कमलपोखरीको उद्घाटन चरणमा आइपुग्दा आफुलाई आनन्द महशुस भएको बताइन् ।

काठमाडौं महानगरपालिकाका अनुसार कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहेका छन् ।

करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण सम्पन्न भएको पोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण भएको पनि महानगरपालिकाले जानकारी दिएको छ । परम्परागत नेवारी शैलीलाई आत्मसाथ गर्दै पोखरी पुर्ननिर्माण गरिएको हो । पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइएको छ भने पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिएको छ ।

पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्था गरिएको छ । त्यसैगरी विभिन्न ठाउँमा चैत्य र पाँचओटा मकरधार रहेका छन् । धाराको पनि प्रमुख शाक्यले बुधवार साँझ उद्घाटन गरे ।

काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख राम थापाले काठमाडौं महानगरपालिका रहेको यो पोखरी हेर्न, वस्न र केही समय मनोरञ्जनसहित व्यथित गर्न लायक हुने ढाँचासहित पुनर्निर्माण गरिरहेको जानकारी दिए ।

‘सबै भन्दा ठूलो कुरा त पोखरीलाई पुर्नजीवित गर्ने काम भएको छ,’ उनले भने, ‘हिलो, ढल र घाँसले भरियो यो पोखरी अहिले अनुपम सौदर्यले भरिपूर्ण देखिएको छ र पोखरीले आफ्नो स्वरुप प्राप्त गरेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *