दुर्गममा वरिष्ठ चिकित्सकबाट स्वास्थ्य सेवा प्रदान – Nepal Press

दुर्गममा वरिष्ठ चिकित्सकबाट स्वास्थ्य सेवा प्रदान

भोजपुर । गरिबीका कारण मुटु रोग, हार्डजोर्नी, दम, स्त्री रोगजस्ता रोगबाट ग्रस्त जिल्लाका नागरिकले वरिष्ठ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । गरिबीका कारण उपचार गराउन नपाएका उनीहरुले दावाँली मिलन क्लबको सक्रियतामा आफ्नै जिल्लामा उपचार गराएका हुन् ।

उक्त क्लब, नेपाल चिकित्सक सङ्घ, भोजपुर जिल्ला अस्पताल र भोजपुर नगरपालिकाको साझेदारीमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा करिब तीन हजार १०० भन्दा बढी बिरामीलाई एक सय ५० विशेषज्ञ चिकित्सकले सेवा प्रदान गरेका थिए । एक मात्र सरकारी अस्पताल रहेको भोजपुरमा सामन्य किसिमको बिरामी हुँदा पनि ठूलो आर्थिकभार व्यहोरेर बाहिरी जिल्ला जानुपर्ने बाध्यता रहँदै आएको छ ।

जिल्लामै विशेषज्ञ चिकित्सबाट मुटु रोग, हार्डजोर्नी, दम, स्त्री रोग, यौन तथा छाला रोग, नाक, कान,घाँटी, आँखा, दाँतलगायत रोगको निःशुल्क उपचार पाउदा बिरामीलाई राहत मिलेको स्थानीयचन्द्रबहादुर भुजेलले बताए । जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा आफूहरुलाई धेरै नै समस्या रहेको र वरिष्ठ चिकित्सकको सेवा आफ्नै ठाउँमा लिन पाउदा खुसी लागेको उनको भनाइ छ ।

शिविरमा विशेष गरेर मुटु रोग, स्त्री रोग, हार्डजोर्नी तथा आँखाका बिरामीको सङ्ख्या बढी रहेको मुटुरोग विशेषज्ञ डा भगवान् कोइरालाले बताए । जिल्ला अस्पतलाको भवन सुविधा सम्पन्न भए पनि दक्षजनशक्ति नहुँदा बिरामीलाई समस्या हुने गरेकाले यसतर्फ राज्यले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

सामान्य रोगको समस्या भएका बिरामीलाई यही उपचार तथा औषधि वितरण गरिएको र मुटुरोग,हार्डजोर्नीजस्ता जटिल खालका बिरामीलाई भने जिल्ला बाहिरका सुविधासम्पन्न अस्पतालमा लगेर निःशुल्क उपचार गरिने जनाइएको छ । ज्येष्ठ नागरिक, महिला, बालबालिका, तथा विपन्न नागरिकलाई लक्ष गरेर शिविर आयोजना गरिएको भोजपुर नगरप्रमुख कैलाशकुमार आलेको भनाइ थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *