युक्रेन युद्धका कारण विश्वमा खाद्यान्नको अभाव बढ्न सक्ने : राष्ट्रसंघ
न्यूयोर्क । संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रम फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन, एफएओका प्रमुख अर्थशास्त्रीले हाल युक्रेनमा जारी रहेको युद्धका कारण विश्वमा नै खाद्य असुरक्षा बढ्न सक्ने बताएका छन् ।
उनले रुस र युक्रेनबीचमा जारी रहेको युद्धका कारण खाद्यान्नको अभाव बढ्न सक्ने चेतावानी दिएका समाचारमा जनाइएको छ । प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले यो युद्धका कारण विश्वमा नै खाद्यान्नको मूल्य महंगो हुने र जसका कारण अभाव पनि हुनसक्ने बताए ।
उनका अनुसार युरोपलगायतका क्षेत्रमा पछिल्लो यस युद्धले गर्दा खाद्यान्नको आपूर्तिमा कमी आउन सक्ने पनि उनले बताएका छन् । यस युद्धका कारण चामल, गहुँ र मकैको मूल्यमा भारी मात्रामा वृद्धि हुनसक्ने अनुमान उनले गरेका छन् ।
उनले भने – युद्धका अरु पनि असरहरु होलान् तर मलाई लाग्छ यसले खाद्यान्न उत्पादन, यसको आपूर्ति र उपलब्धतामा धेरै असर गर्ने देखिएको छ, खाद्यान्नको आपूर्ति र उपलब्धताको कुरा पेट्रोलियम पदार्थका कारण पनि महंगीमा असर गर्न सक्छ ।
संयुक्त राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा सम्वाददाताहरुसँग उनले सो धारणा राखे । उनले यो युद्ध जति समय बढ्दै गयो त्यति नै खाद्यान्नको अभाव बढ्दै जाने अनुमान उनले गरेका हुन्। रुसले युक्रेनमा सैन्य आक्रमण जारी राखेको छ । तीन हप्तादेखि रुसले युक्रेनमा हमला जारी राखेको छ ।