तीन वर्षपछि होलीमा रङमङिएको वसन्तपुर
काठमाडौं । सधैँ थाकका थाक कपडाका थुप्रो राखेर बेच्न बस्ने असनका साँघुरा सटरहरू बन्द छन् । साँझ परेपछि कोइलामा सेकुवा पोल्ने गाडाहरू छैनन् । प्लाष्टिकको झोलामा भर्खरै सपिङ गरेका वास्नादार कपडा बोकेर हिँडेका गृहिणी, श्रीमान्/श्रीमती, छोराछोरी, युवायुवतीको भीड छैन । भीड छ त केवल अनुहारमा रङ बोकेर हाँसिरहेका अनुहारहरूको । भीड छ त हातमा रङ बोकेर रङ साटिरहेका युवायुवतीहरूको । भीड छ त आकाशमा मुठीका मुठी रङ फालेर त्यही रङमुमनि प्रेम साटिरहेका युवायुवतीहरूको ।
सधैँ फरक खालका मान्छेको भीड हुने असनका चोकहरू सेता कपडा लगाएका युवायुवतीहरूले भरिएका छन् । कपडाको मूल्यमा ग्राहकसँग बार्गेनिङ गरिरहने साहुजीका सटरहरूमा ताल्चा ठोकिएको छ । बरु कतिपय साना कलात्मक घरको झ्यालहरूमा स्पीकर बाहिर फर्काएर राखिएको छ । र, त्यहाँ बजिरहेको छ, ‘इत्ना मजा क्यु आ रहा हैं, तु ने हावा में भाङ मिलाया ।’
‘ए जवानी है दिवानी’ फिल्मको यो गीतमा झुमिरहेका छन् युवायुवतीहरू । इन्द्र चोकमा स्टेज नै खडा गरेर स्थानीयले त्यही गीत बजाइरहेका छन् । गीतमा झुम्नेहरू रङ साटासाट गरिरहेका छन् । रङसँगै खुसी साटासाट गरिरहेका छन् । चिच्याइरहेका छन्, कराइरहेका छन् । र, रमाइरहेका छन् ।
०००
सन् १९८९ मा प्रदर्शन भएको बलिउड फिल्म ‘इलाका’ मा अमरीश पुरीको एक संवाद छ, ‘कल हम खोली खेलेंगे… लेकिन इस होली में गुलाल की बजाए धुँआ उडेगा । पिचकारियों से रंग नही बन्दुकों से गोलियां निकलेंगी । गीतों की जगाह तीखें और लाज की जगाह लाशें टपकेंगीं ।’
अमरिश पुरीको यो संवाद फिल्मका लागि मात्रै ठिक्क छ । खलनायकको भूमिका प्रसिद्धी कमाएका पुरीले आफ्नो खलनायकी पात्रलाई न्याय गर्नकै लागि यो संवाद बोलेका थिए । तर, आज वसन्तपुरमा भने प्रेमको, मानवीयताको धुवाँ उडिरहेको छ । सम्बन्धहरूको पिच्कारीले रंगीन बनाएको छ वसन्तपुर ।
युवायुवतीको भीडले भित्र पस्नै सकिँदैन । ठेलमठेलमा हुटिङको पनि चर्को कोरस छ । ‘ह्याप्पी होली’को कोरस उस्तै छ । न कसैसँग आक्रोश छ, न कसैसँग रिसीवी र द्वैष नै । न त कोही बेखुस छन् । सबैको अनुहारमा रङभन्दा रंगीन मुस्कानहरू छन् ।
वसन्तपुर डबलीको बीचमा डिजे घन्किरहेको छ । भीडमा युवायुवती हल्ला गरेर, हात उठाएर नाचिरहेका छन् । रङहरूको धुवाँ उडिरहेको छ । असनको इन्द्र चोक, काल भैरव मन्दिरका सिँढीहरू सबै रङहरूले सजिएका छन् । रङहरूमा रङमङिएका युवायुवतीहरूले सजिएको छ वसन्तपुर ।
०००
होली खुसीको पर्व हो । हाँसोको पर्व हो । उल्लासको पर्व हो । यसको पौराणिक महत्व पनि उस्तै छ । इशापूर्व तीन सय वर्ष पहिलाको अभिलेखमा पनि होलीलाई उल्लेख गरेको पाइएको छ । यसको ऐतिहासिकता, पौराणिकताले पनि उल्लास र रङको पर्वको रूपमा स्थापित गरेको छ होलीलाई ।
हिन्दू धर्मग्रनथमा उल्लेखित कथाअनुसार कश्यप ऋषिकी पुत्री, असूर हिरण्यकश्यपकी बहिनी हुन् होलिका । कथाअनुसार होलिकाले आगोमा पनि नजल्ने वरदान पाएकी थिइन् ।
हिरण्यकश्यपका छोरा प्रल्हाद भगवान् विष्णुका ठूला भक्त थिए भने हिरण्यकश्य स्वयं भने विष्णुका दुश्मन थिए । तर, आफ्नो छोरा आफ्नै शत्रुको भक्त भएको हिरण्यकश्यपलाई मन परेन । र, आफ्नै छोरोलाई आगोमा जलाएर मार्ने षड्यन्त्र रचे ।
यसका लागि हिरण्यकश्यपले बहिनी होलिकासँग मद्दत मागे । होलिका पनि प्रल्हादलाई काखमा सुताएर आगोको ज्वालामा बस्न तयार भइन् । तर, भगवान विष्णुले यो षड्यन्त्र चाल पाएपछि आगोमा बसेकी होलिकाको काखबाट प्रल्हादलाई टिपेर बचाए र होलिकालाई आगोमा डढाएर मारे ।
विष्णुले भक्त प्रल्हादलाई बचाउँदै होलिकालाई मारेको खुसीयालीमा होलीको उस्तव मनाउने चलन छ । यसका साथै होली मनाउनुका अन्य पनि थुप्रै किवंदन्तीहरू छन् । समुदाय अनुसार यसको छुट्टै सांस्कृतिक महत्व पनि छ ।
०००
बितेका दुई वर्षका होली मानिसहरूले साँघुरा कोठाका छिँडीहरूबाट बाहिर हेरेर मनाए । वल्लो झ्यालबाट पल्लो झ्यालमा बेरङ आँखाले रङहरू खोज्दै बिताए । उनीहरूले आफैंलाई कैद गरे, आफ्नो मनलाई कैद गरे ।
कोरोना महामारीले मानिसहरूलाई घोषित/अघोषित बन्दी बनायो । संसार चिहाउने आँखाहरूलाई घरैघरले थिचिएको साँघुरो चेपहरूमा चेपिदियो । माइलौं हिँड्ने पाइलाहरूलाई त्यही चेपहरूमै अड्काइदियो । र त्यही चेपबाटै होली मनाए । रङहरूको उत्सव बनाए । रङहरूमा आफूलाई घोले । आफूमा रङहरूलाई घोले । र, आफैंसँग रमाए ।
यसपटकको होली भने फरक रह्यो । रङहरूमा मिसिएका मानिसहरू घरको झ्यालबाट बाहिर निस्किए । सडकमा आए, गीत गाए । पुराना गल्लीमा आए, गल्लीलाई नै रंगाइदिए । पार्कमा आए, पार्कलाई नै रंगाइदिए । मानिसहरूको भीडमा आए र मानिसहरूलाई नै रंगाइदिए ।
रंगीन मानिसहरूको भीड यतिबेला सडक-सडकमा, गल्ली-गल्लीमा, पार्क-पार्कमा छन् । स्वप्नील मानिसहरू रङहरू छरेर आफूलाई ‘ब्ल्याक एण्ड ह्वाइट’ नभएको प्रमाणित गरिरहेका छन् । साँघुरा चौघेराबाट बाहिर निस्किएको बताइरहेका छन् । कोरोनाको त्रासबाट बाहिर आएर जीवनको उत्सव मनाइरहेका छन् । वसन्तपुर वरपर जम्मा भएको भीडले ‘ह्याप्पी होली’ भनिरहेका छन् ।
गत विहीबार रंगीचंगी ध्वजापताका झुण्डाएर बनाइएको तीनतल्ले चीर वसन्तपुरमा ठडाइएको थियो । आज फागु पूर्णिमाको हर्ष बढाइँ गरेर यो चीर ढालिँदैछ । यसपछि टुँडिखेलको मध्यभागमा अवस्थित रूपमा गुरुमापा राक्षसलाई भोज खुवाउने चलन पनि रहेको छ ।
०००