चुनाव अघि नै चुनिए हुम्लाको लिमीमा वडाअध्यक्ष पाल्जोर तामाङ – Nepal Press

चुनाव अघि नै चुनिए हुम्लाको लिमीमा वडाअध्यक्ष पाल्जोर तामाङ

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा स्थानीय बासिन्दाले स्थानीय तहको चुनावअघि नै जनप्रतिनिधि चुनेका छन् । जिम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका स्थानीय बासिन्दाले गएको मंसिर ३० गते नै बैठक बसेर नयाँ जनप्रतिनिधि छनोट गरेका हुन्।

लिमीका स्थानीय बासिन्दाको आफ्नै नीति–नियम रहेको र यो कुनै नौलो कुरा नभएको नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङकाे भनाइ छ ।  उनका अनुसार आफ्नो गाउँठाउँका लागि स्थानीय बासिन्दा आफैँले जनप्रतिनिधि चयन गर्ने गरेका छन् । वडाका जनप्रतिनिधि छनाेट पछि आउँदो वैशाख ३० गते हुने चुनावमा लिमीबासीले गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान गर्ने छन् ।

यो पहिलेदेखि नै चलिआएको रीति रिवाज भएको स्थानीयको भनाइ छ । लिमीका स्थानीय बासिन्दा महत्त्वपूर्ण निर्णय लिन कात्तिक अन्तिम हप्ता र मंसिरको पहिलो हप्ता बैठक बस्छन् । त्यही अनुसार गएको मंसिर ३० गते बसेको बैठकले वडाध्यक्ष र सदस्यहरू चयन गरेको हो ।

वडा अध्यक्षमा उनीहरुले पाल्जोर तामाङलाई नै दोहोर्याएका छन् । वडा सदस्यहरू भने सबै नयाँ चयन भएका छन् ।  वडा अध्यक्षमा दोहोरिएका पाल्जोर तामाङ गाउँमा खाद्यान्न अभाव भएपछि सिंहदरबार गुहार्दै गएको मंसिरमा काठमाण्डौ आएका थिए ।  पाँच दिनको पैदल यात्रा अनि एक दिनको हवाई यात्रापछि वडाध्यक्ष तामाङ मंसिर ७ गते काठमाण्डौ आइपुगेको थिए । उनकै पहलमा गाउँमा चामल पुगेको थियो । आलु र उवा मात्रै उत्पादन हुने लिमी क्षेत्रमा खाद्यान्न अभाव हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर