कसरी भइरहेछ रुस–युक्रेन युद्धमा ‘भाडाका सेना’को प्रयोग ? – Nepal Press

कसरी भइरहेछ रुस–युक्रेन युद्धमा ‘भाडाका सेना’को प्रयोग ?

अंग्रेजीमा सैन्यशब्द छ – मर्सिनरी । यसको नेपाली भावार्थ हुन्छ– भाडाका सिपाही । हो, यस्तै सिपाहीलाई प्रयोग गर्नमा अहिले युक्रेन र रुस तातिएका छन् । यसलाई उनीहरुले ‘भाडाका सिपाही’ नामाकरण गरेका छैनन् । उनीहरुले आ–आफ्ना नाम दिएका छन् ।

युक्रेनले दिएको नाम छ– इन्टरनेसनल लिजियन अफ टेरिटोरियल डिफेन्स अफ युक्रेन । यसको नेपाली भावार्थ ‘युक्रेनको भुगोल रक्षा गर्ने अन्तर्राष्ट्रिय सेना’ भन्ने हुन्छ । युरोपेली संघले सदस्यता नदिएको र नाटोले रुससँग प्रत्यक्ष भिड्न नमानेपछि युक्रेनले जुक्ति लगाएर भाडाका सिपाहीहरु भर्नाको योजना सार्वजनिक गरेको हो ।

भाडाका सिपाहाीको मामिलामा रुस पनि अछुतो छैन । भाडाका सिपाहीलाई रुसले दिएको नाम हो– स्वयंसेवक ।

युद्ध सुरु भएको तीन दिनमै युक्रेनले माग्यो सिपाही, पुटिनले पनि मागे

गत फागुन १२ (फेब्रुअरी २४) बाट रुसले युक्रेनमा सैन्य हस्तक्षेप सुरु गर्यो । तीन दिनपछि युक्रेनका राष्ट्रपतिले युक्रेनको पक्षमा युद्ध लड्न अन्तर्राष्ट्रिय लडाकुलाई आह्वान गरे ।

कुनै देशस्तरको सम्झौता नभएर व्याक्तिगत तवरमा युक्रेनको पक्षमा आएर लढ्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त योजना सार्वजनिक गरेका थिए । फागुन १५ (फेब्रअरी २७)मा विदेशी लडाकुलाई युक्रेनी रक्षामा लगाउने योजना जेलेन्स्कीले सार्वजनिक गरेका थिए ।

रुसी समाचार एजेन्सी इन्टर फ्याक्सका अनुसार विदेशी लडाकुलाई युक्रेनको पक्षमा लड्न आग्रह गर्दै उनले भनेका थिए, ‘हाम्रो देशलाई तपाईँको सहयोगको मुख्य प्रमाण यहीं हुनेछ ।’

युक्रेनको पक्षमा लड्न आउने विदेशीलाई भिजा सहुलियतदेखि बेग्लै दस्ता तयार गर्ने राष्ट्रपतिको उद्घोष थियो ।

राष्ट्रपतिले सार्वजनिक आह्वान गरेर तयार गरिएको विदेशी लडाकु दस्तामा सहभागी हुन ५२ देशका २० हजार विदेशीहरुले आवेदन दिएको युक्रेन सरकारको दाबी रहेको अलजजिराले उल्लेख गरेको छ । युक्रेनको पक्षमा लढ्न धेरै आवेदन दिने देशहरुमा क्रोएसिया, इजरायल, ल्यातभिया, डेनमार्क, नेदरल्याण्ड र पोल्याण्ड भएको अलजजिराले लेखेको छ ।

युक्रेनी राष्ट्रपतिले विदेशी लडाकु युक्रेनमा उतारेर रुसको विपक्षमा लड्न आह्वान गरेपछि रुसी राष्ट्रपति भ्यादिमिर पुटिनलेसमेत उहीं लय समाएका छन् । उनले पनि विदेशी लडाकुलाई रुसको पक्षमा लढ्न सार्वजनिक आह्वान गरेका छन् ।

फागुन २७ (मार्च ११)मा रुसको सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै पुटिनले विदेशी लडाकुलाई युक्रेन युद्धमा सहभागी हुन आग्रह गरेको रुसका रक्षामन्त्री सेर्गी सोइगुले सार्वजनिक गरेका थिए ।

सोइगुका अनुसार पुटिनले १६ हजार विदेशी लडाकुहरु युक्रेनमा रुसको पक्षमा लढ्न तयार भएको आँकडा प्रस्तुत गरेका थिए । बीबीसीका अनुसार सिरियाका सहरी युद्धमा पोख्त सिरियाली लडाकुहरु धेरैले रुसको पक्षमा लढ्ने इच्छा जाहेर गरेका छन् ।

सिरियाली राष्ट्रपति बसर अल–असदलाई सत्ता जोगाउन रुसले भरथेग गरेकोले त्यसको गुन तिर्न सिरियाली लडाकु रुसको पक्षमा आउने बीबीसीले उल्लेख गरेको छ ।

युक्रेनमा नागरिकलाई लड्न जान दिने र रोक्ने देशहरु

जसरी अहिले युरोपको एक मुलुक युक्रेनले आफ्नो देशको रक्षा गर्न विदेशीलाई सेनामा राख्ने योजना ल्याएको छ, यो युरोपको पहिलो प्रचलन भने होइन । अलजजिराका अनुसार बेलायत र फ्रान्सले यस्तो अभ्यास धेरै अगाडिबाट गरिरहेका छन् ।

आफ्ना नागरिकलाई रुसको विपक्ष र युक्रेनको पक्षमा युद्धमा जान दिने वा नदिने भन्नेमा युरोपदेखि अमेरिकी देशहरु एकमत छैनन् । बेलायत, क्यानडा, जर्मनीदेखि चेक रिपब्लिकमा विदेशीको तर्फबाट युद्धमा लडेमा गैरकानूनी हुने प्रावधान छ ।
जर्मनीले त आफ्ना नागरिकले युक्रेन युद्धमा कुनै पक्ष लिएर लडेको जानकारी पाएमा जेल हाल्नेसम्मको चेतावनी दिएको छ ।

यद्यपि, धेरै युरोपेली देशहरुले आफ्ना नागरिकलाई युक्रेनको पक्षमा लढ्न गोप्य रुपमा उक्साइरहेको विदेशी संचारमाध्यमहरुले उल्लेख गरेका छन् । जसमा डेनमार्क, ल्यातभिया, चेक रिपब्लिक, बेलायत र क्यानडा भएको अलजजिराले लेखेको छ । अमेरिकीसमेत युद्धमा जोडिएका छन् ।

रुस–युक्रेन लफडामा विदेशी लडाकुहरु सहभागी भएको यो पहिलोपटक भने होइन । अलजजिराका अनुसार सन् २०१४ देखि २०२१ सम्ममा युक्रेनको युद्धमा १७ हजार विदेशी लडाकुहरु दुवैतर्फबाट सहभागी भएका थिए ।

कतिपय जानकारहरुले भने अहिले युक्रेन र रुस दुवै देशले दाबी गरेको जस्तो संख्यामा विदेशी लडाकुहरु युद्धमा सहभागी नभएको बताउँदै आएका छन् । यस्तो बताउनेमा एक हुन्– चेक रिपब्लिकको राजधानी प्रागको अन्तर्राष्ट्रिय सम्बन्ध संस्थाकी अन्वेषक आस्या मेतोदिभा । अलजजिरासँग कुरा गर्दै मेतोदिभाले भनेकी छिन्, ‘यो सबै अनुमान गर्ने संख्या हो र सजिलोसँग प्रमाणित हुन सक्दैन ।’

मेतोदिभाको जस्तै तर्क गरेका छन् नर्वेको ओस्लो विश्वविद्यालयको अतिवादमा अनुसन्धान गर्ने केन्द्र (सि–रेक्स)का फेलोअर्स काकपेर रेकाबेक । उनले अलजजिरासँग भनेका छन्, ‘यो संख्या (रुस–युक्रेन युद्धमा सहभागी विदेशी लडाकुको संख्या) मिडियामा आएकोभन्दा निकै थोरै छ । तर यो सन् २०१४ कोभन्दा भने धेरै छ ।’

उनले विदेशी लडाकुको सहभागीताले अरु केही नभए पनि यति देशको समर्थन छ भन्ने देखाउने ‘पिआर अभ्यास’ मात्रै भएको बताएका छन् ।

रुसी तारोमा विदेशी लडाकु, बन्दुक चलाउन नजान्ने पनि युद्धमा !

रुसको पक्षमा लागेर युक्रेनमा लड्नेहरुका दुःखबारे सार्वजनिक डोमेनमा समाचारहरु आएका छैनन् । तर, युक्रेनको पक्षमा लागेर दुःख पाएका समाचारहरु भने विभिन्न मिडियामा आएका छन् । अमेरिकी च्यानल एबीसीका अनुसार युक्रेनमा रुसको विपक्षमा लड्न आउनेहरु धेरैलाई बन्दुक चलाउन आउँदैन । बन्दुक चलाउन आउनेहरुलाई पनि हतियार तथा तालिमहरु दिइएको छैन । भाषाको चर्को समस्या भएको एबीसीले उल्लेख गरेको छ ।

बेलायती नागरिक म्यात्थ्यु रोबिन्सनलाई उदृत गर्दै एबीसीले युक्रेनमा पुगेका विदेशी लडाकुहरु बिलखबन्दमा परेको उल्लेख गरेको छ । धेरै गलत आश्वासन र धेरै अफबाहहरु फैलिएको रोबिन्सनले एबीसीलाई भनेका छन् ।

आइतबार मात्रै रुसले १८० विदेशी लडाकु मारेको दाबी गरेको एबीसीले उल्लेख गरेको छ । युक्रेनको तालिम केन्द्रमा हमला गरेर उनीहरु मारिएको रुसी दाबी छ । रुसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनासेन्कोभले रुसविरुद्ध लड्ने विदेशी लडाकुलाई कुनै दया नदेखाइने बताएका छन् ।

रुसी सैनिकहरुले विदेशी लडाकुको चालामाला हेरिरहेको र पुनः हमला गर्ने चेतावनी दिएको एबीसीले उल्लेख गरेको छ । युक्रेनको पक्षमा लड्नेहरु लडाकु मात्रै नभएर विचारको आधारमा समर्थन गर्न आएकाहरु धेरै भएको एबीसीले लेखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर