एनआरएनए चुनाव रोक्न उच्च अदालत पाटनमा सरकारी वकिलको चलखेल – Nepal Press

एनआरएनए चुनाव रोक्न उच्च अदालत पाटनमा सरकारी वकिलको चलखेल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन रोक्ने परराष्ट्र मन्त्रालय समेतको मुद्दा सुनुवाइ प्रक्रियामै रहेका बेला एनआरएनएका संरक्षक शेष घलेको रिट निवेदन दर्ता तथा पेसी तोक्न सरकारी वकिलले अनावश्यक चलखेल गरेपछि उच्च अदालत पाटन फाँटवालादेखि न्यायाधीशसम्म दबाबमा परेका छन् ।

उच्च अदालत पाटनका उच्च न्यायाधिवक्ता कृष्णराम कोइरालाले फाँटमा आफैं गएर शेष घलेको रिट दर्ता गराउने तथा न्यायाधीशहरूलाई समेत भेटेर आजकै पेसीमा राख्न दबाब दिएपछि यो विषय बाहिर आएको हो । मुख्य न्यायाधीश नभएको मौका पारेर कोइरालाले एनआरएनएनको मुद्दामा अनावश्यक चासो र चलखेल गरेको आरोप कर्मचारीहरूको छ ।

एनआरएनएको निर्वाचन रोक्ने परराष्ट्र मन्त्रालयको पत्र कार्यान्वयन नगर्न उच्च अदालत पाटनले यस यसअघि नै अन्तरिक आदेश दिएर निर्वाचन प्रक्रिया अघि बढिसकेको छ । त्यसमाथि परराष्ट्रय मत्रालय पुनः गएकोमा आगामी मार्च २३ मा त्यसको सुनुवाइ हुँदैछ ।

मार्च २४ र २५ गते एनआरएनएको चुनाव छ । यद्यपि चुनावी प्रक्रिया सुरू भएर उम्मेदवारी मनोनयनको म्याद समेत सकिइसकेको छ । यसबीचमा धेरै उम्मेदवार निर्विरोध निर्वाचित समेत भइसकेका छन् ।

तर, शेष घलेको निवेदन दर्ता गराउने र सुनुवाइका लागि पेसीमा चढाउनेसम्मका गतिविधिमा रहेका कोइरालाले ‘बेन्च सपिङ’ गरेर भने पनि चुनाव रोकाउने बताएपछि उच्च अदालतमा खैलाबैला मच्चिएको छ ।

निर्वाचन प्रक्रिया नै सुरू भइसकेको अवस्थामा अदालतमा दर्ता हुनै नसक्ने मुद्दा दर्ता गराउनुलाई अर्थपूर्णरूपमा लिइएको एनआरएनएका पदाधिकारीहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *