को हुन् मिस वर्ल्ड विजेता क्यारोलिना ? – Nepal Press

को हुन् मिस वर्ल्ड विजेता क्यारोलिना ?

काठमाडौं । पोल्याण्डकी क्यारोलिना बेल्वास्काले भर्खरै पोर्टो रिकोमा सम्पन्न मिस वर्ल्ड २०२१ प्रतियोगिताको उपाधि जितिन् । मार्च १७ मा जमैकाकी टोनी–एन सिंहले उनलाई मिस वर्ल्ड २०२१ को ताज पहिराइन्।

फर्स्ट रनरअप अमेरिकाकी मिस्टर सैनी र सेकेन्ड रनरअप कोटे डी आइभोरकी ओलिभिया एस भइन् ।

पोर्टो रिकोको सान जुआनस्थित कोका–कोला म्युजिक हलमा राज्याभिषेक प्रतियोगिता आयोजना गरिएको थियो।

यस मिस वर्ल्डको दौडमा नेपालबाट नम्रता श्रेष्ठले पनि प्रतिस्पर्धा गरेकी थिइन् । नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२ मा छनोट हुन सकिनन् ।

मिस वर्ल्ड अर्गनाइजेसनका अनुसार क्यारोलिना हाल व्यवस्थापनमा स्नातकोत्तरको लागि अध्ययन गरिरहेकी छिन् र उनी पीएचडी गर्ने तरखरमा छिन् । मोडलिङसँगै करोलिनाले आफ्नो पढाइलाई पनि निरन्तरता दिँदै उनी घरबारविहीन र समस्यामा परेका मानिसहरूलाई मद्दत गर्ने प्रोजेक्टहरुमा पनि काम गर्दै आएकी छिन् ।

उनी आफ्नो जीवनमा एक प्रेरक वक्ता बन्न चाहन्छिन् । उनी स्विमिङ र स्कुबा डाइभिङका साथै टेनिस र ब्याडमिन्टन खेल्न मन पराउँछिन्।

मिस वर्ल्ड अर्गनाइजेसनले हालै आफ्नो इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै लेखिएको छ, ‘क्यारोलिना सामाजिक कार्यमा संलग्न छिन्। उनको यो प्रोजेक्टको नाम जुपा ना पिट्रिनी हो, जसको माध्यमबाट उनले घरबारविहीनहरूलाई मद्दत गर्छिन् । समाजमा फैलिएका विकृति विरुद्ध लड्छिन् र मानिसहरूलाई यस बारे सचेत गराउँछिन्। उनको परियोजनाको उद्देश्य पोल्याण्डको लोड्ज सहरमा खाँचोमा परेका मानिसहरूलाई खाना, लत्ताकपडा र आवश्यक सेवाहरू उपलब्ध गराउनु हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर