राजालाई गाली गरेर पार्टी चलाउने कुरा दिवासपना : राजेन्द्र लिङ्देन – Nepal Press

राजालाई गाली गरेर पार्टी चलाउने कुरा दिवासपना : राजेन्द्र लिङ्देन

ललितपुर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्यमान राजनीतिक प्रणाली र अगुवा नेतृत्व नै देशको स्थिरता, विकास र समृद्धिको बाधक भएको बताएका छन् ।

ललितपुरको इमाडोलमा आयोजित क्षेत्रीय आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले लामो समय असफलताको नेतृत्व गरिरहेका दल र नेतृत्वको गलत नीति, अकर्मण्यताको विकल्प खोजिनुपर्ने बेला आएको बताए ।

लिङ्देनले राप्रपा राजनीतिक पार्टी मात्रै नभएको उल्लेख गर्दै जनअपेक्षलाई धोका दिएर दल चलाउने उद्देश्य उल्लेख गरे ।

उनले राप्रपाको महाधिवेशनपछि जनतामा सकारात्मक आशा पैदा भएको दाबी पनि गरेका छन् ।

सम्बोधनको लामो समय कांग्रेस, एमाले र माओवादीको आलोचनामा समय खर्चिएका लिङ्देनले ठूला दलकै कारण कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकालाई असफल तुल्याउने, विवादित बनाउने र जनतामा निराशा पैदा गर्ने काम भइरहेको उल्लेख गरेका छन् ।

बिचौलिया व्यापारी, भ्रष्ट कर्मचारीसंगको मिलेमतो र राजनीतिक नेतृत्वको संरक्षणमा देशमा भ्रष्टाचार व्याप्त भइरहेको र न्यायालय समेत भ्रष्टाचारमुक्त हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको भन्दै लिङ्देनले गणतन्त्र लुटतन्त्रमा रुपान्तरित भएको बताएका छन् ।

उनले राजालाई गाली गरेर राजनीति गर्ने दिन अब नभएको पनि बताए ।

उनले भने, ‘राजालाई गाली गरेर राजनीति गर्ने दिन हिजो थियो, राजालाई गाली गरेको भरमा केही दल र नेताहरू स्थापित पनि भए । विगतको अवस्था जस्तै ठानेर राजालाई गाली गरेर उठ्ने सपना कसैले देखिरहेको छ भने त्यो दिवासपना हुने र राजालाई गाली गरेर राजनीति धान्ने दिन गए ।’

आमसभालाई उपाध्यक्ष रोशन कार्की, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य एवं चर्चित नायिका रेखा थापा, धर्म संस्कृति समन्वय विभागका प्रमुख पुष्पराज पुरुष, धार्मिक अभियन्ता अभिषेक जोशी, केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारी लगायतले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर