मनमौजी कवि, एक वनफुल !
ह्विस्किको एउटा चारित्रिक विशेषता हुन्छ,– जति पुरानो भयो उति नै महँगो !
तर, जति उमेर बढ्यो उति युवा हुन्छ कि हुन्न मानिस ? बलिउड अभिनेता देव आनन्दलाई एक पटक कुनै पत्रकारले सोधे, ‘तपाईं आफूभन्दा निक्कै कम उमेरकी नायिकासँग रोमाान्टिक गीत गाउँदै सिनेमामा नाच्नुहुन्छ । त्यसका लागि तपाईँ बुढो हुनुभएन र ?’
देव आनन्दले तुरुन्तै जवाफ फर्काएका थिए, ‘आई एम नट ओल्ड, बट म्याच्युर्ड बाई एज ।’
कवि विप्लव प्रतीकलाई देव आनन्दको जवाफ घत लाग्छ ।
सेतै फुलेको कपाल छ । ती सेता कपाललाई सम्हालेर एक ठाउँमा बिटा बनाएको सानो क्लिप छ । हिउँले छोपिएको धुपीको रुखजस्तो टाउको बोकेर साइकल कुदाइरहेका प्रतीक सहरका गल्लीहरुमा भेटिइरहन्छन् । सानो झोलामा टिटी बल र ब्याट बोकेर कुदिरहेका भेटिन्छन् । टेनिस बोर्डमा चेक सट हानिरहेका भेटिन्छन् ।
प्रतीकको सेतै फुलेको कपाललाई मात्रै आधार मान्ने हो भने बूढो भइसके । प्रतीकको सक्रियतालाई आधार मान्ने हो भने युवा नै छन् । भर्खरै मात्र साइक्लिङ गर्दै काठमाडौंबाट चितवन पुगे एकजना भाइसँग । बाटाका उकाली–ओरालीहरुमा साइकलको पाइडल चालाउँदै चितवन पुगे । रिफ्रेस भए । अनि काठमाडौं फिरे ।
‘तपाईंको उमेर सोध्दा त विच्किनुहुन्छ होला है दाइ ?,’ कुराकानीको सुरुवात नै उमेरबाट गरेँ ।
‘पहिला त विच्किन्थेँ, अचेल ठाउँ हेरी जवाफ दिन्छु । मान्छेसँग त्यही उमेर, घर, ठेगानाको खुलदुली हुनेरहेछ । उनीहरुको जिज्ञासा पनि जायज छ । समाज त्यस्तै हो । प्रायः मैले दिने जवाफ भनेको, ‘आइ एम एज ओल्ड एज दिस युनिभर्स एण्ड आइ एम एज योङ एज दिस अर्थ’ हो ।’
कहिलेकाहीँ मान्छेहरुले चित्त नबुझाउन सक्छन् प्रतीकको यो रेडिमेड जवाफसँग । भन्छन् नि, ‘तन बूढो भए पनि मन बूढो हुँदैन’ ।
प्रतीकलाई भने ‘तन…मन’ को जवाफ उछृंखल लाग्छ, ‘मलाई उछृंखल लाग्नुमा मेरो नजरिया पनि हुनसक्छ । त्यसभित्रको अर्थ नबुझेको हुनसक्छु ।’
उमेरको जुन अंक हुन्छ, त्यसलाई सम्झन चाहँदैनन् प्रतीक । उमेरको अंकगणितको हिसाबकिताब गरिराख्नु पनि छैन उनलाई । अंकगणितको वासलात मिलाइराख्नु पनि छैन उनलाई ।
गम खाएर बोल्छन्, ‘उमेर पुगेपछि कुन वेला जाने लेखिएको छ, म जान्छु । तर, जानेवेला मलाई रिमाइण्ड गर्ने त्यो अंक मैले याद गरेको छैन । बिर्सिएको छु । सम्झिएँ भने त्यसले मलाई मिडलाइफ क्राइसिस ल्याउनसक्छ । यौन कुण्ठित भएर नचाहिने काम गर्नसक्छु । अथवा उमेरको अंकले तर्सायो भने म भ्रष्ट पनि हुनसक्छु ।’
अंक नसम्झिएको भन्दा मान्छेले ‘पाखण्डी’ भन्ला कि भन्ने भय पनि छ प्रतीकलाई । तर, त्यो भयभन्दा धेरै पर अंकले केही फरक नपार्ने अवस्थामा आफू पुगिसकेको बताउँछन् । उमेरलाई ‘सिर्फ अंक’ मानेर टारिदिन्छन् । दिमागमा ‘अंक’लाई आउँनै दिँदैनन् । ऊर्जालाई कम हुनै दिँदैनन् ।
साइकल लिएर चितवन जाँदा साथीभाइले प्रतीकलाई भनेका थिए, ‘यस्तो लहडी काम किन गरेको ?’
यी सवालभन्दा निकै पर प्रतीक साइकल कुदाइरहेका थिए । सवाललाई काठमाडौंमै छाडेर गिफ्ट स्वरुप पाएको साइकलसँग चितवन पुगिसकेका थिए ।
फेरि जाने योजनामा पनि छन् जनकपुर या मधेशका कुनै गाउँमा ।
आफूमा भएको ऊर्जालाई बाधा हुने ‘उमेरको सोच’ दिमागमै ल्याउन दिँदैनन् ।
उमेरलाई दिमागमा नल्याए पनि कहिलेकाहीँ अवचेतनमा ‘उमेर आतंक’को घनले हिर्काउन सक्छ नि ! सधैंभरि चेतनाले मात्रै मानिसलाई डो¥याउन सक्दैन ।
प्रतीकको जवाफ छ,– ‘त्यस्तो भए त कुनामा लुकेर खिन्न भएर उदास रहन्थेँ नि ! मेरो चेतन र अवेचतनले एकै काम गर्छ । त्यसको उदाहरणबारे अरु कुनै बेला कुरा गरुँला ।’
‘त्यस्तो पनि सम्भव रहेछ है ?,’ शंशयपूर्ण सवाल थियो प्रतीकलाई ।
त्यसका लागि सोचको साधना आवश्यक भएको बताउँछन् उनी ।
०००
‘लेखान्त, भाग्यमा विस्वास गर्नुहुन्छ ?’
हिन्दुस्तानका एक अज्ञेय नामक लेखकले भनेका छन्, ‘हरेक क्रान्तिकारी अन्तमा गएर नियतीमा विस्वास गर्न थाल्छ ।’
अज्ञेयबाट प्रेरित भएको त आफूलाई ठान्दैनन् प्रतीक । तर, आफ्नै जीवनको चक्र हेर्दा कताकता विस्वास गर्छन् । कवि बन्नका लागि हिँडेका थिएनन्, कवि भए । घर खोजेका थिएनन, वर्षौं कोठाभाडामा बसेका थिए, घर भयो । असल साथीहरु होस् भन्ने लालसा पालेका थिएनन्, तर थुप्रो ‘क्लोज टु माइ हर्ट’ बने ।
प्रतीक सुनाउँछन्, ‘मैले सबै पाएको छु । मन पर्ने साथी पाएको छु । मन हर्ने कुरा पाएको छु ।’
केही समयअघि उनलाई एउटा साइकल किन्न मन थियो । त्यसैताका उनले एउटा संस्मरण लेखेका थिए । त्यही संस्मरण प्यांक बाइकका तिरेक मानन्धरले पढेर उनलाई साइकल नै गिफ्ट दिए । कसैले त्यही गिफ्ट गरिरहेका हुन्छन् उनलाई, जुन उनले चाहेका हुन्छन् । तर, गिफ्टै पर्खाइमा पनि बस्दैनन् । गिफ्टकै तिर्खामा पनि बस्दैनन् । तैपनि कसोकसो पाइरहेका हुन्छन् ।
‘मान्छेहरुले यो धनी छ, यसले साइकल चढ्छ भन्छन् । तर त्यसो होइन,’ प्रतीक सुनाउँछन्, ‘मलाई त कस्मसले केयर गरिरहेको रहेछ । खाली मैले गर्नुपर्ने चाहिँ म जुन बाटोलाई सही ठान्छु, त्यही बाटोमा हिँडिरहनुपर्ने रहेछ । तर, मैले हिँडिरहेको बाटो अरु कसैलाई गलत पनि लाग्न सक्छ ।’
प्रतीक आफूलाई ‘वनफूल’ भन्ठान्छन् । जसको कुनै माली हुँदैन । बीउ कसले छ¥यो, कसैलाई थाहा हुँदैन । त्यस ठाउँमा बाहेक अन्य ठाउँमा कतै पाइँदैन । त्यो फूलको नाम पनि कसैलाई थाहा हुँदैन । जो उम्रन्छ मालीविना, फक्रिन्छ र ओइलिएर झर्छ । माटोबाट आएको थियो, माटोमै मिल्छ । जसको सौन्दर्यको व्याख्या गर्ने कविहरु त्यहाँ पुगेका हुँदैनन् ।
प्रतीक भन्छन्, ‘त्यो चाहिँ म हो भन्ने महसुस हुन्छ मलाई । कुनै कुराको अपेक्षा राख्दिन म त्यस बनफूललेझैँ । जानेर कसैको चित्त दुखाउन जान्दिनँ म । शायद त्यसैले अनपेक्षित रुपमा मैले खुशी मिल्ने कुरा पाइरहेको हो कि ?’
चित्त नदुखाएजस्तो लागे पनि चित्त दुखाएका त होलान् प्रतीकले । कसैलाई ‘हर्ट’ गरेका पनि होलान् । प्रतीकसँग दुःखी हुने मान्छे पनि होलान् । तैपनि उनलाई लाग्छ, जानेर कसैेको चित्त दुखाएको छैन ।
आनी छोइङले गाएको गीत जस्तो, ‘मेरो पैतालाले किरै नमरोस् ।’
०००
संस्मरण लेखेर साइकल गिफ्ट पाउने प्रतीकसँग शुभचिन्तक कति होलान् ? साथीभाइ कति होलान् ? जुन सम्बन्धबाटै अनपेक्षित रुपमा खुसी मिलिरहेको हुन्छ प्रतीकलाई । कसैको मन दुखाउन नचाहने प्रतीकका नजरमा सम्बन्ध भनेको के होला ? सम्बन्धलाई कसरी हेर्लान् ? सहरमा त सम्बन्धलाई जोगाउन र बचाउन नसकेर दुःखी भएका धेरै मानिस भेटिन्छन् ।
प्रतीकको जोसँग सम्बन्ध छ, उसँग इन्टिमेसी हुन्छ । र, एउटासँग जुन कारणले इन्टिमेसी भएको छ अर्कोसँग अर्कै कारण हुन्छ । त्यसैले उनी हरेक कारणलाई जतनले चलाउँछन् । भन्छन्, ‘जोसँग मेरो दोहोरो चिनजान छ, सबैसँग इन्टिमेट रिलेसन छ, कमसेकम मेरो तर्फबाट ।’
सम्बन्धलाई कसरी मेनटेन र छाँटकाँट गर्ने भनेर पहिला मान्छेको आँखामा हेर्छन् ।
सुनाउँछन्, ‘मप्रति कसैको हृदयमा प्रेमभाव छ, त्यो उसको आँखाले थाहै नपाइकन भनिदिन्छ । मप्रति कसैको सम्मान छ, त्यो पनि आँखाले नै भनिदिन्छ ।’
सम्बन्धलाई ग्रान्टेडको रुपमा पनि लिँदैनन् । बरु त्यसलाई कसरी जोगाउने, कसरी अझैं स्नेहपूर्ण बनाउने भनेर लाग्छन् ।
प्रतीकको सम्बन्धलाई सन्तुलनमा राख्ने आफ्नै दृष्टिकोण छ,– ‘कोही मान्छेबाट मप्रति स्नेह हुने काम हुँदा त्यो मान्छेलाई टेकन फर ग्राण्टेड लिएँ भने मेरो सम्बन्ध टुट्दै जान्छ । कसैको स्नेहलाई कसरी कदर गर्ने भन्ने तरिका हुन्छ । उसले थाहै नपाइकन मन परेको उपहार दिने अथवा के गरिदिँदा ऊ खुसी हुन्छ भनेर ख्याल राख्न जान्नुपर्छ । तर, त्यसको बदलामा केही अपेक्षा नराख्ने । साथै सम्बन्धलाई कदर गर्ने । तर, मैले कदर गरिरहेको छु, त्यसैले यो सम्बन्ध टिकेको छ भनेर सोचियो भने त्यस्तो सोच्ने बित्तिकै सम्बन्ध भत्किसकेको हुन्छ ।’
प्रतीकको सम्बन्धहरु विस्तारित छन् । उनले व्यक्तिगत रुपमा सम्बन्धलाई हेर्ने आयाम छन् । कतिपय सम्बन्धमा भने सहज महसुस नगरेर, रमाइलो नमानेर, अन्जानवश कसैले सम्बन्धलाई ठेस पु¥याएर उनले दुरी पनि बनाएका होलान् !
भन्छन्, ‘जोसँग मैले सम्बन्ध राखिरहेको छु, उसले निजी उद्देश्य पूर्तिका लागि राखिरहेको छ भने त्यहाँ बस्दिनँ । मलाई लागेको कुरा उसलाई भन्छु । दोस्रोपटक भन्छु । किनभने मलाई एकपटक गाँसिसकेको सम्बन्ध तोड्न मन लाग्दैन । त्यसमा मेरो समय लगानी भएको हुन्छ । तेस्रोपटक पनि त्यस्तै हर्कत भयो भने जति कोमल छु, उत्ति नै बज्र भएर निस्कन्छु । त्यसपछि लाखौंपटक कोसिस गरे पनि म जोडिन सक्दिनँ । मेरो हृदय टुटिसकेको हुन्छ ।’
त्यसरी हृदयको तारै टुटाएर जाने मान्छे एक जना छन् प्रतीकको । अर्का एकजना पनि थिए, तर समयले फेरि जोडाईदिएको छ उनलाई ।
प्रतीक थप्छन्, ‘केटीहरुसँगको सम्बन्धलाई लिएर चाहिँ मैले जीवनमा धेरै दर्द व्यहोरेको छु । मेरो कसैप्रति नराम्रो भावना छैन । सकेजति उनीहरुका निम्ती काम लागुँ, के दिन सक्छु भनेर सोच्छु । त्यो सोचले मलाई धेरै नै दर्द पनि भएको होला । त्यही कारण पनि होला, एउटा विन्दुमा पुगेर चटक्क भएपछि मेरो हृदयको तार चुडिँदो रहेछ । त्यसले मलाई पटकपटक धेरै गाह्रो भएको छ ।’
आफू दर्दको यात्रामा अझैं पनि भएको बताउँछन् । कहिलेसम्म दर्दको चपेटामा पर्नुपर्ने हो, उनैलाई थाहा छैन । कहिलेकाहीँ नियती यस्तै रहेछ भनेर चित्त बुझाउँछन् ।
भन्छन्, ‘कहिलेकाहीँ त ल सुसाइड गरिदिउँ न त लाग्छ । जिन्दगी के छ र भन्ने लाग्छ । सबै चिजबाट मुक्त भइदिउँ न त लाग्छ । तर, सबैले थाहा पाउने गरी किन मर्नुप¥यो ? डोरबहादुर विष्ट जसरी कसैले थाहा नपाउने गरी लापत्ता भइदिउँ लाग्छ ।’
प्रतीक एटा कविता पनि लेखेका छन्:–
मलाई मन छ म भएको कसैलाई थाहै नहोस्
मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस्
तर, त्यसो गरेर पाइला पाइलामा जीवनको परीक्षा दिन आएको मान्छे किन लापत्ता हुने ? आफैंलाई प्रश्न गर्छन् । आफ्नो आगमनको केही न केही अर्थ त होला नि !
प्रतीक फेरि सोच्छन्, ‘यो संसारमा मैले नखोजीकन आएको मेरो भौतिक उपस्थितिलाई खोस्ने अधिकार ममा छैन । चाहे सबैभन्दा असह्य पीडा नै भोग्न किन नपरोस् । जसरी मैले भोगेका पीडाहरु निश्चित समयमा बिलाएर गए, त्यसैगरी नयाँ आउने पीडाहरुको पनि म्याद हुन्छ, त्यो पनि गुज्रेर जानेछ ।’
०००