निर्वाचनको तयारीमा लाग्न गृहमन्त्री खाणको निर्देशन – Nepal Press

निर्वाचनको तयारीमा लाग्न गृहमन्त्री खाणको निर्देशन

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले तोकिएकै मितिमा चुनाव हुने बताउँदै प्रचारमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन गरेका छन् ।

शनिवार गृह जिल्ला रुपन्देहीको बुटवल तामनगर–फर्साटिकर सडकमा निर्मित दानव नदी पुलको उद्घाटन गर्दै उनले तोकिएकै मिति वैशाख ३० मा चुनाव हुने निश्चित भएकाले त्यसको तयारी लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।

सरकारले तोकिएकै मितिमा चुनाव हुने बताउँदै चुनाव हुन्छ की हुन्न भन्ने दोधारमा नरहन र चुनावको प्रचारमा जुट्न पार्टीका नेता कार्यकर्तालाई उनले निर्देशन गरे । नेता खाँणले अमेरिकी सहयोग परियोजना एमसिसी नेपालको हितमा भएको पनि बताए ।

उनले पार्टीका नेता कार्यकर्तालाई एमसिसी नेपालको हितमा रहेको भन्दै प्रचार गर्न पनि आग्रह गरे । एमसिसी नेपालको विद्युत् विकासमा कोशेढुंगा साबित हुने बताउँदै नेपालमा प्रशस्त विद्युत् उत्पादन गर्नसके इन्धनमा आयात प्रतिस्थापन गर्न सकिने भन्दै एमसिसीविरुद्ध फैलाइएको भ्रमलाई चिर्न उनले आग्रह गरे ।

गृहमन्त्री खाँणले बुटवलको मोतीपुर औद्योगिक क्षेत्र पूर्ववर्ती सरकारले जसरी अगाडि बढाएको छ, हुबहु कार्यान्वयन नहुने पनि बताए ।

उनले वर्षौँदेखि बसेकालाई व्यवस्थित गरेर मात्रै औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाइने बताए ।

लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले कोरोना महामारीका बिच पनि सरकारले विकासका काम नरोकेको बताउँदै समग्र लुम्बिनी प्रदेशको विकासको नेतृत्व लिन गृहमन्त्री खांणलाई आग्रह गरे ।

त्यस्तै गरी बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले समग्र जिल्लाको विकासको लागि सबै राजनीतिक दल मिलेर काम गर्नुपर्ने भनाई राखेका थिए ।

बुटवल उपमहानगरपालिकामा पर्ने तामनगर–फर्साटिकर सडकमा रहेको दानव दिनमा निर्माण सम्पन्न पुलको उद्घाटन गरिएको हो ।

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीका अनुसार तामनगर–फर्साटिकर सडकमा निर्माण सम्पन्न १२७ दशमलव १ मिटर लामो पुल निर्माणको लागि २०७४ असारमा अर्घाखाँची बागलुङ जेभीले ठेक्का लिएको थियो भने २०७७ माघमा निर्माण सम्पन्न भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर