सूर्य चिन्हको पार्टीले आमाको पक्षमा उभिनुपर्छः डा. पाण्डे – Nepal Press

सूर्य चिन्हको पार्टीले आमाको पक्षमा उभिनुपर्छः डा. पाण्डे

इटहरी। ‘कुन्तिका छोरा कर्ण अहिलेको जमानामा जन्मेका भए नागरिकता पाउँथे?’ इटहरीमा डा. विन्दा पाण्डेले प्रश्न गरिन् । सँगै अर्को प्रश्न थपिन, ‘सत्यावतिका छोरा वेदव्यासले अहिले जन्मेको भए आमाको नाममा नागरिकता पाउँथे?’

दर्शकहरुलाई नेपालमा आमाको नाममा नागरिकता बन्न हुने गाह्रोको कुरा कोट्याएर गम्भिर बनाउँदै पाण्डेले यस्ता प्रश्न गरिन् । प्रश्न लगत्तै उनले बाउ कर्ण र वेदव्यासका बाउ सूर्य मानिएको प्रसंग ल्याइन् ।

उनले थपिन्, ‘नेपालमा बाउ नभएका आमाको पक्षमा सूर्य चिन्हको पार्टी उभिनुपर्छ ।’ पाण्डेले कलम हुनेहरुलेकै इतिहास लेखिने भएकोले महिलाले कलम लिनुपर्ने र आफ्नो इतिहास बताउनुपर्ने पाण्डेले तर्क गरिन् ।

शनिबार इटहरीको एक होटलमा आयोजना भएको आफ्नो पुस्तक ‘धर्तीमाथिको दाबी’ कार्यक्रममा लेखक डा. विन्दा पाण्डेको पुस्तक विमर्शमा नेपाली महिलाको अंश,वंश देखि हिंसासम्मका विभिन्न कुराहरु भए ।

पुस्तकको टिप्पणीकार इटहरीकी चर्चित कवि टीका आत्रेय पौडेलले नेपालमा महिला हिंसा कहालीलाग्दो भएको भन्दै नाबालिका देखि वृद्धाहरु बलात्कार हुने क्रुर् नेपाली उदाहरण पेश गरिन् ।

तीन दशक अगाडि आफ्नी आमाले घर बाहिरबाट ढिलो आउन निषेध नगर्नेमा आफूले गर्नुपरेको बताउँदै उनले प्रश्न गरिन्, ‘तीस वर्ष अगाडि मेरी आमाले मलाई बाहिरबाट ढिलो आउँदा चिन्ता नलिनेमा मैले मेरी छोरीलाई चिन्ता लिने अवस्था कसरी आयो? समाज कसरी प्रश्चगमनमा गयो?’

महिला हिंसाका क्रुर् घटनाहरुका उदाहरण दिँदै उनले पुरुषकै बेइज्यत हुदाँ पनि पुरुषहरुको त्यसको विरोधमा जुलुस किन नआएको भनेर प्रश्न गरिन् ।कार्यक्रममा पुस्तकको बारेमा बोल्दै डा. रमेश घिमिरेले विन्दा पाण्डे नेपाली नारी आन्दोलनमा सडक र बौद्धिक दुवै मोर्चमा सफल भएको बताए ।

प्रमुख अतिथि डा. केदार पौडेलले महिलाले धेरै सहेकैले महिलाहरु पछि परेको तर्क गर्दै अब विद्रोही हुनुपर्ने बताए ।
नेपाल बुद्धिजिवी परिषद् सुनसरीका अध्यक्ष भूपेन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का दुई उपमहानगरपालिका इटहरी र धरानका उपप्रमुख लक्ष्मी गौतम र मन्जु भण्डारीको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै इटहरीकी उपमेयर गौतले पाण्डेको किताबले नेपाली महिला आन्दोलनलाई नजिकबाट बुझ्न सहयोग हुने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर