जसपा लुम्बिनीको विवाद: आफ्नै मन्त्रीलाई फिर्ता बोलाउन निवेदन – Nepal Press

जसपा लुम्बिनीको विवाद: आफ्नै मन्त्रीलाई फिर्ता बोलाउन निवेदन

रुपन्देही । जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेकी सुमन शर्मा रायमाझीलाई पदमुक्त गर्न उनकै पार्टीको एक महिला नेतृले निवेदन दर्ता गराएकी छन् ।

मन्त्री शर्मालाई पदमुक्त गराउने गरी पार्टीभित्रैबाट गरिएको यो चलखेलले जसपाभित्रको विवाद सतहमा आएको छ । यो प्रकृयामा गएसँगै दुई खेमामा रहेका जसपाका नेताहरु थप टाढिएका छन् ।

लुम्बिनी प्रदेशका कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरी आफ्नो नाम समावेश गर्न रुपन्देहीकी रुपा थापा क्षेत्रीले माग गरेपछि उनीहरु बीचको विवाद छताछुल्ल भएको हो ।

जनता समाजवादी पार्टी नेपालबाट लुम्बिनी प्रदेशसभामा समानुपातिकतर्फ आफ्नो नाम बन्दसूचीमा रहेको र सर्वोच्च अदालतको आदेशपछि पनि रायमाझीलाई पदमुक्त नगरिएको भन्दै थापाले रायमाझीलाई निर्वाचित सूचीबाट हटाएर आफ्नो नाम समावेश गर्न माग गरेकी हुन् ।

थापाले रायमाझीको स्थानमा आफूलाई समावेश गर्न माग गर्दै लुम्बिनी प्रदेशसभा सचिवालय, जनता समाजवादी पार्टी नेपाल र निर्वाचन आयोगमा समेत निवेदन दिएकी छन् ।

लुम्बिनी प्रदेशमा यसअघि एमालेका शंकर पोखरेल नेतृत्वको सरकारमा पार्टीको निर्णयबिना नै सहभागी भएको भन्दै रायमाझीसहित अन्य तिन जनालाई पार्टीले कारबाही गरेको थियो । सो कारबाहीविरुद्ध चारैजनाले अदालतमा मुद्दा दायर गरेका थिए ।

तर, रायमाझीले अदालतमा मुद्दा चलिरहेको बखत क्याम्प परिवर्तन गरी वर्तमान गठबन्धन सरकारमा समावेश भएपनि अदालतको तारेख गुजारेपछि गत पुस ११ गते सर्वोच्च अदालतको फैसलाले रायमाझीको मुद्दा तामेलीमा राखिदिएको थियो ।

सर्वोच्च अदालतको फैसलापछि रायमाझी स्वतः पदमुक्त हुनुपर्ने भएपनि लुम्बिनी प्रदेश सरकार, प्रदेशसभा सचिवालय र जनता समाजवादी पार्टी नेपालले समेत उनलाई पदमुक्त गरेको छैन । सर्वोच्चको फैसलाको अवज्ञा गर्दै मन्त्री पदमै रहेकी रायमाझीलाई पदमुक्त गर्न थापाले माग गरेकी हुन् ।

२०७८ साल वैशाख २० गते तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएसँगै उनलाई जनता समाजवादी पार्टीले प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको थियो ।
जनता समाजवादी पार्टीको पत्रका आधारमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले रायमाझीसँगै तत्कालीन सरकारमा समावेश भएका सो पार्टीका अरू तीन जनालाई पनि पदमुक्त गरेका थिए ।

सभामुखले कानुन विपरीत पदमुक्त गरेको भन्दै उनीहरू सबैले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । जसपा लुम्बिनीमा पार्टीको शीर्ष नेता डाक्टर बाबुरम भट्टराई तथा उपेन्द्र यादव समूहबीचको लडाई रहेको छ । केन्द्रदेखि नै बनेको अलग अलग समूह प्रदेश हुँदै जिल्ला तहमै पुगेको छ ।

 


प्रतिक्रिया

2 thoughts on “जसपा लुम्बिनीको विवाद: आफ्नै मन्त्रीलाई फिर्ता बोलाउन निवेदन

  1. रुपाजी तपाइँलाई कसैको लह लहमा लागेर हो की तपाइँ आफैले यो काम गर्नुभएको हो यदी तपाइँ आफै सोचेर गर्नुभएको हो भने तपाइँ हतार नगनुस पार्टीमा राम्रो काम गर्नुस् तपाइको पालो आउँछ धैर्य गर्नुसयदी तपाइँ अरुको लहमा लागेको हो भने तपाइको राजनीतिकोभबिस्य रहन नसक्ने पनि हुन सक्छ यो मेरो सुझाब हो अन्याथा नमान्नु होला ।

  2. रुपाजी दुई चार महिनाको लागी मरिहत्ते गर्नहुदैन पार्टीलाई बिथहल्नुहुदैन तपाइको पालो फेरि आउछ र एस बिसयमा पार्टी मुख्यलयले सोच्नु उपयोक्त हुन्छ जस्तो लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर