ओखलढुंगामा एमाले हराउन कांग्रेस-एस तालमेलको पक्षमा, माओवादी पर्ख र हेर – Nepal Press

ओखलढुंगामा एमाले हराउन कांग्रेस-एस तालमेलको पक्षमा, माओवादी पर्ख र हेर

ओखलढुंगा । स्थानीय चुनाव नजिकिँदै जाँदा ओखलढुंगाका सबै राजनीतिक दल चुनावी अभियान लिएर मतदाता तथा कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।

जिल्लामा एकातिर गठबन्धन सरकारमा रहेका दलहरूबीच नै चुनावी तालमेलको कुरा चर्चा चलिरहेको छ । एमाले एक्लै भिड्ने तयारीमा जुटेको छ । जनता समाजवादीले भने एमालेसँगको तालमेलको सम्भावनालाई भने जीवितै राखेको छ ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको शुक्रबार बसेको पहिलो पूर्ण बैठकले स्थानीय चुनावमा गठबन्धन नगर्ने निर्णय गरेको छ । अहिलेसम्मको अवस्थामा आफ्नै तागतमा चुनाव भिड्ने निर्णय भएको जिल्ला कमिटी सदस्य नवराज खड्काले बताए । तर, उसले केन्द्रको निर्देशन हेर्ने भन्दै गठबन्धनका लागि ठाउँ राखेको छ ।

भविष्यमा केन्द्रबाट चुनावी तालमेलको कुरा आए केही स्थानमा चुनावी तालमेलको सम्भावना भए पनि अधिकांश स्थानमा पार्टी एक्लै चुनावमा जाने नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश १ अर्थ समिति सभापति मोहनकुमार खड्का ‘हिमशिखर’ बताउँछन् ।

‘जिल्ला बैठकले पनि चुनावमा एक्लै जाने निर्णय गरेको र त्यही तयारीमा नेता तथा कार्यकर्ता परिचालन गरिएको छ’, उनले भने ।

यता सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी भने तालमेलको पक्षमा छन् । ८ वटा स्थानीय तहमध्ये २०७४ को चुनावमा सबैभन्दा ४ स्थानीय तहको नेतृत्व हत्याएको कांग्रेस एमालेलाई ‘क्लीन स्वीप’ गर्नै भए पनि गठबन्धन बनाएर अघि जाने सुरमा देखिन्छ ।

कांग्रेस ओखलढुंगाका सभापति तेजेन्द्र खनाल भन्छन्, ‘एमालेको जग भत्काउनका लागि भए पनि सरकारमा रहेका दलहरूसँग तालमेल गरेर अघि बढ्नुपर्छ ।’

स्थानीयस्तरमा कार्यकर्ताको भावना बुझेर भूगोल विशेषताअनुसारको चुनावी तालमेलको जिम्मा सम्बन्धित स्थानीय तहले नै गर्ने सुनकोशी गाउँपालिका अध्यक्ष एवं कांग्रेस नेता रुद्रप्रसाद अधिकारीले बताए ।

नेकपा एस पनि एमालेसँग ‘रिस’ फेर्न सबैतिर हराउने गरी कांग्रेसँग गठबन्धनको तयारीमा छ । कांग्रेस र आफूहरू गठबन्धन गरेर जाने तयारीमा रहेको नेकपा एसका जिल्ला अध्यक्ष हंसराज वाग्लेले बताए ।

चैत १० गते सत्ता साझेदार दलको बैठक बस्ने र त्यहाँ तालमेलको कुरा नमिले आफूहरू एमालेसँग मिल्ने तयारीमा लागेको जनता समाजवादीका जिल्ता नेता नरेश नरेश नेम्वाङले बताए ।

नेकपा एमालेले विपक्षी गठबन्धनसँग भिड्ने र स्थानीय, प्रदेश, संघ तीनवटै निर्वाचनमा आफू पहिलो रणनीतिका साथ अभियान थालेको बताएको छ ।

चुनावी अभियानको क्रममा मतदाता र कार्यकर्ता उत्साहित देखिएकाले अघिल्लो निर्वाचनमा अरु दले जितेका स्थानीय तह र वडामा पकड जमाउन सकिने नेकपा एमाले ओखलढुंगाका अध्यक्ष अध्यक्ष शंकर कटवाल बताउँछन् ।

२०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले खिजिदेम्बा, सुनकोशी, चम्पादेवी र मानेभञ्ज्याङ गाउँपालिका जितेको थियो ।

लिखु, मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिका नेतृत्व एमालेले जितिको जितेको छ ।

चिशंखुगढी अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर