काठमाडौं महानगरमा महिला मेयरको चर्चा, कसलाई बनाउला कांग्रेसले उम्मेदवार ? – Nepal Press

काठमाडौं महानगरमा महिला मेयरको चर्चा, कसलाई बनाउला कांग्रेसले उम्मेदवार ?

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले केही दिनअघि सामाजिक सञ्जालमार्फत अब काठमाडौं महानगरपालिकामा महिला मेयर बनाउनुपर्ने धारणा व्यक्त गरिन् ।

काठमाडौं महानगरको मेयरको चर्चा धेरै भएको, विगतमा धेरै जना मेयर भएको तर पिएल सिंहको पालामा मात्रै केही सुधार भएको दाबीसहित सिंहले ‘पुरुष मेयर धेरै हेर्‍यौँ अब महिला मेयर हेरौँ रोजौँ’ भन्ने नारा नै अगाडि सारिन् ।

काठमाडौं क्षेत्र नम्बर ७ बाट महासमिति सदस्य रहेकी सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् । विगतमा नेविसंघको राजनीति गरेकी सिंह अहिले पार्टी राजनीतिमा सक्रियता बढाउँदैछिन् ।

काठमाडौं महानगरको भावी मेयरबारे चर्चामा सहभागी हुँदै सिंहले महिलालाई मेयर बनाउनुपर्ने धारणा राखेसँगै कांग्रेसवृत्तमा महानगर हाँक्ने महिला नेतृबारे चासो सुरु भएको छ ।

हरिप्रभा खड्गी 

काठमाडौं महानगरको उपमेयर रहेकी हरिप्रभा आगामी कार्यकालबाट काठमाडौंको मेयर बन्न चाहन्छिन् । उपमेयरका रूपमा आफूले गरेको कामको मूल्याङ्कन गरेर पार्टीले जिम्मेवारी दिनुपर्ने उनको भनाई छ ।

नेपाल महिला संघको केन्द्रीय सदस्य रहिसकेकी खड्गीले अघिल्लो निर्वाचनमा एमालेसमेतको समर्थन पाएका राप्रपा उम्मेदवार राजाराम श्रेष्ठलाई २४ हजारभन्दा बढी मतान्तरले पराजित गरेकी थिइन् ।

टुँडिखेल संरक्षण, सम्पदा पुनर्निर्माण , परम्परागत धरोहरको संरक्षण लगायत मुद्दामा खड्गीले प्रभावकारी काम गरेकी थिइन् । अघिल्लो पटक कांग्रेसले मेयरसहित अधिकांश वडामा हार्दासमेत विजयी भएका कारण यस पटक मेयरमा खड्गीको दाबी स्वभाविक देखिन्छ ।

सिर्जना सिंह

काठमाडौंमा अब महिलालाई मेयर बनाउन प्रस्ताव गर्ने सिर्जना सिंह आफै पनि भावी मेयरको चर्चामा छिन् । कुनै बेला बागबजारको पिके क्याम्पसमा नेविसंघको सक्रिय राजनीति गरेकी सिर्जना गणेशमान सिंहको बुहारीका रूपमा चाक्सी बारी भित्रिएपछि भने कम सक्रिय थिइन् । यद्यपि काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएकी सिर्जना सामाजिक सञ्जालमार्फत राजनीतिक विषयमा धारणाहरू व्यक्त गरिरहन्छिन् ।

राजनीतिक पृष्ठभूमि र राजनीतिक परिवारमै हुनुको कारणले सक्रिय राजनीतिमा अझ अग्रसर हुन सिर्जनालाई शुभचिन्तकहरूको सुझाव छ ।

‘उहाँले लामो समय चाक्सीवारिमा रहेर नेपालको राजनीतिक आन्दोलनमा सहयोग गर्नुभयो । उहाँ आफै विगतमा सशक्त नेता हुनुहुन्थ्यो । अब उहाँलाई उपयुक्त भूमिका दिन कसैले अप्ठ्यारो मान्नुपर्दैन’, चाक्सी बारी निकट एक नेताले भने । ती नेताका अनुसार स्थानीय तहको आगामी निर्वाचनमा काठमाडौंको मेयर बन्न कार्यकर्ताबाटै सिर्जनालाई सुझाव दिने गरिएको छ ।

सपना जोशी 

कुनै बेला नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहेकी सपना जोशी लामो समय प्रत्यक्ष राजनीतिमा सक्रिय रहिनन् । आफ्ना पति कांग्रेस नेता नवीन्द्रराज जोशीको राजनीतिक यात्रामा सहयोगी रहेकी सपना नविन्द्रको निधनपछि सक्रिय राजनीतिमा होमिएकी छिन् ।

कांग्रेसको १४ औँ महाधिवेशनमा उनी काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्विरोध महासमिति सदस्यमा निर्वाचित भएकी छन् । पार्टीभित्रका शुभेच्छुक र समर्थकहरूले राजनीतिक सक्रियता बढाउन सपनालाई सुझाव दिने गरेका छन् । उनी पनि पार्टीले दिएको जिम्मेवारीका लागि तयार रहेको बत्ताउँछिन् ।

उनी भन्छिन्, ‘मेरोबारे धेरैलाई थाहा छ । विद्यार्थी जीवनमा राजनीति गरे पनि लामो समय म सक्रिय राजनीतिमा भइनँ । अहिले नेता कार्यकर्ताहरूले अघि बढ्नुपर्छ भन्नुभएको छ । काठमाडौंको मेयर मात्रै होइन पार्टीले आवश्यक ठान्छ भने जुनसुकै भूमिका निर्वाह गर्छु भन्ने लागेको छ ।’

काठमाडौंलाई व्यवस्थित र सुविधा सम्पन्न सहर बनाउन जसले जिते पनि निष्ठाका साथ काम गर्नुपर्ने उनी बताउँछिन् ।

अरू को को छन् दाबेदार ?

काठमाडौं महानगरको मेयरका लागि कांग्रेसबाट आधा दर्जन बढी नेताहरूको नाम चर्चामा छ । कांग्रेसको काठमाडौं महानगर समितिका सभापति नीलकाजी शाक्य मेयर बन्ने दौडमा छन् । उनी काठमाडौं २० का वडा अध्यक्ष समेत हुन् ।

महानगरकै सबैभन्दा ठूलो वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाल पनि महानगर हाँक्न कस्सिएका छन् ।

महानगर सभापतिमा पराजित युवा नेता प्रगतिमान रञ्जित र प्रदेश सांसद नरोत्तम वैद्यको दाबी पनि काठमाडौंको मेयरमा रहेको छ ।

अर्कोतिर कांग्रेसको काठमाडौं महानगर समितिका सचिव सुसन वैद्यलेपनि आफूलाई महानगर हाँक्ने उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् ।

महानगर कांग्रेसको प्रचार समिति संयोजक समेत रहेका वैद्य खुल्ला खुलामञ्च, कङ्क्रिटरहित कमलपोखरी लगायत अभियानका मुख्य अभियन्तासमेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर