मेयरको टिकटमा दाबी गर्दै हरिप्रभाले भनिन् : रैथाने नेवार हुँ, सबै कुरामा सक्षम छु (भिडिओ) – Nepal Press

मेयरको टिकटमा दाबी गर्दै हरिप्रभाले भनिन् : रैथाने नेवार हुँ, सबै कुरामा सक्षम छु (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले आगामी स्थानीय तहको चुनावमा कांग्रेसबाट मेयरको टिकटमा सार्वजनिक दाबी गरेकी छन् ।

आज एक कार्यक्रममा बोल्दै उनले आफू हरेक हिसाबले मेयरमा उठ्न योग्य रहेको बताइन् ।

वैशाख ३० गते मलाई आफ्नो पार्टीबाट मेयरको टिकट चाहिन्छ,’ खड्गीले भनिन्, ‘म के मा असक्षम छु ? म हरेक कुरामा सक्षम छु ।’

उनले महानगरपालिकाको प्रमुख र उपप्रमुखलाई दाँजेर हेर्नसमेत चुनौती दिइन् । धेरै कुरामा आफूले ‘डिफेन्ड’ गरिरहेको उनले बताइन् ।

‘रानीपोखरीदेखि वसन्तपुरमा मैले स्ट्यान्ड लिएँ । किनकि सम्पदा भनेको हाम्रो देशको अमूल्य सम्पत्ति हो । अमूल्य सम्पत्तिलाई प्रहार गर्न पाइँदैन भनेर स्ट्यान्ड लिएँ,’ खड्गीले भनिन् ।

उनले थपिन्, ‘महिलाले घर चलाउन सकिन्छ भने महिलाले देश चलाउन सक्दिनन् ? हामी एस म्यान हुनका लागि मात्रै राजनीतिमा निस्केको होइन ।’

खड्गीले आफ्नो राजनीतिक यात्राको चर्चा पनि गरिन् ।

‘म यहीँकै रैथाने हो । जातिले पनि नेवार हो । मेरो श्रीमान् प्रोफेसर हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, तँलाई खान पुगेन ? के चाहियो ? तिम्रो आवश्यकता के छ म पुर्‍याउँछु भन्नुहुन्छ । तर, खान, लाउन, सिफनको सारी लगाउन, हिराको टप लगाउन हामी जन्मेको होइन । हामी यो देशका लागि केही गर्न सक्छौँ भनेर अघि बढेका छौँ ।

खड्गीले हरेक पार्टीले ५० प्रतिशत मेयरको टिकट महिलालाई दिनुपर्ने उल्लेख गरिन् । प्रमुख पदमा नपुग्दा महिलाले राम्ररी क्षमता देखाउन नसकेको पनि उनको टिप्पणी थियो ।


प्रतिक्रिया

2 thoughts on “मेयरको टिकटमा दाबी गर्दै हरिप्रभाले भनिन् : रैथाने नेवार हुँ, सबै कुरामा सक्षम छु (भिडिओ)

  1. हिम्मत गर्नुभएको छ । टिकट प्राप्त होस र जित पनि 😍

  2. अग्रिम शुभकामना 🎁

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर