महानगरकी उपमेयरको प्रस्ताव : घरमा काम गर्ने महिलालाई सरकारले गृहणी भत्ता दिनुपर्छ (भिडिओ) – Nepal Press

महानगरकी उपमेयरको प्रस्ताव : घरमा काम गर्ने महिलालाई सरकारले गृहणी भत्ता दिनुपर्छ (भिडिओ)

महिलाहरु परिवारभित्रै सुरक्षित छैनन्’

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले घरको काम गर्ने सबै महिलाहरुलाई सरकारले गृहणी भत्ता दिन सुरु गर्नुपर्ने प्रस्ताव गरेकी छन् । कामअनुसारको पारिश्रमिक नपाउँदा महिलाहरु अगाडि बढ्न नसकेको उनले बताइन् ।

काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उपमेयर खड्गीले यस्तो प्रस्ताव राखेकी हुन् । आफूले यो प्रस्ताव केन्द्र सरकारसँग समेत उठाउने उनको भनाइ छ ।

उपमेयर खड्गीले भनिन्, ‘हामी महिला बिहानदेखि बेलुकासम्म काम गर्छौ । तर खोइ त्यसको पारिश्रमिक ? मैले यो आवाज मन्त्रीहरुसम्म पुर्‍याएको छु ।’

केन्द्र सरकारले मासिक एक सयबाट पारिश्रमिक दिन सुरु गर्दा पनि हुने उनको सुझाव छ ।

‘बिहानदेखि बेलुकासम्म काम गर्ने महिलालाई के गर्न सकिन्छ भन्ने सोच्नुपर्छ । मेरो प्रस्ताव के छ भने विसुद्ध घरमा खान पकाएर खुवाउने महिलालाई गृहणी भत्ता दिनुस । सय रुपैयाँबाट सुरुवात गर्नुस । यसमा पालिकाले क्षमताअनुसार थपौंला । वृद्ध भत्ता पनि सय रुपैयाँबाटै सुरु गरेको त हो नि । त्यसैले अब गृहणी भत्ता चाहिन्छ ।’

‘दुरदराजको कुरा गर्ने हो भने श्रीमान र श्रीमतीबीच झगडा भएको घरमा महिलालाई कति गाह्रो हुन्छ । छोरालाई हनहनी ज्वरो आएको छ, तर आमासँग औषधि किन्ने पैसा हुँदैन । आमालाई गृहणी भत्ता दिएको भए दौडेर सिटामोल किन्न जान्थिन् होला । तर, आमासँग एक रुपैयाँ पनि नहुँदा छोरा मृत्यूको मुखमा पुग्छ । त्यस्तो बेला आमालाई कति पिडा हुन्छ ? त्यो जन्माउनेलाई मात्र थाहा हुन्छ । यदि गृहणी भत्ता दिएको भए यो स्थिति आउने थिएन ।

‘डाटा कलेक्सन गरेर विसुद्ध घरको काम गरेको महिलालाई भत्ता दिनुपर्छ । जहिले पनि श्रीमानसँग माग्दा कति पिडा हुन्छ ? अब सुरुवात गर्नुपर्छ । पहिले नेपाल सरकारले सुरुवात गर्नुपर्यो अनि पालिकाले ।

महिलाकै योगदानले पुरुषहरु ठूलो पदमा पुग्ने तर श्रीमतीको नाम नआउने गरेको खड्गीले गुनासो गरिन् ।

‘त्यही महिलाको श्रीमान प्रधानमन्त्री बन्ने तर श्रीमतीको नाम नआउने ? बिहानदेखि बेलुकासम्म गृहणीले सेवा नगरेको भए त्यो ठाउँमा पुग्न सकिन्थ्यो ?’ उनको प्रश्न छ ।

उनले थपिन्, ‘हामी महिला घरबाट निस्किनुपर्यो भने बिहानदेखि सबै काम सकेर आफू पनि चटक्क परेर निस्किन्छौं । हामीलाई भगवानले दिएको देन छ नि । पुरुषले मेकअप गरेको सुहाउँदैन रु तर, हामीलाई वरदान दिएको छ ।’

खड्गीले महिलाहरु आफ्नै परिवारभित्र सुरक्षित नरहेको टिप्पणी गरिन् । घरदेखि स्कुलसम्म हुने महिला हिंसा रोक्नका लागि चेतनास्तर बढाउनुपर्नेमा उनले जोड दिइन् ।

मिसन स्माइल नेपालले काठमाडौंमा आयोजना गरेको लैंगिक हिंसासम्वन्धी एक बहस कार्यक्रममा खड्गीले सबैभन्दा बढी अभिभावकलाई चेतना दिनुपर्ने बताइन् ।

‘खोइ, नारीहरु कहाँ सुरक्षित छन् ?  घरमै सुरक्षित छैनन् । कसलाई विश्वास गर्ने ? बुवा, दाजु, छोरा, परिवारबाटै नारी सुरक्षित छैनन्,’ उनले भनिन् ।

स्कुलका शिक्षकलाई पनि विश्वास गर्ने अवस्था नरहेको खड्गीको भनाइ छ ।

‘छोरीहरु घरमा भन्दा बढी विद्यालयमै समय बिताउँछन् । तर, स्कुलमा पनि शिक्षकहरुलाई कसरी विश्वास गर्ने रु’ उनले भनिन्, ‘त्यसैले शिक्षक, बालबालिका र अभिभावकलाई अधिकतम चेतना दिनुपर्छ ।’

‘अभिभावकको जिम्मेवारी छोराछोरी स्कुल पठाउने जिम्मेवारी मात्र होइन । छोरीलाई अप्ठेरो नमानिकन तिमीलाई कसैले टच गरिरहेको छ कि, नराम्रो दृष्टिले हेरिरहेको छ कि शिक्षकले घरमा आउ भनेर ललाइफकाइ गरिराखेको छ कि भनेर ध्यान दिनुपर्छ । कुन नजरले टच गरेको छ, त्यो कुरामा चेतना दिनु आवश्यक छ । सुरुवात घर र स्कुलबाट गर्नुपर्छ । अनि बल्ल हिंसा मुक्त हुन सक्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर