कांग्रेसमै एकता कायम गरौं, कम्युनिष्टसँग तालमेल नगरौं : नेता कोइराला – Nepal Press

कांग्रेसमै एकता कायम गरौं, कम्युनिष्टसँग तालमेल नगरौं : नेता कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेर चुनाव लड्नुभन्दा कांग्रेसभित्रै बलियो एकता गरेर जाँदा फाइदा हुने बताएका छन् ।

मोरङको सुन्दर हरैचामा आयोजित कार्यक्रममा नेता कोइरालाले विचार नमिल्ने कम्युनिष्टसँग मिल्नुभन्दा पार्टीभित्रका गुट उपगुट अन्त्य गर्नेतिर सोच्नुपर्ने बताए ।

‘कांग्रेस र कम्युनिष्टमा धेरै फरक छ । गठबन्धन गरेपनि कम्युनिष्टले कांगे्रेसलाई भोट दिँदैनन् । कम्युनिष्टसँग मिलेर चुनाव लड्नुभन्दा कांग्रेस-कांग्रेस मिलेर चुनाव लड्यो भने बरु जितिन्छ । पार्टीभित्र न्याय, समानता र एकताको भावना भयो भने चुनाव जित्न गठबन्धन गर्नै पर्दैन’, कोइरालाले भने ।

उनले पार्टीभित्र गुट उपगुट अन्त्य गर्न सभापतिले सही भूमिका निर्वाह गर्नुपर्ने औल्याएँ । ‘पार्टीमा सबैको सम्मान भयो र कार्यकर्ताले न्याय पाए भने गुट उपगुट हुँदैन । तर सभापतिजीले त्यसको प्रत्याभूति गराउन सक्नुपर्छ । कसैमाथि विभेद भयो भने समस्या त पर्छ नि’, कोइरालाले भने ।

उनले गठबन्धनबारे पार्टीभित्र दुवैखाले मत रहेको बताए । स्थानीय तहको निर्वाचनमा केन्द्रबाट निर्णय गर्नुभन्दा पार्टीको स्थानीय समितिले नै आवश्यकता अनुसार निर्णय गर्न पाउनुपर्ने कोइरालाको भनाइ थियो ।

‘केन्द्रले निर्णय गरेर लाद्नुभन्दा कहाँ गठबन्धन आवश्यक छ, कहाँ छैन भन्ने कुरा पार्टीको स्थानीय साथीहरूकै जिम्मामा छाडिदिनुपर्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर