चैत २५ गते राप्रपाले काठमाण्डौंमा शक्ति प्रदर्शन गर्ने – Nepal Press

चैत २५ गते राप्रपाले काठमाण्डौंमा शक्ति प्रदर्शन गर्ने

काठमाण्डौं । यतिबेला राजनीतिक दल स्थानीय तहको चुनावमा केन्द्रित भएका छन् । वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनका लागि साना तथा ठूला राजनीतिक दलका शीर्ष नेताहरु देश दौडाहामा रहेका छन् ।

निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पार्टीका केन्द्रीय नेतृत्व नै जिल्ला जिल्लामा पुग्ने क्रम चलिरहेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि चुनावी दौडाहमा छ ।

पछिल्लो एक महिनामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पनि देश दौडाहा चलिरहेको छ, उनले फागुनबाट सुरु गरेको दौडाहा सिन्धुलीसम्म पुग्दा ४१ वटा सभालाई सम्बोधन गरिसकेका छन् ।

लिङ्देनले आइतबार मात्रै भक्तपुर, काठमाडौं र ललितपुरमा आयोजित छुट्टाछुट्टै तीनवटा सभालाई सम्बोधन गरेर सोमबार सुनसरीको चक्रघट्टीमा हुने सभामा सहभागी हुन त्यसतर्फ लागेका छन् ।

राप्रपाले चैत २५ मा काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शन गर्ने भएको छ । पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

आमसभाका लागि प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा ५ सय ५५ सदस्यीय आयोजक समिति गठन भएको उनको भनाइ छ । काठमाण्डौं, ललितपुर र भक्तपुरका अध्यक्ष सहसंयोजक रहेको समितिमा केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव छन् ।

उनका अनुसार समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्ष, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेशभित्रका भातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्य, प्रतिनिधिसभा, प्रदेशसभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्ष पनि रहेका छन् ।

आमसभालाई प्रभावकारी बनाउन उपसमिति पनि गठन गरिएको प्रवक्ता श्रेष्ठले बताए । उपाध्यक्षहरु ध्रुबबहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङको उपस्थितिमा आइतबार मुल समितिको पहिलो तयारी बैठक बसेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर