‘चिसो एस्ट्रे’ मा निभेका-ननिभेका ठुटाहरू
काठमाडौं । सहर चिसो छ कि न्यानो ? तापमान नाप्ने काम त मौसमविद्को भयो । तर, सहरमा फ्रजाइल भएका मानवीयता, सम्बन्ध र सपना त पक्कै न्याना छैनन् । डी–फ्रिज जस्तो सहरमा मानिसहरू पक्कै ताता छैनन् । सयौँको भिडमा हिँडेर पनि एक्लो भइरहेकाहरू पक्कै बाफिला छैनन् ।
दिनेश पाल्पालीले यही चिसो सहरको चिसो कथाका ठुटाहरूलाई ‘चिसो एस्ट्रे’ मा निभाउन खोजेका छन् । केही ठुटाहरू एस्ट्रेमै निभेका छन् । केही ठुटाहरू औँलोले किचिमिची पार्दा पनि निभेका छैनन्, धुवाँ पुत्पुताइरहेका छन् । केही ठुटाहरू एस्ट्रेको परिधिभन्दा निक्कै पर निभेका छन् । केही ठुटाहरू ‘चिसो एस्ट्रे’ भन्दा निकै परको भुइँमा खुट्टोले किचिमिची पार्दा पनि निभिसकेका छैनन् ।
यस्तै ‘ठुटा’ हरूको कथा बोकेर आएका छन् पाल्पाली ।
चुरोटको अम्मलीलाई थाहा हुन्छ, ठुटाहरूको उपदेयता । आधा मात्रै सल्किएर निभेका ठुटाहरू पुनः सल्काएर खानुपर्ने स्थितिमा पनि पुग्छन् अम्मलीहरू । मध्यराति ब्युँझिदा चुरोटको तलतल लागेपछि त्यही ठुटो सल्काएर लामो सर्को तान्छन् र पुनः निदाउँछन् ।
‘चिसो एस्ट्रे’का पात्रहरू यस्तै ठुटाहरू हुन् । कुनै स्पष्ट उद्देश्य छैन सल्किनुको । कुनै स्पष्ट गन्तव्य छैन । अस्पष्ट मन्जिलको खोजीमा भड्किएका छन् । पात्रहरू ब्लर जिन्दगी बाँचिरहेका छन् ।
फिल्ममा कथा छैन र छ पनि । फिल्ममा कथा छ र छैन पनि । कथाभन्दा निकै पर पाल्पालीले फिल्मको प्रस्तुतिलाई पृथक बनाउन भूमिका खेलेका छन् । उनले जसरी पात्रहरूलाई प्रस्तुत गरेका छन्, जसरी फिल्मलाई अगाडि बढाएका छन्, त्यहाँ गुनासो गर्ने ठाउँ नै दिएका छैनन् । प्रत्येक सट र सिनको आफ्नै महत्व रहेको छ ।
ब्राउन सुगरको ट्रिपमा मजा छैन । चुरोट र गाँजाको पफमा मजा छैन । वियरको चुस्कीमा कुनै आनन्द छैन । र, पनि सबै चिज लिइरहेका/पिइरहेका छन् ।
‘चिसो एस्ट्रेमा जो आउँछन्, मुटुभरि आगो, ओंठभरि ज्वाला बोकेर आउँछन् । चिसो एस्ट्रेमा जो बस्छन्, हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन् । र, ‘चिसो एस्ट्रेबाट जो जान्छन्, पोल्टाभरि निभेका विश्वास र ठुटा सपनाहरू सोहोरेर जान्छन् ।’
कवि भूपी शेरचनले ‘काठमाडौं खाल्डो’ लाई ‘एस्ट्रे’ को मेटाफरमा कुँदेको यो कविता आफैंमा काफी छ, यो जगजगी बलिरहेजस्तो देखिने, तर भित्रभित्रै निभिरहेको सहर नियाल्न ।
भूपीले त्यो समयमा देखेको चिसो सहर र अहिलेकोमा कुनै बदलाव छैन । सहर उस्तै छ । भौतिक संरचना बदलिएका छन् । पात्रहरू बदलिएका छन् । पात्रहरूले बाँच्ने जीवनशैली बदलिएका छन् । तर, सहर उस्तै चिसो छ, जसरी भूपीले ‘चिसो एस्ट्रे’ मा उनेका थिए सहरको चिसोलाई ।
यही बदलिएको संरचना, बदलिएका पात्र र बदलिएको जीवनशैलीलाई पाल्पालीले कलात्मक तवरले फिल्ममा उनेका छन् । मदनको भूमिकामा रहेका दिव्य देवले आफूलाई फिट राखेका छन् । पाल्पालीले जस्ता फ्रेम र सटहरूमा उसलाई राखे, ती ठाउँमा गज्जबले उभिएका छन् । अग्ला दिव्य देवको अग्लो अभिनयले दर्शकलाई खिचिरहन्छ । पुतलीहरूसँग रुखतिर टाँस्सिएको बेला होस् या वियरको बोतलहरूसँग गिलासभित्र पसेको वेला होस्, उसले खिचिरहन्छ ।
मदनसँगै आइरहने शालीनताको भूमिकामा रहेकी सृष्टि श्रेष्ठ स्वयं पुतलीझैं छिन् । उनको आफ्नै दुनियाँ छ, मदनले उसलाई पर्दासम्म ल्याउँछ । पर्दामा आउँछिन्, आफ्नो अभियानबारे बताउँछिन् र जान्छिन् । पर्दामा आउँछिन्, पेरिसमा पढेको बताउँछिन् र जान्छिन् । मदनका साथीहरूले गरेको दुर्व्यवहारमा पनि चुप बस्छिन् । बरु त्यहाँबाट अलप हुन्छिन् । कसैसँग सवाल-जवाफको ध्येय नराखेकी शालीनता आफ्नै व्यवहार र बुझाइहरूको गुहराममा फसेकी पात्र हुन् ।
चर्चित गायक हुने, ठूल्ठूला कन्सर्ट गर्ने चाहनाले थिचिएका रोनी (निकुन श्रेष्ठ) भूपी गल्ली र डाउनलोड गल्लीका मसिना घरका चेपहरूमा दौडेरै सकिएका छन् । अन्तसम्म पनि त्यो दौड सकिएको छैन । सपनालाई एकातिर थन्काएर गल्लीतिर बरालिएका रोनीको सपना पूरा गर्ने प्रयासमा जहिल्यै झिँजो आइपुग्छ । त्यतै कतै अलमिलिन्छन् । रोनीको भूमिकाले भन्छ,- सपना देखेर मात्रै हुँदैन, सपना पूरा गर्न प्रयास गरेर मात्रै हुँदैन, त्यसलाई पूरा गर्न हिँडेको बाटो पनि सही हुनुपर्छ । तर, सपनाप्रतिको त के आफैंप्रतिको बुझाइहरू गलत भएमा रोनी भइन्छ ।
‘चिसो एस्ट्रेमा जो आउँछन्, मुटुभरि आगो, ओंठभरि ज्वाला बोकेर आउँछन् । चिसो एस्ट्रेमा जो बस्छन्, हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन् । र, ‘चिसो एस्ट्रेबाट जो जान्छन्, पोल्टाभरि निभेका विश्वास र ठुटा सपनाहरू सोहोरेर जान्छन् ।’
ज्याकी (नवीन लम्साल)सँग उस्तो सपना छैन, ज्यान बनाउनु छ । बनाएको ज्यानलाई काम लगाउनु छ । झगडा गर्दा बाहेक त्यो ज्यान कुनै बडी बिल्डिङको प्रतिस्पर्धामा काम लाग्ने खालको छैन ।
बिक्की भेजा (सुुशीलराज पाण्डे)को चरीत्र आकर्षक छ । कम बोल्छन्, तर चाहिँदो बोल्छन् । उनको ङिच्च हाँस्ने, बिनाकाम बरालिने, नाकको प्वाल भरिने गरी चुरोटको धुवाँ फाल्ने चरीत्रले खिच्छ । बीचबीचमा आइपुग्ने रविन तामाङ पनि आकर्षक छन् ।
फिल्ममा कथा छैन र छ पनि । फिल्ममा कथा छ र छैन पनि । कथाभन्दा निकै पर पाल्पालीले फिल्मको प्रस्तुतिलाई पृथक बनाउन भूमिका खेलेका छन् । उनले जसरी पात्रहरूलाई प्रस्तुत गरेका छन्, जसरी फिल्मलाई अगाडि बढाएका छन्, त्यहाँ गुनासो गर्ने ठाउँ नै दिएका छैनन् । प्रत्येक सट र सिनको आफ्नै महत्व रहेको छ । पात्रले लाउने कपडाको औचित्य र अर्थहरूमाथि खेलेका छन् । चाहे मदनले लगाउने ज्याकीको ज्याकेट होस् या पुतलीहरूको भीडमा पुग्दा उसैले लगाउने सेतो कमिज, प्रत्येक कस्ट्युमले आफ्नै रङ र डिजाइनको अर्थ खोजेका छन् ।
पाल्पालीले खोजेको र चाहेको दृश्य अनि त्यसको सम्पादनमा सिनेम्याटोग्राफर उज्वल बस्ताकोटी र सम्पादक उज्वल ढकालको भूमिका थिएन भने अधुरै रहने थियो । साथमा ब्याकग्राउण्ड स्कोरले घरी यूरोप-अमेरिका पुर्याउँछ, पप कल्चरमा पुर्याउँछ, घरि लाखे नाच्दा यतैकतै असन, हाँडीगाउँ पुर्याउँछ । यो फ्युजन नै फिल्मको चित्तार्षक पाटो हो । साथमा संवादहरूको जुन खालको कवितात्मक वजन छ, त्यो सीधै छाती र दिमागमा अडेसिन्छ ।
विम्ब र प्रतीकहरूको भूमरीमा फँसेका मदनका मोनोलगहरूले शब्दहरूको जादुयी दुनियाँमा पुर्याउँछ । कविताको भाषा छुट्टै हुन्छ, कविताको आफ्नै खाले मजा हुन्छ, त्यो संवादहरूमा छन् । जति मीठा संवाद छन्, उति नै मीठा दृश्यहरू छन् । दृश्यहरू जति मीठा छन्, उति नै मीठा पात्रहरूको प्रस्तुति छन् । तर, फिल्मलाई अगाडि बढाउन थोरै हतार नगरेको भए झनै गज्जब हुने थियो । हतार गर्दा डिटेलिङ छुटेका छन्, चाहिने छुटेका छन् ।
दिनेश पाल्पालीले यही चिसो सहरको चिसो कथाका ठुटाहरूलाई ‘चिसो एस्ट्रे’ मा निभाउन खोजेका छन् । केही ठुटाहरू एस्ट्रेमै निभेका छन् । केही ठुटाहरू औँलोले किचिमिची पार्दा पनि निभेका छैनन्, धुवाँ पुत्पुताइरहेका छन् । केही ठुटाहरू एस्ट्रेको परिधिभन्दा निक्कै पर निभेका छन् । केही ठुटाहरू ‘चिसो एस्ट्रे’ भन्दा निकै परको भुइँमा खुट्टोले किचिमिची पार्दा पनि निभिसकेका छैनन् ।
लामो समयपछि हिमालका फेदहरूमा खिचिएका चम्किला दृश्य र पहाडको टुप्पोमा पुग्दा लगाइएका पार्टी सुजबाट आजित भएका दर्शकका लागि ‘चिसो एस्ट्रे्’ औषधि हो । रङ्गीचङ्गी दृश्यहरू राखेर दर्शकलाई धुमधुमी बनाएका नेपाली फिल्महरूको भीडमा ह्याङओभर मेटाउने चिसो कागती पानी हो ‘चिसो एस्ट्रे’ ।
यो फिल्म कथा होइन, प्रस्तुति हो । यो फिल्म कहानी होइन, यथार्थ हो । यो फिल्म दर्शकलाई नैतिकता र आदर्श पढाउन होइन, यथार्थ देखाउन हलमा लागेको हो ।