निर्वाचनमा सत्ता गठबन्धन- पोखरा वा काठमाडौंमध्ये एक महानगरमा नेकपा एसको दाबी – Nepal Press

निर्वाचनमा सत्ता गठबन्धन- पोखरा वा काठमाडौंमध्ये एक महानगरमा नेकपा एसको दाबी

काठमाडौं । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन कायम हुनुपर्ने विषयलाई हकका रूपमा व्याख्या गरिरहेको सत्तारुढ नेकपा एकीकृत समाजवादीले कम्तीमा पनि महानगर र उपमहानगरपालिकामा केन्द्रबाटै तालमेलको निर्णय गराउन पहल थालेको छ ।

पछिल्लोपटक बालुवाटारमा भएको शीर्ष बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग केन्द्रबाटै तालमेलको निर्णय गर्न प्रस्ताव राखेका छन् । कांग्रेसका केही नेता गठबन्धन भत्काउने प्रयासमा रहे पनि तालमेल गर्न देउवा सकारात्मक रहेको नेपालले शनिबार धादिङमा बताएका थिए ।

धुनिबेँसीमा आयोजित कार्यक्रममा नेपालले भने, ‘कांग्रेसभित्रका केही नेताहरू गठबन्धन भत्काउन लागिरहेका छन् । तर, प्रधानमन्त्री देउवाजी गठबन्धनको पक्षमा हुनुहुन्छ । उहाँले ती नेताहरूलाई गठबन्धनविरुद्ध नबोल्न चेतावनी पनि दिनुभएको छ । हामी एकचरण हाम्रो शक्ति हेरेर कहाँ एक्लै जितिन्छ, कहाँ गठबन्धन गर्नुपर्छ भन्ने आधारमा छलफल गर्छौं ।’

गठबन्धनमा औपचारिकरूपमा कसरी तालमेल गर्ने भन्नेबारे छलफल नभएको नेताहरूले बताएका छन् । कांग्रेसले बेवास्ता गरे नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाबीच तालमेलको प्रयास पनि भइरहेको छ । तर, गठबन्धनका नेताहरूसँगको अनौपचारिक छलफलमा नेकपा एसले काठमाडौं वा पोखरामध्ये एउटा महानगरपालिकाको मेयर आफूले पाउनुपर्ने दाबी गरेको छ ।

विगतमा एमालेले जितेका महानगर र उपमहानगरमा स्वाभाविकरूपमा नेकपा एसको दाबी रहे पनि यसबारेमा छलफल नै भइरहेको नेताहरूको भनाइ छ । नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले अहिले कुन-कुन स्थानीय तह कुन दलले पाउने भन्ने तहमा छलफल नभएको बताए ।

नेकपा एसका गण्डकी इन्चार्ज केशवलाल श्रेष्ठले पोखरा महानगरपालिकाको मेयरमा आफूहरूको दाबी रहेको र गण्डकीका गठबन्धका नेताहरूसँग छलफल पनि भइरहेको बताएका छन् । कास्कीका सबै स्थानीय तहमा पाँच दलीय गठबन्धन गर्ने सहमति यसअघि नै जिल्लास्तरमा भइसकेको छ ।

पोखरामा एमालेले पाँच वर्षअघि २० हजार बढीको फराकिलो मतान्तरमा कांग्रेस-माओवादी गठबन्धनलाई पराजित गरेको थियो । उक्त चुनावमा एमालेका मानबहादुर जिसी ६० हजार ११८ मतका साथ विजयी हुँदा नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६मत पाएका थिए । उनलाई माओवादीको समर्थन थियो ।

पोखराको मेयरमा नेकपा एसले जिल्ला अध्यक्ष धनराज आचार्यलाई अघि बढाउन खोजेको छ । पोखरामा निर्वाचित जनप्रतिनिधि भने नेकपा एसमा सामेल भएका छैनन् ।

काठमाडौंमा भने एमालेले १८ वडाध्यक्ष जितेकोमा वडा नम्बर ७ का शुद्ध डंगोल र वडा नम्बर १५ का ईश्वरमान डंगोलले नेकपा एस रोजेका छन् । नेकपा एसले काठमाडौंको मेयरमा ईश्वरमान डंगोलले अघि सारेको छ ।

त्यस्तै नेकपा एसले धरान र इटहरीमध्ये एउटा उपमहानगरमा आफ्नो नेतृत्व दाबी गर्दैछ भने हेटौंडा उपहानगरपालिकामा पनि एसको दाबी छ । त्यसबाहेक धनगढी वा घोराहीमध्ये एउटा उपमहानगरमा आफूहरूको दाबी रहने नेकपा एसका नेता मेटमणी चौधरीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर