वाम एकताबारे ओलीको जवाफ- ढोका फोडेर, सिसा तोडेर जानेहरूलाई चुकुल खोल्दैनौँ – Nepal Press

वाम एकताबारे ओलीको जवाफ- ढोका फोडेर, सिसा तोडेर जानेहरूलाई चुकुल खोल्दैनौँ

प्रचण्ड–माधवलाई ढोका बन्द, दुवैतिरका कार्यकर्तालाई उचित भूमिकासहित एमालेमा फर्काउने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुकुल तोडेर,सिसा फोडेर कांग्रेसको पछि लाग्न गएका प्रचण्ड–माधव समूहसँग वाम एकताको नाममा कुनै पनि सहकार्य हुन नसक्ने प्रष्ट पारेका छन् ।

पोलिटव्यूरो बैठकमा घनश्याम भुसाल र रघुजी पन्तले एमालेले वाम एकताको अगुवाइ गर्नुपर्ने भन्दै चुनावमा वाम गठबन्धन बनाउन गरेको प्रस्तावको जवाफ दिने क्रममा ओलीले यस पटक वाम गठबन्धन जस्तो नक्कली सम्भव नरहेको बताए ।

ओलीको जवाफ उद्धृत गर्दै एक पोलिटव्युरो सदस्यले भने- चुकुल तोडेर, ढोका र झ्यालको सिसा फोडेर गद्दारी गर्दै कांग्रेसलाई सत्ता बुझाउन जानेहरूलाई गठबन्धन वा एकताका नाममा चुकुल खोलिन्न । त्यो जस्तो नक्कली कुरा केही हुन्न । माधव नेपालसँग गएका र प्रचण्डसँग रहेका तलका नेता कार्यकर्तालाई भने पार्टीमा ल्याएर उचित भूमिका र जिम्मेवारी दिनुपर्छ । नेताले गद्दारी गरे पनि कार्यकर्तालाई ढोका खुला राख्ने हो ।

बैठकमा अध्यक्ष ओलीले एमालेविरुद्ध षड्यन्त्र गर्ने,अदालत र निर्वाचन आयोगमा सेटिङ गर्ने,सभामुख प्रयोग गरेर पार्टी फुटाउनेहरूसँग गठबन्धन नहुने बताए ।

उनले सोम प्रसाद पाण्डेको उदाहरण दिँदै पार्टी दर्ता भइसकेपछि पनि अदालतमा निवेदन हालेर नेकपा एसमा जान पाउने आदेश दिलाइएको भन्दै गठबन्धनका नाममा जनता र कार्यकर्ता भ्रमित पार्ने काम नगर्न निर्देशन समेत दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर