प्रतिनिधिसभा निर्वाचनसम्मै गठबन्धनको सहमति भइसकेको छ : प्रकाश ज्वाला (भिडिओ) – Nepal Press

प्रतिनिधिसभा निर्वाचनसम्मै गठबन्धनको सहमति भइसकेको छ : प्रकाश ज्वाला (भिडिओ)

सुर्खेत । नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले गठबन्धनमा रहेका सबै दललाई चुनावी तालमेल आवश्यक रहेको बताएका छन् ।

नेकपा एस कर्णालीको दोश्रो पूर्ण वैठकपछि आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उनले गठबन्धनलाई प्रतिनिधिसभाको निर्वाचनसम्म नै अगाडि बढाउने सहमति भइसकेको उल्लेख गर्दै कोही कसैले गठबन्धन हुँदैन भनेर भन्नुको अर्थ नभएको बताए ।

उनले भने, ‘तालमेल चुनावको बेला हुनसक्छ । सरकार गठनको बेला हुनसक्छ । एउटैको बहुमत नआउँदा हुनसक्छ । विभिन्न दलहरुले गठबन्धनको आवश्यकता महसुस गर्दा तालमेल हुने हो ।’

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन बनाएर जाँदा जित भएको उल्लेख गर्दै उनले सबै दलहरुलाई अहिले गठबन्धनको आवश्यकता भएको बताए ।

यस्तै सोमबार बसेको दलको वैठकले नेकपा जनवादी र राष्ट्रिय जागरण परिषद नेकपा एसमा समाहित भएपछि थप गरिएका ११ जना प्रदेश कमिटी सदस्यहरुको सपथ गरिएको अध्यक्ष अम्मरबहादुर थापाले बताए ।

उनकाअनुसार १२ सदस्यीय कार्यालय, ४७ सदस्यीय सचिवालय पनि गठन गरिएको छ । प्रदेश स्तरीय २७ वटा विभाग गठन गरि पदाधिकारी र सदस्यहरुको कार्यविभाजन गरिएको छ । यसै गरी प्रदेश स्तरीय अनुशासन आयोग, लेखापरिपक्षण आयोग, निर्वाचन आयोग, सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्च र प्रदेश परिषद पनि गठन गरिएको छ ।

यस्तै पार्टीको ‘जनतामा जाऔं, एकीकृत समाजवादीलाई जिताऔं‘’ भन्ने मुलनाराका साथ चैत्र २० गतेसम्म सम्पन्न गर्ने गरी जिल्ला, पालिका, वडा र टोल स्तरीय १५ दिने जनपरिचालन अभियान संचालन गर्ने कार्यतालिका पारित गरिएको पनि उनले बताए ।

अभियानमा सहजकर्ताको रुपमा कर्णाली प्रदेश सहइन्चार्जहरु चन्द्रबहादुर शाही हुम्ला, शेर बहादुर के. सी. रुकुम पश्चिम, हंशबहादुर शाही डोल्पा, अध्यक्ष अम्मरबहादुर थापा दैलेख, उपाध्यक्ष देविलाल थापा जुम्ला, उपाध्यक्ष नन्दा शर्मा चपाई सल्यान, सचिव ठगेन्द्र प्रकाश पुरी सुर्खेत, उपसचिव कृष्ण वहादुर वि.सी. जाजरकोट, उपसचिव कुर्मराज शाही कालिकोट र उपसचिव गोपाल बम मुगुमा जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर