लेटाङ घटनाको जाँचबुझ हुन्छ : गृहमन्त्री खाण – Nepal Press

लेटाङ घटनाको जाँचबुझ हुन्छ : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मोरङको लेटाङ नगरपालिका ५ मा आइतबार महिला प्रहरी जवानको मृत्यु हुने गरी भएको घटनाको जाँचबुझ गरिने बताएका छन् ।

गृहमन्त्री खाणले शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको घटनामा छानबिन गरिने र छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाए ।

फाग पूर्णिमाका दिन चैत चार गते शिक्षा विकास माध्यामिक विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यालयका छात्र छात्रा र अभिभावकहरूसमेतको अनियन्त्रित भिडले विद्यालयमा आगजनी तोडफोड र ढुंगामुढा गरेको थियो ।अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट मृत्यु भएको थियो ।

‘शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको मोरङको लेटाङ घटनाको जाँचबुझ हुन्छ,’ गृहमन्त्री खाणले भने, ‘छानबिनमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिबद्ध छ ।’

गृहमन्त्री खाणले शान्ति सुरक्षा कायम गर्ने क्रममा मृत्यु भएकी महिला प्रहरी जवान श्रेष्ठप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

त्यस्तै उनले कर्तव्य पालनाको सिलसिलामा घाइते भएका सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

घटनामा २९ प्रहरी घाइते भएका थिए । ती मध्ये अहिलेसम्म पाँच प्रहरी कोसी अस्पतालमा उपचाररत रहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर