सैनामैनामा एमालेविरुद्ध गठबन्धनको तयारी, अन्त अरुलाई छाडेर भएपनि मेयर हत्याउने माओवादी दाउ – Nepal Press
स्थानीय चुनाव-२०७९

सैनामैनामा एमालेविरुद्ध गठबन्धनको तयारी, अन्त अरुलाई छाडेर भएपनि मेयर हत्याउने माओवादी दाउ

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका एमालेले आफ्नो बलियो किल्ला दाबी गर्दै आएको क्षेत्रमा पर्दछ । एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्रमा पर्ने यो नगरपालिकामा चित्रबहादुर कार्की मेयर छन् । एमाले रुपन्देहीका उपसचिव कार्की पौडेल जलस्रोतमन्त्री हुँदा स्वकीय सचिवसमेत भएका थिए ।

वैशाख ३० को स्थानीय चुनावका लागि एमालेबाट कार्कीले पुन: दोहोर्‍याउने इच्छा देखाएका छन् । अन्य आकांक्षीमा नरबहादुर घर्ती, जिल्ला सदस्य मिनप्रसाद पौडेल, खुसीराम चौधरी देखिएका छन् ।

मेयर कार्कीले आफूले अहिले नै निर्णय केही नगरेको तर पार्टीको निर्णयमा भर पर्ने बताए ।

‘पालिकामा ५ वर्ष बिताउँदा फरक पार्टीका नेता-कार्यकर्ताले पनि दोष लगाउने ठाउँ बनाएको छैन, प्रतिबद्धता गरेका सबै काम पूरा गरेको छु । पार्टीको सिपाही हुँ, जे निर्णय हुन्छ त्यो मानेर अघि बढ्छु’, कार्कीले नेपाल प्रेससँग भने भने ।

अर्का दाबेदार घर्ती स्थानीयसँग भिजेका पुराना नेता मानिन्छन् । पौडेल युवामाझ लोकप्रिय छन् । सैनामैना क्षेत्र थारु समुदायको पनि विशेष क्षेत्र भएकाले त्यहाँका मतदातालाई आकर्षित गर्न खुसीरामलाई अगाडि सार्नुपर्ने उनीनिकटको तर्क छ ।

यता सत्तारुढ गठबन्धनका दलहरू भने एमालेको विरासत तोड्ने दाउमा देखिएका छन् । नेकपा माओवादी केन्द्रले आफ्नो संगठन बलियो भएको क्षेत्रका रूपमा सैनामैनालाई लिएको छ । चुनावी तालमेलको तयारी गर्दै माओवादीले जिल्लाका अन्य नगरपालिका अरुलाई दिएर भए पनि सैनामैना आफ्नो पोल्टामा पार्न चाहेको छ । तर, अघिल्लो पटक माओवादीबाट मेयरमा उठेका चेतनारायण न्यौपाने अहिले एमालेको नगर अध्यक्ष बनेका छन् । न्यौपाने आफूतिर आएसँगै माओवादीको मत घटेको आंकलन एमालेको छ ।

सैनामैना नेपाली कांग्रेसका नेता एवं सार्वजनिक लेखा समितिका सभापति भरत शाहको क्षेत्र पनि हो । यहाँ उनको पनि चासो छ । कांग्रेसभित्र यहाँ तीन समूह छ । संस्थापन समूहबाट यसअघि मेयरमा प्रतिस्पर्धा गरेका फणेन्द्र शर्मा अहिले पनि आकांक्षी रहेका छन् चने इतर समूहबाट चित्र केसीको दाबी छ । शर्मा महासमिति सदस्य हुन् भने केसी प्राध्यापन पेसा छाडेर मेयर लड्ने तयारी गरिरहेका छन् । रणबहादुर खनाल पनि टिकटका लागि नेताहरूकोमा धाइरहेका छन् ।

माओवादीबाट नारायण महत यहाँको मुख्य दाबेदारमा छन् । कांग्रेस-माओवादीको गठबन्धन भए मेयरमा कांग्रेसबाट फणिन्द्र र उपमेयरमा माओवादीबाट नारायणले टिकट पाउने चर्चा पनि उत्तिकै छ । तर, गठबन्धनमा जिल्लाभरका ६ नगरपालिकामध्ये सैनामैनामा माओवादीले दाबी गरिरहेकाले यहाँ तालमेल नै हुँदा रस्साकस्सी पर्ने देखिन्छ ।

अघिल्लो पटक एमालेमा छँदा मेयर पद नपाएपछि विद्रोह गरेका नेता मिनप्रसाद घिमिरे अहिले नेकपा एकीकृत समाजवादीमा छन् । २०७४ मा टिकटमा अन्याय परेको गुनासो गरेका घिमिरे एसबाट मेयरको प्रमुख दाबेदारीमा छन् । देवराज पौडेल पनि आकांक्षी देखिएका छन् ।

उपमेयरमा एमालेबाट अहिलेका उपमेयर बिना रानासँगै सविता भुसाल, नजरकुमारी श्रेष्ठ, शोभा ज्ञवाली, कल्पना कुँवरको चर्चा छ । विपक्षी गठबन्धनबीच भने कांग्रेस-माओवादी मेयर-उपमेयर बाँडेर तालमेलको गृहकार्यमा छन् ।

अघिल्लो पटकको स्थानीय निर्वाचनमा सैनामैना नगरपालिकामा नेकपा एमालेका चित्रबहादुर कार्की १३ हजार ७३ मत ल्याएर नगरप्रमुखमा विजयी भएका थिए । उनका निकटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका फणिन्द्रप्रसाद शर्माले १० हजार ३०५ मत पाएका थिए । २ हजार ४१७ मत ल्याएर चेतनारायण न्यौपाने तेस्रो भए ।

यस्तै उपप्रमुखमा एमालेकै बिना रानाले १३ हजार २६१ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसकी लक्ष्मी चौधरी थारुले ९ हजार ७०९ मत ल्याइन् । माओवादी केन्द्रकी दिपिका शर्माले २ हजार ३५७ मत ल्याएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर