सीडीओ र एसपीको बर्खास्तीको माग गर्दै एमाले रौतहटको प्रदर्शन (तस्बिरहरू) – Nepal Press

सीडीओ र एसपीको बर्खास्तीको माग गर्दै एमाले रौतहटको प्रदर्शन (तस्बिरहरू)

गौर । पछिल्लो समय स्थानीय प्रशासनले विभिन्न षड्यन्त्र गरी निर्दोषलाई फसाउने काम गरेको भन्दै नेकपा एमाले रौतहट जिल्ला कमिटीले  प्रदर्शन गरेको छ ।

गठबन्धन सरकारको इशारामा रौतहटको एसपी र सीडीओको नेतृत्वमा झूठा मुद्दा, गाली बेइज्जती तथा बदनाम गर्ने कार्य भइरहेकोले एमालेले जिल्लाको मध्यभाग गरुडामा मंगलबार हजारौँको संख्यामा प्रदर्शन गरेको हो । सीडीओ र एसपीको राजीनामा माग्दै अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा निकालिएको प्रदर्शनमा केन्द्रीय तथा प्रदेश कमिटीसहितका नेता कार्यकर्ता उपस्थित थिए ।

एमाले पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन गरुडाको परिक्रमा गरी ईलाका प्रहरी कार्यालय गरुडा अगाडी नारा जुलुस तथा कोणसभा गरी अन्त्य भएको थियो । प्रदर्शनको क्रममा ‘निर्दोषलाई फसाउन पाइँदैन, पक्षपाती सरकार/प्रशासन चाहिँदैन, पक्षपाती सीडीओलाई बर्खास्त गर, निष्पक्ष निर्वाचनको वातावरण तयार गर, षड्यन्त्रकारी प्रहरी प्रशासन मुर्दावाद, षड्यन्त्रकारी सीडीओलाई कारबाही गर, हर्षाहा सवारी दुर्घटनाको उच्चस्तरीय छानबिन गर, मुद्दाको वास्तविकता लुकाउनेहरूलाई कारबाही गर, लासमाथि राजनीतिक गर्ने घृणित कार्य बन्द गर’ जस्ता नारा लगाइएको थियो ।

कोणसभालाई सम्बोधन एमाले रौतहटका अध्यक्ष त्रिभुवन साहले दोषी उम्काएर निर्दोषलाई फसाउने कार्य तत्काल रोक्न चेतावनी दिए । आज शान्तिपूर्ण प्रर्दशन गरिएको भए पनि प्रहरी प्रशासनले गठबन्धन सरकारको इशारामा झालझेल र षडयन्त्र गर्ने कार्य बन्द नगरे जनताले जिल्ला भर प्रतिकार गर्ने र अनिश्चितकालको लागि बन्द हडताल गर्ने उनले बताए ।

एक साता अगाडि नागेन्द्र साहको नाममा रहेको बा. १७ च ६१६३ नम्बरको स्कार्पियो पिकअप गौर-चपुर सडक खण्डको हर्षाहामा दुर्घटना हुँदा दुईजनाको मृत्यु र दुई जना घाइते भएको थियो । घटनास्थलमा समातिएको चालकलाई रिहा गरी प्रहरीले गाडीमा हुँदै नभएको व्यक्तिको नाममा मुद्दा दर्ता एमाले दाबी छ ।

सिसिटीभी फुटेज र भिडिओ क्लिपहरू प्रमाणको रुपमा हुँदा समेत सरकारी षड्यन्त्र अनुरुप त्यसमा देखिएको व्यक्तिलाई छाडेर निर्दोषलाई फसाउन खोजिएकाले सीडीओ र एसपीलाई बर्खास्त माग गरिएको एमाले केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज उपेन्द्र साहले बताए ।

दुर्घटनाको सत्यतथ्य पता लगाएर पीडितलाई क्षतिपूर्तिसहित न्याय दिलाउनको सट्टा स्थानीय प्रशासनले राजनीतिक स्वार्थमा लागेको चाकडी गरी दुर्घटनाको पीडितको समेत मन दुखाएको उनको आरोप छ ।

केन्द्रीय सदस्य एवम् जिल्ला सह इन्चार्ज उद्धव रेग्मीले पनि सीडीओ र एसपी व्यवहारप्रति आपत्ति जनाए ।

योजनाबद्ध रुपमा रौतहटमा गठबन्धनको सरकारको इशारामा एसपी विनोद घिमिरे र सीडीओ कृष्ण बहादुर शाहीले एमालेका कार्यकर्तालाई दु:ख दिने र फसाउने योजना बनाएको उनीहरूको आरोप छ ।

प्रदर्शनमा केन्द्रीय लेखा आयोगका सदस्य राजकिशोर यादव, प्रदेश उपसचिव आरती भण्डारी, जिल्ला उपाध्यक्ष दीपक यादव, सचिव बालविक्रम कार्की, उपसचिव पलट चौधरी, राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्य एवम् पार्टी जिल्ला कमिटी सदस्य निवेश यादवलगायत सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर