वामपन्थी एकताविरोधी तीनथरी मान्छे को हुन् ? – Nepal Press

वामपन्थी एकताविरोधी तीनथरी मान्छे को हुन् ?

देशमा कहिले लोकतन्त्र हुने स्थिरता नहुने, कहिले स्थिरताका नाममा निरङ्कुशता हुने र लोकतन्त्र नहुने यो प्रक्रियाबाट गएको ७० वर्ष हाम्रो मुलुक गुज्रिसकेको छ ।

२००७ सालमा लोकतन्त्र ल्यायौँ त्यसलाई स्थिर बनाउन सकेनौँ । ०१७ सालमा तथाकथित स्थिरता आयो तर, लोकतन्त्र हरायो । २०४७ मा हामीले लोकतन्त्र ल्यायौँ हामी फेरी अस्थिर भयौँ र त्यो लोकतन्त्र अस्थिर भयो ।

अस्थिरताका शक्तिहरू सलबलाए र देश गृहयुद्धको नजिक नजिक पुगेर संविधानसभाको निर्वाचन हुँदै ०७२ को संविधानसम्म पुग्यौँ । यसले नेपाली राजनीतिमा राजनीतिक र संवैधानिक हिसाबमा जनता र राज्यबिचको अधिकार र कर्तव्यको बाँडफाँडका कुरा टुङ्ग्याएको थियो ।

यो धरै महत्त्वपूर्ण रहेको थियो । हाम्रो ७० वर्षको आन्दोलनले टुङ्ग्याएको मुख्य कुरा के हो भने राज्य र नागरिककाबीचको सम्बन्धलाई हाम्रो संविधानले आधारभुतरुपले लोकतान्त्रिक हिसाबले संस्थागत गरिदियो ।

त्यो धेरै ठुलो उपलब्धि हो । त्यसले त्यो अस्थिरताबाट जोगाउनका लागि ठुलो आधार दियो । त्यसलाई बोक्ने एउटा शक्ति चाहिन्थ्यो । त्यो संविधान बोक्ने राजनीतिक पार्टीले हो । ०७४ को निर्वाचनले कम्युनिस्ट पार्टीको पक्षमा ठुलो जनमत दिएर त्यसले संविधान कार्यान्वयनको अभ्यास राजनीतिक रूपमा ग्यारेन्टी गर्‍यो ।

तर, अहिलेको अवस्थामा ०७२ र ०७४ का उपलब्धिलाई हामीले रक्षा गर्न नसकिएको यथार्थ हो । खास गरी कम्युनिस्ट पार्टीको विभाजनले । यसले गर्दा नेपालमा लोकतन्त्र वा वामपन्थ यो चैँ नेपालको अस्थिरता र स्थिरतासँग जोडिएको प्रश्न हो । नेकपा एमाले, माओवादी केन्द्र,अर्को कांग्रेस हाम्रा बिचका झगडा, आग्रह पूर्वाग्रह र आपसमा खुट्टा तानातानमा मात्रै सीमित छैन । यो प्रश्न लोकतान्त्रिक स्थिरतासँग छ । यसर्थ हाम्रै लोकतन्त्र र वामपन्थको भविष्यसँग सम्बन्धित छ ।

दोस्रो कुरा वाम एकता किन आवश्यकता छ भन्दा बृहत् सन्दर्भमा आवश्यक छ । त्यसबाहेक पार्टीका रूपमा नेकपा एमालेको हिसाबले एकताको पक्षमा हामीले किन जान पर्छ ? हामीले किन पहलकदमी गर्नु पर्छ ? हामीले किन लिड गर्नु पर्छ भन्छु मैले त । किनकि हामीले लिड नगरी नेकपा एमालेले लिड नगरीकन यो एकता हुँदैन । किनभने हामी ठुलो पार्टी हाैं । त्यति मात्र हैन हामी स्वयम् नेकपा एमाले नेपालको कम्युनिस्ट आन्दोलनको एकताको प्रतिनिधि हो । एकताको नेता हो र एकताको मूल प्रवाह हो ।

यसले गर्दा आज पनि उसको दायित्व हो । नेपालको कम्युनिष्ट आन्दोलनको यथोचित प्रतिनिधित्व गर्नु सानदार प्रतिनिधित्व गर्नु स्वयम नेकपा एमालेको दायित्व हो भन्ने अर्थमा मैले मेरो पार्टीको इतिहासलाई यसरी बुझेको छु ।

वाम एकताको लागि चुनौती र दायित्व नेकपा एमालेको काँधमा छ र एकताको नेतृत्व एमालेले गर्नु पर्छ भन्ने मलाइ लाग्छ ।

विभाजनको सैद्धान्तिक र वैचारिक आधार छैन । कम्तीमा तीन वटा पार्टी,अरू पनि चुनावमा जान्छु भन्ने कम्युनिस्ट पार्टीहरूबिचमा पनि वैचारिक र सैद्धान्तिक रूपमा समस्याहरू छैनन् र विभाजनको औचित्य नै छैन ।

यदि तपाईँहरू जानुहुन्छ भने के भनेर जानु हुन्छ ? समाजवाद ल्याउने भनेर जानु हुन्छ । आजै समाजवादी उत्पादन सम्बन्ध कायम गर्न सक्नुहुन्छ भन्दा सक्नु हुन्न । त्यसको तयारी गर्न पर्छ त्यसका लागि के गर्न पर्छ भन्दा मुलुकलाई समृद्धितर्फ धकेल्न पर्छ ।

सैद्धान्तिक रूपमा हामी हिँड्ने बाटो पनि लोकतान्त्रिक हिसाबले जाने हो । यसमा पनि केही फरक छैन । हामीले मार्क्सवाद, लेनिनवाद जे भने पनि जाने बाटोका कुरा गरे पनि,तरिकाको कुरा गरे पनि सङ्गठनात्मक कुरा जे गरे पनि एउटै कुरा गर्छौ । त्यो नेकपा एमालेले गर्ने कुरा पनि त्यही हो । नेकपा माओवादी केन्द्रले गर्ने कुरा पनि त्यही हो । नेकपा एकीकृत समाजवादीले गर्ने कुरा पनि त्यही हो ।

वैचारिक र सैद्धान्तिक रूपमा एउटै कुरा गरेर तीन वटा पार्टी किन जरुरी छ? यो भन्दा हास्यास्पद कुरा के हुन्छ ? त्यसो गर्दा सिद्धान्त र बिचारको यो राम समता किन गर्नु ?

पार्टी विभाजनका केही राजनीतिक कारण पनि छन् । खागसरि पुस ५ मा गरिएको विघटन त्यो एउटा राजनीतिक मुद्दा हो जहाँ हामी विभाजित छौँ । यो कुरा स्वयं अदालतले,,संवैधानिक बेन्चले यसलाई निर्णय गरिसकेको छ । अब यो संविधान रहेसम्म यो संविधान अनुसार संसद् विघटन गर्नु हुन्थ्यो कि हुँदैनथ्यो भन्ने कुरा निश्चित भइसकेको छ । यो संविधान रहेसम्म यो उल्टिँदैन र कथम अर्को चुनौती के छ भने यदि सर्वोच्च अदालतको त्यो निर्णय गलत छ भनेर हामीले जाने हो भने यो संविधान भत्किन सक्छ ।

अव पनि यस खालका संसद् विघटनका निर्णयहरू ठिक छन् भनेर जानुको अर्थ के हुन्छ भने हामी सोझा सोझी अस्थिरताको पक्षमा हिँड्नु हुन्छ । जुन काम नेकपा एमालेको तर्फबाट यति जिम्मेवार पार्टीको तर्फबाट गर्नु हुँदैन र गर्दैनौ ।

दोस्रो कुरा त्यो टुंगो लागि सकेको छ । एउटा राजनीतिक मामला थियो,जहाँबाट हामी विभाजित भयौँ । पुस ५ को विभाजन त्यो अदालतले टुंगो लगाइसकेको छ भने यो इतिहासको घटना भइसकेको छ । राजनीतिक रूपमा एउटा घटना भयो । संसद्को विघटन ठिक थियो कि बेठीक थियो भन्ने । राजनीतिक विवाद हो यो । जसको टुंगो लागि सकेको छ । वैचारिक र सैद्धान्तिक रूपमा कुनै भिन्नता छैन भने यिनीहरू अलग अलग पार्टीका मान्छेका रूपमा रहनु कुनै औचित्य छैन भन्ने मलाइ लागेको हो ।

तेस्रो, चुनाव त सुरु भई सक्यो । स्थानीय तहको चुनाव त अव आई नै सकेको छ । यो चुनावलाई वामहरूको पक्षमा यसको परिणामलाई ग्यारेन्टी गर्नका लागि नेकपा एमाले ठुलो पार्टी हो यसले आफ्नो साइज अनुसार जितिहाल्छ । आफ्नै साइज अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि जित्ला तर वामहरूले एक ठाउँमा भएर जित्ने जीत धेरै परिणाममुखी र धेरै प्रभावकारी हुन्छ ।

जोसुकै गणितज्ञले पनि यही कुरा भन्छ होला । त्यसो गर्दा चैँ वामहरूको पक्षमा कम्युनिस्ट पार्टीको पक्षमा, कम्युनिस्ट आन्दोलनको पक्षमा यो परिमलाई सुनिश्चित गर्नका लागि पनि हामीले अहिले एकता गर्नुबाहेक अन्य विकल्प रहेको छैन ।

जो एकताको पक्ष र विपक्षमा छन्

चौथो कुरा, कम्युनिस्ट पार्टीका जो सुकै पनि जसले कम्युनिस्ट पार्टीको निर्माणमा भूमिका खेलेका छन्,ती सबै नेता तथा कार्यकर्ता एकताको पक्षमा उभिएका छन् । त्यसको पनि खास अर्थ छन् । यसको इतिहास छ । तीनले चुनौती देखेका छन् । भविष्य र चुनौतीलाई राम्रोसँग विश्लेषण गर्ने नेता कार्यकर्ता समर्थक शुभचिन्तक हरुको पङ्क्ति एकताको पक्षमा रहेको छ ।

केही मान्छेहरू यसको विरोधमा रहन सक्छन् । किनभने हाम्रो जस्तो सामाजिक संस्थाहरूमा,संंघ सङ्गठनमा त्यो संस्था भएका कारणले आफ्नो खाइपाइ सुरक्षित राख्ने अर्थात् कम्युनिस्ट आन्दोलनको विभाजनमा आफ्नो हैसियत देख्ने केही मान्छेहरू हुन सक्छन् । ती मान्छेहरूले यसको विरोध गर्नेछन् । त्यसमा कुनै शङ्का भएन ।

एकताको विरोधमा ईमान्दार कार्यकर्ता पनि छन् । जसले क्रान्ति समाजवाद पार्टी सबै भनेकै आफू उभिएको ठाउँ मात्रै देखेका छन् । ती इमानदार न हुन् । उनीहरूलाई शिक्षादीक्षा प्रशिक्षणको कमी छ । जसका कारणले गर्दा क्रान्तिलाई बृहत् अर्थमा बुझ्दैनन् उनीहरूले बुझ्न बाँकी रहेको छ । ती कार्यवाहकता पनि हिजो फुटिसक्यो आज के मिल्ला र ? भन्ने केही साना मसिना तर्कहरूका आधारमा उनीहरूले विभाजनको पक्षमै बोल्छन् । उनीहरूलाई पनि कम्युनिस्ट आन्दोलन प्रति माया नै छ ।

एमालेमा रहेर एमालेकै श्रीवृद्धिमा मात्र कम्युनिस्ट पार्टी बाँच्न सक्छ र समाजवाद आउन सक्छ भन्ने । माओवादीमा रहेर माओवादीकै श्रीवृद्धिमा समाजवाद आउन सक्छ यावत सबैमा रहेर आफू रहेका पार्टीबाटमात्रै समाजवाद आउँछ भन्न सक्ने कुराहरू हुन सक्छन् । म ती सबै कार्यकताहरुलाई ईमान्दार भन्ने गर्छु ।

तेस्रो,हाम्रो जस्तो भूराजनीतिमा कम्युनिस्ट पार्टीको विरुद्धमा कतिपय गतिविधि हुनु एकदमै जोसुकै राजनीति शास्त्रीले, जो सुकै हाम्रो जस्तो समाजको समाजशास्त्रीले हाम्रो जस्तो मुलुकको अर्थशास्त्रीले समेत बुझ्ने कुरा हो ।

यसमा भूराजनीतिक दबाबहरू किनकि हिजो पनि परेर आएको हो । हाम्रो मुलुकको माइक्रो म्यानेजमेन्ट भन्दै आएका हांै हामीले । अरूले त्यस्तो माइक्रो म्यानेजमेन्ट गर्दै आएका हुन् । त्यस कारण कम्युनिस्ट पार्टीको मात्र कुरा हैन यहाँ कांग्रेस पार्टी नै पनि स्वाधीनताका लागि दृढतापूर्वक आफ्नो मुद्दामा आफू उभिन्छु भन्न लाग्यो भने त्यसलाई पनि फोर्न लाग्छ ती शक्ति । ती अस्थिरताका शक्ति हुन् । ती हामीलाई अस्थिर पार्ने शक्ति हुन् ।

अन्तर्राष्ट्रिय देखिने संस्था र नदेखिने संस्था हुन सक्छ । तिनीहरूले हामीलाई विभाजित नै राखी राख्नका लागि प्रयत्न गरिरहन्छन् । यी तीन खालका बाहेक अरू आम कार्यकर्ता,कम्युनिस्ट भनेर चिनिने आम कार्यकर्ता , तिम्रो सुख नै मेरो सुख हो, यो संसारको दुःख मेरो दुःख हो भनेर कसम खाएर हिँडेको यति बुझेको जो सुकै मान्छे आज एकताको पक्षमा रहेको छ । त्यस आधारमा यसको औचित्य छ भन्ने लागेको हो ।

कमजोरी स्वीकार गर्नासाथ एकता भइहाल्छ

माधव प्रचण्डको आँखाबाट हेर्दा ओलीजी नेपाली कम्युनिस्ट आन्दोलनको खतरनाक तत्त्व हो भन्ने अर्थमा व्यक्त हुने । ओलीजीले माधव र प्रचण्ड खतरनाक तत्त्व हुन् भनेर भन्दिने । बाहिरकाले हेर्दा यी दुवै खतरनाक तत्त्व हुन् भनिरहेका छन् । अनि कम्युनिस्ट कम्युनिस्ट नै लडेका छन् । एकले अर्कोलाई खतरनाक देख्छ । सैद्धान्तिकता केही पनि फरक छैन भने बाहिर बाटोमा हिँड्ने मान्छेले के बुझ्ने भो यी दुवै खतरनाक हन् ।

यसो गर्दा पनि हामी यी सबै कुराभन्दा माथि उठेर हामीले हेर्न पर्छ र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्ने भनेको नेपालको लोकतान्त्रिक स्थिरतालाई बलियो बनाउने हो । हाम्रो लोकतन्त्रलाई बलियो बनाउने हो । वामपन्थलाई बलियो बनाउने हो । सपाट कुरा यति नै हो ।

अब अहिले उठेको प्रश्न, चुनाव आइसक्यो कसरी एकता हुन्छ ? यो नहुने कुरा भन्ने छ । पहिला पनि के भएको थियो भने ०७४ सालमा हामीले जति बेला गठबन्धन गर्ने घोषणा गर्‍यौ । एक खालले त्यसलाई छापामार शैलीमा मैले पनि भन्ने गरेको थिएँ । किने त्यो भन्दा डेढ दुई वर्ष अघिदेखि नेकपा एमाले र माओवादी केन्द्रको सिद्धान्तमा फरक छैन । सैद्धान्तिक रूपमा यिनीहरू अलग रहनु पर्दैन भनेर हामीले गर्दाखेरि मेरै समेत विरोध भएको थियो ।

मार्क्सवादका नाममा यसरी पार्टी विरोधी गतिविधि चलाउने ? भनेर ०७४को भदौ सम्म भएको थियो । यो कुरा हाम्रो स्थायी कमिटीमा समेत उठेको थियो । तर, असोजमा अचानक एकता गर्यांै । कसरी भयो कसरी बोलाइयो त्यता नजाऔँ । यो सबै कुरा बाहिर आइसकेको छ ।

नेताहरूको बिचमा भनाभन चलिरहो अवस्थामा त्यो कुरा आएको थियो । किनकि मङ्सिरमा चुनाव थियो । मङ्सिरको चुनावका लागि असोजको मध्यमा त्यो गर्न सक्छौँ भने, अहिले पनि समय कमी छैन । यसर्थ समय छैन भन्ने कुरा बेकारको कुरा हो । पर्याप्त समय छ, बरु हिजोका अभ्यासहरूले के के गर्दा कमी रहँदा रहेछन् । कसरी एकतालाई झन् राम्रो बनाउन सकिन्छ भनेर सिक्नका लागि हामीसँग झन् उदाहरण पनि भई सकेका छन् । त्यसले गर्दा हामीलाई हिजो भन्दा आज एकतालाई सजिलो भएको छ ।

व्यवहारिक कुरा के हुन्छ भने आज तीन वटा पार्टी एकै ठाउँमा उभिई हाल्ला ? तत्काल आजको एक खालको कृत्रिम रूपले बनाइएको दुरी, जुन विभाजन छ र गालीगलौज छ यसमा एकै पटक त्यहाँ जान सकिदैैन । तर, के चाहिँ भन्न सकिन्छ भने कम्युनिस्ट आन्दोलनमा गएको एक वर्षमा जे समस्या आए ती समस्याहरूका कारणले जसरी कम्युनिस्ट आन्दोलन आज जस्तो ठाउँमा विभाजित भएर गाएको छ ।

यो विभाजनमा हामी सबै जिम्मेवार छौँ भन्ने मात्रै महसुस भयो भने सम्भव छ । नेताहरू जो यसका मुख्य प्लेयरहरू, सहायक हामीहरू पनि हौँ । यसमा १, २, ३ जनाको हैन धेरै थोरै कसको के कति हो पद र भूमिका अनुसार यो विभाजनमा तिनीहरूको योगदान छ । विभाजनका लागि तिनीहरूले खुब मेहनत गरेका छन्, योगदान गरेका छन्, पसिना बगाएका छन् यो सानो दुःखले विभाजन भएको छैन । सानो मेहनतले विभाजन गरेको हैन कम्युनिस्ट आन्दोलनलाई साना दुःखले हामीले बर्वाद पारेको हैन ।

यसका लागि हामी सबैले हामी सब जिम्मेवार छौँ भनेर महसुस गर्नु पर्छ र हामी सबै जिम्मेवार छौँ । कसको कति भूमिका छ पछि विचार गरौँला भन्ने एउटा मात्रै स्टेटमेन्ट आयो भने अहिले गठबन्धन चाहिँ बन्न सक्छ । यो चुनावमा गठबन्धन चाहिँ बन्न सक्छ । हामीले गल्ती गरेका छौँ । हामीले गल्ती नगरीकन अर्कैले आएर फोडी दिएको हैन । यसको जिम्मेवार हामी हौँ, यति मात्रै भन्ने हो भने एउटा प्रक्रिया सुरु भई हाल्छ । यसले चुनावमा हाम्रो गठबन्धन बन्छ ।त्यसपछि पार्टी एकताको प्रक्रिया अगाडि बढाउन सकिन्छ ।

-एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले मंगलवार पत्रकारसँगको अन्तरक्रियामा व्यक्त विचार


प्रतिक्रिया

3 thoughts on “वामपन्थी एकताविरोधी तीनथरी मान्छे को हुन् ?

  1. भुषाल जी कुन पार्टीको राजनीति गर्ने हो ??
    एमालेको कि, कांग्रेशको कानमा टाशिएका माकुने र प्रचण्डको एजेन्ट ??
    चुनाबको मुखमा पार्टीले खटाएको जेम्मेवारी लिएर खट्नु पर्ने बेलामा, कुनामा पसेर नाप तौल गर्दै कुरा खिपेरा बस्ने ?? कांग्रेश संग हाल बाधेर हिनेकाहरुलाई औ टाउकामा बोक्छु, जत्ति ठोके पनि, छुरी डसे पनि सहन्छु, ‘बाम’ एकता गरम भन्न पर्ने हो ?? तर किन ?? पहिले के भयो , अब के हुन्छ ??
    कसले के भन्छ हैन, देशले के भन्छ, देशले के चाहेको छ र को चाहेको छ, जनताको मत के हो, के भन्छ त्येशले, यत्ति कुरा मनन गर्न नसक्ने न कम्युनिस्ट हो न परिवर्तनकारी !!! कम्युनिस्ट भन्ने .. के को लागि राजनीति भन्ने नबुझ्ने अनि सबै बुझे जस्तो गरी विचार पोख्ने: हो यो एकताको बिरोधि हो, दुस्मन हो !!!
    अरुको बारमा टिप्पणी गर्ने भन्दा आफ्नु बारेमा समिक्ष्या गर्नु सबै भन्दा उत्तम अहिलेको लागि !! पार्टी र नेतालाई गालि गरेर टिउरी गरेर अब नलेख्नु केहि !!!

  2. Bhusal kehi ramro b4 vayeka atayanta kharab manchhe hun… UML ma unilai rakhnu longterm ko lagi ramro dekhidaina…

  3. घनश्याम भुसाल माझण्डहरूलाई कम्न्युनिष्ट ठान्दैछन् र भन्दैछन्। त्यसलाई बुर्जुवा मिडियाहरूले बजारीकरण गरिरहेका छन् किनभने घनश्याम भुसालजी का गतिविधिहरूले जानेर वा नजानेर चुनावको सम्मुखमा एमाले कमजोर बनाउन खोजेको छ जसरी माझण्डहरू कम्न्युनिष्ट आन्दोलन कमजोर बनाउने नियतका साथ क्रियाशील भइरहेका छन्। होसियार हौं!

Leave a Reply

Your email address will not be published. Required fields are marked *