महानगरले अस्वीकृत गरेको ‘गृहिणी भत्ता’ मेयरकी आकांक्षी खड्गीको चुनावी एजेन्डा ! – Nepal Press

महानगरले अस्वीकृत गरेको ‘गृहिणी भत्ता’ मेयरकी आकांक्षी खड्गीको चुनावी एजेन्डा !

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी आसन्न स्थानीय चुनावमा मेयरकी आकांक्षी हुन् । हालै एक सार्वजनिक कार्यक्रममा पार्टीबाट मेयर टिकट दाबी गर्ने क्रममा उनले एउटा रोचक एजेन्डा अघि सारिन् । खड्गीले भनिन्, ‘अब घरको काम गर्ने महिलाहरूलाई सरकारले गृहिणी भत्ता दिनुपर्छ ।’

उनले यो विषय हचुवामा उठाएको नभई चुनावमा टिकट पाएको खण्डमा यसलाई आफ्नो भोट माग्ने एजेन्डा नै बनाउन खोजेकी छन् । गृहिणी भत्ता दिनुपर्ने प्रस्ताव उनले पहिलो पटक गरेकी पनि होइनन् । गृहिणी भत्ता दिने सुरुवात काठमाडौं महानगरबाट गर्न चाहेकी थिइन् उनले । उनी काठमाडौं महानगरपालिकाको उपमेयर भएर आएपछि नगर सभाको बैठकमा लगेको प्रस्तावमा यो कुरा उल्लेख थियो ।

नेपाली कांग्रेसको नेतृत्व गर्दै १५ जनाको हस्ताक्षरसहित महानगरको नगर सभामा गृहिणी भत्ता दिनुपर्ने अलग्गै प्रस्ताव लिएर गएकी थिइन् उपमेयर खड्गीले । उनको प्रस्ताव नगर सभामा पेस गर्न दिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । शाक्यका अनुसार उक्त प्रस्तावबारे नगर सभामा छलफल पनि भएको थियो तर, अस्वीकृत भयो । खड्गीको प्रस्तावलाई अन्य नगर सभा सदस्यले अस्वीकृत गरिदिएका थिए ।

सबै महानगरवासीलाई महिनाको ५ हजार गृहिणी भत्ता दिने हो भने अहिले भएको आम्दानीले मात्र होइन नेपाल सरकारको अनुदानले पनि नपुग्नेपछि उनी पछाडि हटिन् । संघीय सरकार आफैँ सामाजिक सुरक्षा भत्ता चुनावअघि ५ हजार पुर्‍याउने वाचा पुरा गर्न नसकेर सकसमा थियो । यस्तोमा एउटा स्थानीय सरकारले महिनाको ५ हजार गृहिणी भत्ता दिन सम्भव नै नभएको भन्दै सिंगो हलले उनको प्रस्ताव अस्वीकृत गर्‍यो ।

महानगरको नगर सभाबाट अस्वीकृत भएको प्रस्ताव खड्गीले फेरि चुनावको मुखमा उत्खनन गरेकी हुन् । आइतबार लैगिक हिंसासम्बन्धी एउटा बहस कार्यक्रममा बोल्दै उनले गृहिणी भत्ताको कुरा उठाएकी थिइन् । यसको सुरु संघीय सरकारबाट गर्न महिला मन्त्रीहरूलाई भेटेर प्रस्ताव राखिसकेको उनको दाबी छ । महानगरको नगर सभामा ५ हजार रुपैयाँ भत्ता दिनुपर्ने प्रस्ताव गरेकी उनले यसपालि चाहिँ एक सय रुपैयाँबाट सुरु गर्न सकिने बताएकी छन् ।

बिहानदेखि बेलुकासम्म घरको कामकाजी गर्ने गृहिणीलाई भत्ता उपलब्ध गराउनुपर्नेमा उनको जोड छ । संघीय सरकारले सुरु गरे पालिकाहरूले पनि जतिसक्दो थपेर गृहिणी भत्ता दिन सक्ने उनले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर