एमालेबाट नेपालगञ्जको मेयरमा पशुपतिदयालको उम्मेदवारी पक्का ! अरु दलमा काे-काे आकांक्षी ? – Nepal Press
स्थानीय चुनाव

एमालेबाट नेपालगञ्जको मेयरमा पशुपतिदयालको उम्मेदवारी पक्का ! अरु दलमा काे-काे आकांक्षी ?

रुपन्देही । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा चुनावी माहाेल सुरू भएकाे छ । नेकपा एमालेले पार्टीका नवप्रवेशी नेता पशुपतिदयाल मिश्रलाई मेयरकाे उम्मेदवारमा प्रस्ताव गरेसँगै अन्य दलहरू तरंगित बनेका छन् ।

२०५४ सालको स्थानीय निर्वाचनमा धवलशमशेर राणालाई पार्टीमा भित्र्याएर एमालेले मेयरको उम्मेदवार बनाएको थियो । तर पछि उनी राप्रपामा गए । २०५४ मा एमालेबाट मेयर निर्वाचित राणा २०६२–०६३ को जनआन्दोलनपछि गणतन्त्र नस्वीकार्ने भन्दै राप्रपामा प्रवेश गरेका थिए ।

२०६४ र ०७० को संविधानसभा निर्वाचनमा राप्रपाबाट उठेर पराजित उनी २०७४ को स्थानीय तह निर्वाचनमा भने उपमहानगरपालिका मेयर विजयी भए । हाल राप्रपाको महामन्त्रीसमेत रहेका राणाले मेयरमा पुनः नआउने बताएका छन् ।

अहिले कांग्रेस, तमलोपाहुँदै हृदयेश त्रिपाठी समूहमा पुगेका पशुपतिदयाल मिश्रलाई एमाले अध्यक्ष केपी शर्मा ओली आफैं नेपालगन्ज पुगेर मिश्रसहित ४ हजार ५ सयलाई पार्टी प्रवेश गराएपछि सो क्षेत्रमा एमाले एकाएक चर्चामा आएको हो ।

एमालेले उम्मेदवारी फाइनल गर्दा अन्य दलमा भने नेतृत्वमा जाने आकांक्षीहरु धेरै देखिएका छन् । कांग्रेस, जसपा, राप्रपा तथा माओवादीमा अलग–अलग समूहले नेतृत्व आकांक्षीहरुलाई मैदानमा पठाउँदा समस्या परेको विश्लेषक तथा पत्रकार झलक गैरे बताउँछन् ।

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा अरू पार्टीमा आकांक्षीको भीड छ । तर, मिश्र भने एमालेबाट उम्मेदवार हुनेमा ढुक्कजस्तै देखिन्छन् । एमाले नेताहरुका अनुसार पार्टी प्रवेश हुँदै नेतृत्वले उनलाई नेपालगञ्ज उपमहानगरको मेयर बनाउने आश्वासन दिइसकेकाे छ । ‘पार्टीमा प्रवेश गरेपछि निर्णय जे हुन्छ मानेर अगाडि बढ्ने हो, एकचरणका कुरा भएरै तयारी भएको हो,´आकांक्षी मिश्रले भने ।

अध्यक्ष केपी ओलीले १ मंसिरमा नेपालगञ्ज पुगेर मिश्र र उनका समर्थकलाई एकसाथ एमालेमा भित्र्याएका थिए । लगत्तै भएको दशौं महाधिवेशनबाट मिश्र एमालेको केन्द्रीय सदस्यसमेत निर्वाचित भइसकेका छन् । उनी ०७४ देखि नै एमालेनिकट छन् । त्यतिबेला हृययेश त्रिपाठी समूहबाट बाँके २ बाट उनी सूर्य चुनाव चिह्न लिएर प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए ।

गत स्थानीय निर्वाचनमा एमालेबाट सम्शुद्धिन सिद्धिकी मेयरका उम्मेदवार थिए । उनी २०५४ मा धवलशमशेर राणा मेयर हुँदा उपमेयर थिए । अहिले सिद्धिकी नेकपा एकीकृत समाजवादीतर्फ लागे पनि नेपालगञ्जमा एकीकृत समाजवादीको खासै प्रभाव देखिँदैन ।

त्यसैले संगठनात्मक मत नघटेको र आफूहरूसमेत जोडिँदा एमाले बलियो रहेको मिश्रको दाबी छ । एमाले जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिले एक्लाएक्लै कसैले पनि हराउन नसक्ने भएकाले तालमेलको आधार खोजेका बताउँदै अब एमाले एक्लै मैदानमा जान तयार भएको बताए ।

कांग्रेसबाट उपमेयर उमा थापामगर, डा. सुरेशकुमार कनौडिया र प्रशान्त विष्टको मेयरमा मुख्य दाबेदारी छ । अहिलेको उपमेयर रहेकी उमा थापाले मेयरमा दाबी गरेको तर कांग्रेसभित्र बलियो दुई समूह रहेकाले उनलाई सजिलै उम्मेदारी फाइनल गर्न चुनौती रहेको छ ।

कांग्रेसका अर्का आकांक्षी हुन्, नगर सभापति प्रशान्त विष्ट । चार महिनाअघि भएको नगर अधिवेशनमा उपमेयर थापामगरलाई फराकिलो मतान्तरले हराउँदै उनी तेस्रो पटक सभापतिमा निर्वाचित भएका थिए । सोही निर्वाचनले कांग्रेस कार्यकर्ताको चाहना पुष्टि गरेको उनी निकट नेताहरुको दाबी छ ।

अर्का आकांक्षी डा कनौडिया ०७४ को निर्वाचनमा पनि उम्मेदवार थिए । राप्रपा नेपालबाट धवलशमशेर राणाले चुनाव जित्दा उनी निकटतम प्रतिद्वन्द्वी थिए । चुनावमा पराजित भएपछि उनी सक्रिय राजनीतिमा खासै देखिएनन् । जसपा, माओवादीको संगठन भए पनि उनीहरुबाट गठबन्धनबिना उम्मेदारहरुका चर्चा बाहिरिएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर