सरकारी अड्डा त्यागेर गाउँ बस्ती डुल्दा जे देखियो
एक वर्षअघि प्रचण्ड–माधव समूहले नेकपा विभाजन गरेर हिँडेपछि म पनि राजधानी काठमाडौं केन्द्रित विद्यार्थी राजनीतिलाई विस्तार गर्दै गृहजिल्ला ओखलढुंगा फर्किन थालेकी थिएँ । एक वर्षयता राजनीतिमा धेरै ठूला उथलपुथल भइसकेका छन् र मैले पनि ओखलढुंगाका धेरै गाउँ बस्तीको यात्रा गरेर धेरै अनुभव अनि थोरै चेतना विकास गरेको अनुभव भएको छ ।
‘गाउँ फर्क’ अभियानसँगै सरकारी अड्डाको जागिर छाडियो । ६ वर्षसम्मको सरकारी जागिरको अनुभवभन्दा ६ दिनको गाउँघरका आमा बुवाहरुसँगको संवाद र संगतले धेरै कुरा सिकाएको छ । समाजको प्रगति तथा विकास र समृद्धिको यात्रा कसरी सम्भव छ भन्ने स्थलगत शिक्षा मिलेको छ । सहरबाट सोचेको र देखेको जस्तो छैन गाउँ, आज गाउँ सहरलाई सिकाउन सक्षम छ ।
पछिल्लो एक महिना ओखलढुंगा सदरमुकामदेखि चम्पादेवी, लिखु र खिजिदेम्बा गाउँपालिकाका विभिन्न वडाहरुमा पुग्दा चुनावको चर्चाभन्दा बढी एमसीसीको चासो थियो । एमसीसीबारे मूलधारका मिडिया र राजनीतिक दलका शीर्ष नेताले बोलेका कुराभन्दा युट्युबमा भाइरल अन्तर्वार्ताबाट जनताको ठूलो तप्का प्रभावित थियो । अझ प्रचण्ड–माधव समूहले एमसीसीका नाममा सोझासिधा जनताबीच राजनीति गरिरहेका थिए ।
तर कथित व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी पारित भएसँगै गाउँमा माओवादी र नेकपा एसले चलाएको भ्रम उनीहरुकै लागि घातक बनेको पनि आँखैले देखियो । चिनेजानेका र वडा तथा जिल्ला तहका प्रभावशाली नेता कार्यकर्ताले एमसीसी पारितसँगै प्रचण्ड माधवका पार्टी परित्याग गर्ने लहर पनि आँखैले देखियो र कतिपयलाई एमालेमा स्वागत पनि गरियो ।
पूर्वाधारको विकास गाउँमा गर्ने हो भने एउटा गाउँमा एउटा गुणस्तरीय र बाह्रै महिना सबै प्रकारका साधन चल्ने सडक भए पुग्छ । बर्सेनि डोजरे विकासमा लगाउने बजेट त्यहीं एउटा सडकलाई स्तरोन्नति र कालोपत्रेमा लगाउन सकिन्छ । कृषि र पशुपालनलाई रोजगारीमूलक व्यवसायिक बनाउन सक्ने नेतृत्व अब गाउँमा प्रतिस्पर्धामा जानुपर्छ ।
यी त राजनीतिक कुरा भए । सरकारी अड्डाको जागिर छाडेर जनताको घरदैलोमा पुग्ने क्रममा देखेका र भोगेका कुराहरुले हाम्रो विकासको मोडलमाथि समीक्षा गर्नुपर्ने देखियो । कृषि र पर्यटनलाई नेपालको विकासको मुख्य आधार बनाउने हो भने अब स्थानीय चुनावका उम्मेदवार तथा पार्टीहरुले आफनो घोषणापत्रमा ठोस कार्यक्रम ल्याउनुपर्छ ।
यसपटक ओखलढुंगाका गाउँ–गाउँ घुम्ने क्रममा प्रचार नभएका तर अत्यन्तै मनमोहक पर्यटकीय सम्पदाहरु देखियो, घुमियो र सकेसम्म जिल्लाभित्रै भने पनि आन्तरिक पर्यटकीय चहलपहलको प्रयास गरियो । रामेछाप र ओखलढुंगाकै अग्लोमध्येको थोलेदेम्बादेखि पत्ताले, पोकली झरना र ककनीले आन्तरिक तथा बाह्य पर्यटकलाई बोलाइरहेका छन् । अब त्यहाँसम्म सहज पूर्वाधार र पर्यटक जाँदा बस्ने आधारभूत सुविधा भए पुग्छ ।
देम्बा डाँडामा करोड लगानी गरेर त्यहिँका एक राजनीतिमा समेत सक्रिय युवक तेम्बा शेर्पाले चलाएको एउटैमात्र रिसोर्टले सुविधा दिएको छ, आन्तरिक पर्यटकलाई । ओखलढुंगा पर्यटन विकाास समितिका दाजुहरु ङावा ङिमा शेर्पा, पेम्बा शेर्पाहरुको पहलमा भइरहेको अल्ट्रा म्याराथनले जसरी थोलेदेम्बा चिनाएको छ, यो कामको अगुवाइ स्थानीय सरकारले गर्ने हो भने कति फलदायी हुन्छ ? रोजगारी र उद्यमशीलताको लागि अरु केही गर्नै पर्दैन ।
गाउँमा युवा जनशक्ति कि त पलायन भइरहेको छ, कि बेकामे बनेको छ । स्थानीय सरकारले पाँच वर्षमा विकासका आधारहरु कति तय गरे ? त्यो आउने चुनावमा जनताले पनि मूल्यांकन गर्लान् तर कृषि तथा पर्यटनको विकास र रोजगारीमा हामी कहाँ चुक्यौं ? नीतिगत र व्यवहारिक ढंगले अब स्थानीय सरकारहरु यता केन्द्रित नहुने हो पाखा फोरेर कच्ची सडक बनाउने र बाढी पहिरोको कहर निम्त्याउने पूर्वाधार विकासको कुनै औचित्य देखिन्न ।
गाउँमा विकास भनेकै बारीका कान्ला भत्काएर बनाइने हिउँदे सडक हुन् भन्ने मान्यता पूरै परिवर्तन गर्न आवश्यक देखिन्छ । स्थानीय सरकारहरुले केन्द्र र प्रदेशसँग समन्वय गरेर हुन्छ कि आफ्नै साधन स्रोतले हुन्छ, सीमित तर बाह्रैमास चल्ने दीर्घकालीन सडकको विकासमा अब केन्द्रित नहुने हो भने राज्यको अर्बौ बजेट खेर जानेबाहेक कुनै उपलब्धि देखिएन ।
विकास भनेको यस्तो होस्, त्यहाँका जनताले आफ्नो दैनिक जीवनमा फाइदा लिन सकुन् । बिनायोजना र इन्जिनियरिङका डोजरे सडकमा करोडौं खर्च गर्नुभन्दा एउटा पालिका वा वडा कार्यालयले उत्पादनमूलक काममा लगानी गर्ने हो भने रोजगारी पनि गाउँमै सिर्जना हुन्छ । गाउँ घुम्ने क्रममा महसुस गरेको कुरा के हो भने अब स्थानीय सरकारले कामको क्षेत्र र सोच बदल्नुपर्छ ।
हामीसँग साधन स्रोत छ, तर त्यसको सही ठाउँमा सदुपयोग भयो कि भएन ? यसको समीक्षा गर्दै दीगो विकास र रोजगारी सिर्जनाको उपायमा सोचौं, बहस गरौं र छलफल गरौं । गाउँले बोलाउँदैछ हामीलाई । किनकी आज गाउँमा जो बसेका छन् उनीहरु त्यस्तो भिजन लिएर जाने युवालाई साथ दिन तयार छन् । आखिर सबै सुविधा र अवसर गाउँमै पाइन्छ भने कोही किन बिरानो सहरमा दुःखको जीवन जिउन संघर्ष गर्छ र ?
शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायसहितको विकासको लागि गाउँमा त्यस्तै सोच र सपना बोकेको नेतृत्व आवश्यक छ । गाउँका विद्यालयका शिक्षकले आफ्ना छोराछोरी शहरमा पढाउँछन् भने तीनले दिने शिक्षाको गुणस्तर कस्तो होला ? त्यसैले शिक्षालाई गुणस्तरीय बनाउन कडाइ गर्ने, स्वास्थ्य सुविधा थप्ने र रोजगारी सिर्जना गर्ने खालका उत्पादनमूलक काम स्थानीय सरकारको अगुवाइमा हुन सक्छन् ।
पूर्वाधारको विकास गाउँमा गर्ने हो भने एउटा गाउँमा एउटा गुणस्तरीय र बाह्रै महिना सबै प्रकारका साधन चल्ने सडक भए पुग्छ । बर्सेनि डोजरे विकासमा लगाउने बजेट त्यहीं एउटा सडकलाई स्तरोन्नति र कालोपत्रेमा लगाउन सकिन्छ । कृषि र पशुपालनलाई रोजगारीमूलक व्यवसायिक बनाउन सक्ने नेतृत्व अब गाउँमा प्रतिस्पर्धामा जानुपर्छ । युवालाई गाउँमै इंगेज गर्ने योजना हुने हो भने बजेट र स्रोत साधन स्थानीय तहमै छन् ।
अचेल गाउँमा मोही होइन कोक र ड्यूले पाहुनालाई स्वागत गरिन्छ । खेतबारी बाँझो छन्, मान्छेहरु बजारमा चामल किनेर खान्छन् । यो किन भयो ? दोष कसलाई दिने ? तर खोरिया बाँझो राखेर कोही किन कोरिया जान रातभर लाइनमा बस्छ ? गम्भीर समीक्षाको विषय हो । त्यसैले अब गाउँको मान्छे गाउँमै राख्ने र त्यसका लागि अवसरको सिर्जना गर्ने कुरा हाम्रो प्राथमिकता बन्नुपर्छ ।
हिजो मोही र मकै खाँदै पैदल हिँडेर राजनीतिक पार्टीको संगठन गरेका अग्रजहरुसँग कतै गाडीमा, कतै मोटरसाइकलमा त कतै पैदल यात्रा गरियो । उहाँहरुको बेलाको दुःख र अहिलेको दुःख फरक छ । अमिलो मोही र सातु खाएर दुई घण्टा उकाले चढेर यसपटक हामी पनि हिँडियो । यी त अनुभवजन्य कुरा भए तर अब जागरण चाहिँ उत्पादन र रोजगारीमा जरुरी छ ।
त्यसका लागि युवा पुस्ता गाउँ फर्किनुपर्छ र फर्किने वातावरण बनाइनुपर्छ । एउटा पढेलेखेको र रोजगारीको लागि योग्य भएर भौंतारिएको युवाले जहाँ अवसर पाउँछ त्यहाँ जान्छ । स्थानीय चुनाव आउँदैछ । अब हरेक राजनीतिक पार्टी र उम्मेदवारले ती युवालाई गाउँको विकासमा लगाउने र उनीहरुको वृत्ति विकासमा सघाउने योजना बनाउन सक्छन् ? आजको मूल प्रश्न यो हो ।
देशको नेतृत्व गर्छु भनेर राजनीतिमा लागेका युवाले स्थानीय सरकारबाट आफ्ना योजनाहरु लागू गर्दै आफ्नो वडा र गाउँपालिकामा शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्र्दै कृषि र पर्यटनको विकासमा साँच्चिकै रोलमोडल बन्न सके भने समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा हुन धेरै वर्ष लाग्दैन ।
हामीसँग साधन स्रोत छ, तर त्यसको सही ठाउँमा सदुपयोग भयो कि भएन ? यसको समीक्षा गर्दै दीगो विकास र रोजगारी सिर्जनाको उपायमा सोचौं, बहस गरौं र छलफल गरौं । गाउँले बोलाउँदैछ हामीलाई । किनकी आज गाउँमा जो बसेका छन् उनीहरु त्यस्तो भिजन लिएर जाने युवालाई साथ दिन तयार छन् । आखिर सबै सुविधा र अवसर गाउँमै पाइन्छ भने कोही किन बिरानो सहरमा दुःखको जीवन जिउन संघर्ष गर्छ र ?
(थापा एमाले ओखलढुंगा जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य हुन्)
गाउँले बोलाउँदैछ हामीलाई । किनकी आज गाउँमा जो बसेका छन् उनीहरु त्यस्तो भिजन लिएर जाने युवालाई साथ दिन तयार छन् । आखिर सबै सुविधा र अवसर गाउँमै पाइन्छ भने कोही किन बिरानो सहरमा दुःखको जीवन जिउन संघर्ष गर्छ र ? साह्रै मन छोयो